coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खानेपानी पाइप चोरीमा उपभोक्ता समितिकै अध्यक्ष पक्राउ

उदयपुर– उदयपुर सदरमुकामस्थित त्रियुगा साना सहरी खानेपानी उपभोक्ता समिति (संस्था) को पाईप चोरी आरोपमा संस्थाकै अध्यक्ष पक्राउ परेका छन्। आइतबार दिउँसो त्रियुगा नगरपालिका १० बाबरीस्थित खानेपानी आयोजनाको प्रशोधन केन्द्रस्थित गोदाममा राखिएको पाइप २ जना कामदार लगाएर चोरेको अभियोगमा पक्राउ परेकाको बयानका आधारमा समितिका अध्यक्ष शंकर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

अपरिचित व्यक्तिहरुले गोदामबाट पाईप बोकेर बोक्सेतर्फ लाँदै गरेको स्थानीयले देखेपछि समितिलाई खबर गरेका थिए। खबर पाएलगत्तै घट्नास्थल पुगेको समितिका सचिव सन्तोष खड्का र कोषाध्यक्ष किरण पाण्डेसहितको टोलीले पाइप बोकेर झर्दै गरेकालाई भेटेर सोधपुछ गर्दा अध्यक्षले चोर्न लगाएको बयान दिएपछि प्रहरीमा खबर गरेका थिए। समितिको उजुरीपछि प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। 

कोषाध्यक्ष पाण्डेले पाइप चोर्न लगाएको कुरा राख्नेबित्तिकै बस्नेतले आफूमाथि हातपात गरेको आरोपसमेत लगाएका छन्। ‘मैले तपाई अध्यक्षजस्तो मान्छेले नै समितिको पाइप चोर्न लगाउने? भनेको थिएँ, मेरो घाँटी च्याप्प समातेर आक्रमण गरिहाले’ पाण्डेले भने ‘कसो कसो हात हटाएर बाँचे, आफै नराम्रो काम गर्ने अनि उल्टै मेरो घाँटी अँठ्याएर झण्डै मारे।’ समितिका कार्यबाहक अध्यक्ष ओम खड्कासँग यस विषयमा बुभ्mन खोज्दा सम्पर्क हुन सकेन। 

घट्नाको विषयमा प्रहरीले दुवैपक्षलाई राखेर छलफल चलाउने जनाएको छ। समितिभित्रको आपसी बिबादका कारण पाईप चोरीको घट्ना भएको स्थानीयको भनाई आएकाले दुवैपक्षको कुरा सुन्न छलफल गराउने एसपी भट्टले बताए। २ वर्षअघि सम्पन्न साधारणसभाबाट अध्यक्षमा निर्वाचित बस्नेत र अन्य पदाधिकारीबीच सुरुवातदेखि नै बिबाद हुँदै आएको छ। 

बिवादकै कारण बस्नेतले एकवर्षयता उपाध्यक्ष खड्कालाई कार्यबाहक अध्यक्ष छाडिदिएका छन्। २० वर्षअघि निर्माण कार्य सुरु भएको त्रियुगा खानेपानी योजना आपसी बिवादकै कारण एसियाली विकास बैंकले दिएको ऋण तिर्न नसकेर योजनाले पूर्णता पाउन सकेको छैन भने समयमा मर्मतसम्भार गर्न समस्या पर्दै आएको छ। 

खानेपानी तथा सरसफाई डिभिजन उदयपुरका प्रमुख इन्जिनियर (डिई) रामकुमार श्रेष्ठले समितिभित्रको आपसी बिबादकै कारण पाईप चोरीको घट्ना भएको हुनसक्ने बताए। उनका अनुसार साधारणसभाअघि नै आर्थिक हिनामिनाको आरोप लागेपछि अध्यक्ष बस्नेतलाई संस्थाको बैंकिङ कारोबारमा रोक लगाइएको छ। उपभोक्ताबाट धेरै गुनासो आएपछि संस्थाको खाता सञ्चालनमा बस्नेतको हस्ताक्षर हटाएर खानेपानीका इन्जिनियरलगायत समितिका पदाधिकारीको हस्ताक्षरबाट खाता सञ्चालन भइरहेको संस्थाकी लेखापाल उमा मगरले बताएकी छिन्। 

प्रकाशित: २ वैशाख २०७५ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App