६ वैशाख २०८१ बिहीबार
अर्थ

उच्च पहाडमा चौंरी महोत्सव

चौंरी महोत्सवमा ल्याइएका चौंरी।तस्बिर : गिरिराज/नागरिक

 पाँचथर– रातभर चलेको हावा–हुण्डरीका कारण आयोजक तथा आगन्तुक तर्सिएका थिए। तर विहान छर्लंंग मौसम खुल्यो।

हिमशृंखला आँखैअगाडि टल्कियो । गुराँस फुलेर ढकमक्क थियो । आगन्तुक बस्नका लागि बनाइएका टेन्ट हाउस, अस्थायी होटल भरिभराउ थिए। जता हेर्यो उतै सुन्दर देखिन्थ्यो। नेपाल–भारतको सीमा क्षेत्रमा मानवीय आवागमन निक्कै बाक्लो बन्यो । जैविक विविधताले घुमिरहुँ लाग्ने वातावरण थियो । ह्वार ह्वार चौंरी आउन थाले । चौंरीका विभिन्न प्रजातिले डाँडाकाडा भरिए । चौंरीसँग फोटो खिच्ने भीड लाग्यो।

परम्परागत गोठ राख्ने तथा चौंरी पाल्ने परम्पराको प्रवर्द्धन, जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल–भारतको सिमाना चाररातेमा आयोजना भएको चौंरी महोत्सवको दृश्य हो यो । जिल्लाको फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो चौंरी महोत्सव सम्पन्न भएको छ । एसियामै पहिलोपटक गत वर्षदेखि यस क्षेत्रको विकास क्रस बोर्डर टुरिजमको विकास, चौंरी पाल्ने परम्परालाई प्रवर्द्धनका लागि भन्दै दुईदिने महोत्सव आयोजना गरिएको हो।

समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको उच्च पहाडी क्षेत्रमा कष्टका साथ पुगेकाहरु निक्कै रमाएका देखिन्थे । भारत, भुटान तथा नेपालका विभिन्न क्षेत्रबाट आगन्तुक थिए । नयाँ वर्षको अवसर भएकाले ठूलो संख्याले महोत्सव अवलोकन गरेका थिए । सीमामा भएकाले भारतीय नागरिकको उपस्थिति बाक्लो थियो । टेन्ट हाउस बनाएर बस्ने व्यवस्था मिलाइएको थियो ।

युरोप तथा अमेरिकी पर्यटक पनि चौंरी महोत्सवमा रमाएका देखिन्थे । भौगोलिक विकटता तथा डरलाग्दो सडक प्रयोग गर्दै महोत्सवमा सहभागी आएका थिए ।महोत्सवका लागि उच्च पहाडी तथा हिमाली क्षेत्रबाट चौंरी ल्याइएका थिए । डाँडामा चौंरी र मान्छेहरु भरिएका थिए । महोत्सवको प्रतिनिधि सभाका सांसद बसन्त नेम्वाङले घुँएत्रो (परम्परागत गोठ परम्परामा तर्साउने ढुंगा) हानेर उदघाटन गरेका थिए।

पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीसहित सुरक्षा प्रमुख, राजनीतिक दलका नेता पनि सहभागी थिए । बस्तीदेखि टाढा तथा भौगोलिक विकटता भएपनि प्रसस्त सामग्री जुटाएर महोत्सव व्यवस्थापन गरिएको थियो । गोठ सञ्चालकले विभिन्न प्रजातिका चौंरी ल्याएका थिए । भारत तथा भुटानबाट पनि चौंरीपालक आएका थिए।

अघिल्लो महोत्सवले देश, विदेशमा चर्चा कमाएपछि आयोजक हौसिएका छन्। यहाँको सिको गर्दै भुटान सरकारले पनि चौंरी महोत्सव थालेको छ । फालेलुङ–कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्थाले महोत्सव आयोजना गरेको थियो । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले यसको प्रवर्द्धन गरेका थिए । महोत्सवमा चौंरी, परम्परागत गोठ संस्कृति झल्काउने स्टल, चौंरीको छुर्पी, घ्यु तथा चम्मरको स्टल राखिएको थियो।

यस्तै हर्ष रेस, याक राइडसमेत आयोजना गरिएको थियो । स्थानीय परिकार खाने व्यवस्था मिलाइएको थियो । दुई देशीय (नेपाल–भारत) कलाकारले सांस्कृतिक प्रस्तुति राखेका थिए । परम्परागत गोठपालन व्यवसाय र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको संस्थाका अध्यक्ष डिल्ली आन्जुम केरुङले बताए।

सन्दकपुर तथा फालोटबीचमा रहेको यस क्षेत्रमा युवा तथा वृद्धवृद्धा पुगेका थिए । नेपालको पाँँचथर, ताप्लेजुङ, इलाम, झापा, कास्कीलगायत जिल्लाबाट महोत्सवमा सहभागी थिए । गुराँस फुल्ने सिजनमा मौसम खुलेकाले आन्तरिक तथा बाह्य पर्यटक खुबै रमाएका थिए । निकै कठिन भूगोलमा आयोजना गरिएको यस प्रकारको महोत्सवले यस क्षेत्रको प्रवर्द्धन हुनुका साथै विकासका लागि दबाबसमेत सिर्जना हुने प्रवर्द्धक दिप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले बताए।

महोत्सवका लागि प्रदेश सरकारले समेत १० लाख बजेट विनियोजन गरेको छ । महोत्सवलाई बृहत् बनाउन विभिन्न कार्यक्रम राखिएको थियो । बर्सेनि महोत्सव आयोजना गरी गोठ संस्कृतिको प्रवर्द्धन गर्दै जैविक विविधताको संरक्षण, पदमार्ग विकासमा जुट्ने बताइएको छ । महोत्सव सहभागिता तथा सफलताले आफूहरुलाई हौस्याएको गोठ सञ्चालक चन्द्र नेपालले बताए।


 

प्रकाशित: ३ वैशाख २०७५ ००:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App