८ वैशाख २०८१ शनिबार
अर्थ

हुम्लामा सोलारको उज्यालो छर्दै महिला

काठमाडौं – सिमकोट गाउँपालिकास्थित भरगाउँका अघिकांश महिला घरायसी काममा व्यस्त हुन्छन् । उनीहरुको दैनिकी खेतीपाती र घरायसी काममै बित्छ।

दुर्गम क्षेत्र भएकाले महिला घरायसी कामकाजकै कारण सहरसम्म पुग्न पाउँदैनन् । लेख्न, पढ्न र केही सिक्ने कुरा उनीहरुका लागि निकै टाढा छ । केही गर्ने सोच बनाए पनि विभिन्न समस्याका कारण उनीहरु अगाडि बढ्न सकिरहेका हुदैनन् । तर, यही सिमिकोट गाउँकी तीन महिला सोलार इन्जिनियर भएको धेरैलाई पत्याउन मुस्किल हुन्छ।

हुम्ला सिमकोट गाउँपालिका बरगाउँ तोर्पा, भरगाउँकी छिरिङ पेमा लामा, लाइकुम लामा र छप्मा लामु लामा सोलार इन्जिनियर बनेकी छन् । अहिले उनीहरुको दैनिकी फेरिएको छ ।  खेतीपाती, घाँस दाउराभन्दा पनि गाउँगाउँमा सोलार जडान गर्नु उनीहरुको दैनिकीसँगै रोजगारी पनि बनेको छ।  

‘वुमन लाइट द वल्ड’को सहयोगमा रेस्पोन्सिबल ट्रेक्सले उनीहरुलाई भारतमा पठाइएको थियो । रेस्पोन्सिबल ट्रेक्सका प्रबन्ध निर्देशक छेवाङ लामाले उनीहरु गाउँमा सोलार इन्जिनियरको रुपमा काम गर्न थालिसकेको बताए । भारतमा इलेक्ट्रोनिक अन्तर्गत सोलार सम्बन्धि तालिम लिएर नेपाल फर्किएपछि उनीहरु गाउँमा सोलार इन्जिनियर बनेको लामाको भनाइ छ।

उनीहरुलाई गाउँमा उज्यालो छर्ने सोलार इन्जिनियरका रुपमा चिन्ने गरेको उनको भनाइ छ । ‘सोलार जडान र निर्माण तालिमका लागि हामीले नै पहल गरेर उनीहरुलाई भारतको राजस्थानको तिलोनियमा पठाएका हौं,’ लामाले भने, ‘गाउँमा प्रौढ महिलाको भेलाबाट समूह निर्माण गरेर तीनजना छनौट गरेर पठाएका थियौं । उनीहरुले सोचेभन्दा राम्रो सिकेर आएका छन् । नेपाली शुद्ध बोल्न नजान्ने दिदीबहिनी सोलार इन्जिनियर हुनु हाम्रा लागि उपलब्धिमूलक छ।’

लामाका अनुसार अहिले उनीहरु तीनै जना गाउँमा सोलार इन्जिनियर भएका छन् । ‘उनीहरु आफैंले सोलार बनाउने र जडान गर्न थालेका छन् । यसबाट उनीहरु रोजगारी मात्रै होइन महिला सोलार इन्जिनियर बनेका छन्,’ उनले भने।

‘हुम्लाको सिमकोटबाट काठमाडौं जानै समस्या थियो । भारत गएर तालिम लिने कुरा कल्पनासम्म गरेका थिएनौ,’ छिरिङ पेमा लामाले नागरिकसँग कुरा गर्दै भनिन्, ‘भाग्यले प्लेन चढेर भारतमा सोलार बनाउने तालिम लिन पाए ।’ विभिन्न देशका साथीसँग काम सिक्न सहज नभएको उनको अनुभव छ । ‘अंग्रेजी त बोल्नै पथ्र्यो, त्यसमा सबै सामानको नाम पनि अंग्रेजीमै थियो,’ उनले भनिन्, ‘इसाराले सामान देखाएर काम सिकियो । यसपछि बिस्तारै सहज भयो।

’ उनका अनुसार दुई महिनापछि सबैसँग काम गर्न सहज भएको थियो।त्यस्तै सिमकोट भरगाउँकी ४१ वर्षिया छप्मा लामु लामाले तालिम लिन गारो भएपनि सिकेपछि गाउँमा सोलार बनाउन सहज भएको बताउँछिन् । ‘सोलार बिग्रे पनि बनाउँन सक्छु । जडान गर्ने काम सामान्य भयो,’ उनी भन्छिन्, ‘गाउँमा अब कुनै सोलार इन्जिनियर चाहिँदैन।’

भारतको राजस्थान तिलोनियामा भएको तालिममा नेपाल, नामेभिया, भेनिस, सुडान, लोदक, तान्जनिया, ठोगु, चिली, आइबोका, ग्वाटेमाला, आइल्यान्ड, मार्सल आइल्यान्डका गृहणी महिलाले सोलार जडान विषयमा तालिम लिएको छप्मा लामु लामाले बताइन् । भारत सरकारको सहयोगमा उक्त तालिम भएको हो।

काठमाडौंमा भेटिएकी अर्की सोलार इन्जिनियर लाइकु लामाले तालिममा सुरुआतीका दिन केही नबुझेको बताइन् । इसाराको भरमा तालिम सिकेको उनको भनाइ छ । ‘नेपाली भाषा नै राम्रोसँग बोल्न आउँदैन भने अंग्रेजीमा सामानको नाम जान्नै गाह्रो । तर, एक महिनापछि बिस्तारै बुझ्दै गए,’ उनले भनिन्, ‘अहिले सबै सामानको नाम अंग्रेजीबाटै भन्न सक्छु र सोलारको भित्री सामान जडान गर्न पनि सहज भएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तालिम सकिएपछि प्रमाणपत्र दिएको उनले बताइन् । ‘यो सफलतासँगै हामीलाई गाउँभर सोलार बाल्ने योजना बनाएका छौं,’ उनले भनिन्, ‘हाम्रो टिमको काम हेर्न भारतीय राजदूत हुम्ला आउँछु भनेका छन् ।’ उनका अनुसार १ हजार २ सय ६५ घरमा सोलार जडान अभियान सुरु भइसकेको छ।
 

प्रकाशित: ३ वैशाख २०७५ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App