१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बलात्कारको बढ्दो ग्राफ, पीडक चिनजानकै बढी

लहान- माघ २५ गत्ते सिरहा नगरपालिका–३ कि ११ वर्षीया बालिका छिमेकी युवकबाट बलात्कृत भईन। घर नजिकै रहेको गोठमा साँझ साढे सात बजे बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई छिमेककै युवकले मुख थुनेर बलात्कार गरे। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा उनी बेहोस भईन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइयो। अस्पतालमा उपचार गर्दा रक्तश्राव नरोकिएपछि प्रहरीले थप उपचारका लागि लहान पठायो। लहान अस्पतालमा एकसाता लामो उपचारबाट रक्तश्राव रोकिएपछि उनी घर फर्किन। घटना लगत्तै फरार भएका अरोपीत अझै पक्राउ परेका छैनन्।

फागुन ३ गत्ते सिरहा गोलबजार–९ की १४ बर्षीया बालिका सामूहिक बलात्कारको सिकार भईन। साँझ ७ बजे घर नजिकैको बारिमा शौच गर्न गएकी बालिकालाई २ जना युवकले नियन्त्रणमा लिएर नजिकैको बगैचामा लगेर बलात्कार गरेका थिए। उक्त घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गर्यो। अर्का एकजना अझै फरार छन्।

फागुन २७ गत्ते गोलबजार–७ की १४ बर्षीया बालिकालाई टोलकै युवाकबाट बलात्कृत भईन । उक्त घटनामा संलग्न एकजना पक्राउ परे। माघकै दोस्रो साता सिरहा नगरपालिका–३ की ११ वर्षीया बालिका बलात्कृत भईन । उक्त घटनामा संलग्न फरार भए।

प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रहरी नायव उपरीक्षक शषी शर्माका अनुसार चालु आर्थिक वर्षमा बलात्कारका घटना बढी भएको जिल्ला सप्तरी र सिरहा हो। यस प्रदेश अन्तर्गतको ८ जिल्लामध्ये सप्तरीमा चालु आर्थिक वर्षमा बलात्कारका (जवरजस्ती करणी) २६ वटा घटना दर्ता भएका छन्। सिरहामा २४ वटा बलात्कारका घटना दर्ता भएका छन्।

फागुन १८ गते  धनगडीमाई नगरपालिका–८ की १४ वर्षीया बालिका घाँस काट्न गएको बेला चौरीमै बलात्कारको सिकार भईन । घटनामा संलग्न फारर छन्।

चैत १५ गत्ते सिरहा नगरपालिका १४ लबटोलीकी १५ बर्षीया बालिकालाई टोलकै २४ वर्षीय युवकले बलात्कार गरे। घाँस लिन गईरहेको बेला एक्लोपनको मौका छोपी बालिकालाई छिमेकी युवकले बलात्कार गरी फरार भए । उनी अझै पक्राउ परेका छैनन्।

०७४ जेठ २१ गत्ते लहान–१८ कि १३ वर्षीया बालिकालाई साँझ परिचितबाटै बलात्कृत भईन । संलग्नलाई पक्राउ गरी असार ११ गत्ते जिल्ला सरकारी वकिल कार्यालय मार्फत अभियोजन भयो । घटनाका विपक्षी केही महिना थुना बसेर अदालतको आदेशमा साधारण तारेखमा रिहा भए।

चार महिनापछि यी बालिका फेरी दोस्रो पटक बलात्कारको सिकार भईन। असोज २३ गत्ते गाउँकै परिचितले उनलाई घरबाटै नियन्त्रणमा लिएर बलात्कार गरे । कातिक १३ गत्ते जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग भयो । पीडक अदालतको आदेशमा पूर्वपक्षका लागि कारागार चलान भएका छन्।

यसरी बढ्दै छ बलात्कारको ग्राफ

सिरहामा चालु आर्थिक वर्षमा(२०७४/०७५) मात्र २४ वटा बलात्कार (जवरजस्ती करणी) र २२ वटा बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग) का घटना दर्ता भएका छन्। यो वर्ष फागुन महिनामा सबैभन्दा बढी ७ वटा बलात्कारका घटना भएको रेकर्ड छ। जिल्लामा भएका बलात्कारका घटनामध्ये अधिकत्तर (१२ वटा) घटनाको घटनास्थल खेत, चउरमा भएको रेकर्डले देखाउँछ।

