coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘ठूला व्यापारिक घरानामा अनुगमन हुन्छ’

काठमाडौं– करिब दुई महिनादेखि रोकिएको बजार अनुगमन सुरु हुने भएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नयाँ योजनाका साथ अनुगमन सुरु गर्न लागेको बताएका छन्।

यादवले आइतबार मन्त्रालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी व्यवस्थित ढंगले अनुगमन सुरु गर्न लागेको जानकारी दिए । अबको अनुगमन ठूला व्यापारिक घरानामा हुने यादवले बताए । ‘साना व्यवसायीभन्दा ठूलामाथि अनुगमन गर्छौं,’ यादवले भने, ‘ठूलालाई कारबाही गरे साना त्यसै सतर्क हुन्छन्।’

मन्त्री यादव आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण  नियन्त्रण, गुणस्तर तथा नापतौल लगायत विभागसँगको छलफलपछि अनुगमन अघि बढाउने जनाएका हुन्।

विगतमा गरिएका अनुगमन सतही भएको भन्दै अब गहिराइमा अनुसन्धान अघि बढाउने उनले बताए । ‘विगतमा कानुनी त्रुटिको कारण कारबाही गर्न केही कठिनाइ भएको थियो,’ यादवले भने, ‘दोषीलाई कानुनी दायरामा ल्याउन पुराना कानुनमा भएका कमजोरीलाई सच्याउँछौं।’

अब हल्ला गरेर नभई गहिराइमा पुगेर अनुगमन गर्ने बताए । ‘बजार अनुगमनका नाममा धेरै हल्ला भए,’ उनले भने, ‘कसैसँग रिस उठेको भरमा चोर, फटाहा भनेर दोष लगाउन मिल्दैन ।’
अनुगमनलाई एकीकृत गर्ने मन्त्री यादवले बताए । ‘बजारलाई व्यवस्थित बनाउन प्रभावकारी समिति बनाएका छौं,’ उनले भने, ‘कसैप्रति पूर्वाग्रह नराखी बजारको अनुगमन गर्छौं ।’
शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका बेथितिबारे सम्बन्धित मन्त्रालयलाई कारबाहीको लागि लेखी पठाउने मन्त्री यादवले बताए ।

‘विगतमा अनुगमनमा देखिएको कैफियतका फाइलको पनि अध्ययन भइरहेको छ,’ उनले भने, ‘मुद्दा कमजोर नहोस् भनेर कानुनी परामर्श पनि लिएका छौं ।’ विद्यालय र अस्पतालले चर्को शुल्क लिएको विषयमा गम्भीर भएको यादवले बताए । ‘सम्बन्धित मन्त्रालयलाई शुल्क निर्धारण गर्न लगाउँछौं,’ उनले भने, ‘तोकेभन्दा धेरै शुल्क लिए कारबाही हुन्छ।’विगतमा चर्चा कमाउनकै लागि अनुगमन भएको समेत उनले बताए । ‘बाजा बजाएर अनुगमनमा जानु हुँदैन,’ मन्त्री यादवले भने, ‘बजारमा गडबड गर्ने छुट कसैले पाउँदैन ।’बजारको बेथितिलाई कानुनी दायरामा ल्याउन सक्रियता बढाउने तयारी छ।

कालोबजारी, अनुचित नाफाखोरी, बेथिति नियन्त्रण गर्न बजार अनुगमनमा कडाइ गर्न लागिएको हो । यसअघि अनुगमनको क्रममा कैफियत भेटिएका काठमाडौंमा नाम चलेका अस्पताल, विद्यालय, बहुर्राष्ट्रिय कम्पनीलाई कारबाही गर्ने यादवले बताए।बयोधा, नर्भिक, बिएन्डबी, बाँसबारी न्युरो, ग्रान्डी लगायत चर्चित अस्पतालले अतिरिक्त शुल्क लिएर बिरामीलाई ठगेको अनुगमनको क्रममा भेटिएको थियो ।

त्यसैगरी, चर्को शुल्क असुलेको आरोप लागेका रातो बंगला, जेम्स, युलेन्स, प्रिमियर, चाँदबाग लगायत विद्यालयलाई पनि कारबाहीको दायरामा ल्याउन शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने तयारी छ । ती विद्यालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका–२०७२’ विपरीत विभिन्न बहाना बनाएर शुल्क लिँदै आएको अनुगमनमा भेटिएको थियो।

बजार अनुगमनमा तेल , प्रशोधित पिउने पानी, बेसन, प्रशोधित दूध, आइसक्रिम, घिउ, चामल, दाल, प्रशोधित सूर्यमुखी तेल, तोरी तेल, पाउरोटी, पफ, बन, विस्कुट, चकलेट, नमकिन, क्यान्डी, काजु गुणस्तरहीन भेटिने गरेका छन्।

पुराना कानुन प्रभावकारी नभएकाले सच्याउने तयारी भएको मन्त्रालयले जनाएको छ । बजार अनुमन निर्देशिका, उपभोक्ता संरक्षण ऐन–२०५४, प्रतिस्पर्धा तथा बजार संरक्षण ऐन सच्याउने मन्त्रालयका सह–सचिव मुकुन्द पौडेल बताए।

प्रकाशित: ३ वैशाख २०७५ ००:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App