तीन वर्षयता सिरहामा बलात्कार र बलात्कारको प्रयासका घटना बढ्दै गएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष ०७२/७३ मा बलात्काकार १७ र बलात्कार प्रयासका १० वटा गरी २७ वटा घटना प्रहरीमा दर्ता भयो ।  ०७३ /७४ मा बलात्कारका २६ र बलात्कार प्रयासका ११ गरी ३७ वटा घटना दर्ता भए । चालु आर्थिक वर्षको (०७४/७५ चैत २२ सम्म) ४६ वटा करणी र करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका छन् । तथ्यांकले विगतको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको देखाउँछ।

सिरहा एउटा दृष्टान्त हो, दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन्। अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन्। भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा दम्पच बनाइदिन्छन्। केही प्रहरीमा पुग्छन्, जसमध्ये अभियुक्त थोरैमात्र पक्राउ पर्छन्। पक्रिएका पनि प्रमाण अपुग भन्दै चाँडै छाडिन्छन्। पीडितलाई न्यायको सट्टा आहत बनाउने यस्तै सामाजिक र कानुनी रवैयाले समाजमा दिनहुँ बलात्कार घटना बढिरहेका छन्।

प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रहरी नायव उपरीक्षक शषी शर्माका अनुसार चालु आर्थिक वर्षमा बलात्कारका घटना बढी भएको जिल्ला सप्तरी र सिरहा हो। यस प्रदेश अन्तर्गतको ८ जिल्लामध्ये सप्तरीमा चालु आर्थिक वर्षमा बलात्कारका (जवरजस्ती करणी) २६ वटा घटना दर्ता भएका छन्। सिरहामा २४ वटा बलात्कारका घटना दर्ता भएका छन्। धनुषा जिल्लामा ६ वटा, महोत्तरीमा ५ वटा, सर्लाहीमा १२ वटा, रौतहटमा १२ वटा, बारामा ७ वटा र पर्सामा ११ वटा बलात्कारका घटना चालु आर्थिक वर्षमा दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ जनकपुरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका डिएसपी शर्माका अनुसार यस प्रदेश अन्तर्गतका आठै जिल्लाको अपराधको साँख्यिक तथ्यांक केलाउँदा लागू औषध मुद्दापछि बलात्कारका मुद्दा हो। चालु आर्थिक वर्षको नौ महिनामा यस प्रदेशमा ९७ जना महिना बलात्कारको सिकार भएको तथ्यांकले देखाउँछ। यी घटनामा १० वर्ष उमेर समूहदेखि १६ वर्ष उमेर समूहकी बालिकाको संख्या बढी छ। यी घटनामा संलग्न पीडक १९ वर्ष देखि २५ वर्ष उमेर समूहका बढी छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार पीडित र पीडकमध्ये कृषि पेशामा आश्रृतको संख्या बढी छ। घटनास्थ केलाउँदा खेतमा भएका घटना धेरै छन् । दोस्रोमा घरगोठमा भएको घटना छ । घटनाको प्रवृती विश्लेषण गर्दै डिएसपी शर्माले भने,‘धेरै बलात्कारका घटनामा पीडितलाई धाकधम्की र प्रलोभनमा पारेको देखिन्छ।’

प्रहरी अधिकारीहरुका अनुसार बलात्कार घटनाको जानकारी ढिलो आउने भएकाले अभियुक्त पक्राउ गर्न सकिँदैन। धेरै घटनाका खबर प्रहरीमा आइपुग्दासम्म अभियुक्त भागिसकेका हुन्छन् जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) शेखर कोईरालाले बताए। ३५ दिनभित्रै घटना अनुसन्धान गरी मिसिल अभियोजन गरिसक्नुपर्ने समयसीमा अहिले छ महिना पुर्याइएको छ । यसले अभियुक्त पक्राउ देखि अन्य प्रमाण जुटाउने कार्य गर्न समेतका लागि प्रहरीलाई प्रयाप्त सुविधा प्राप्त भएको छ ।  जबर्जस्ती करणीमा प्रमाण जुटाउनु महत्वपूर्ण हो । सरकारी वकिल कार्यालय सिरहामार्फत ०६९ सालमा ११ वटा जबरजस्ती करणी र उद्योगका मुद्दा जिल्ला अदालतमा पेस भए। दुईजनालाई थुनामा राख्ने आदेश भएको सरकारी वकिल कार्यालयको तथ्यांकमा छ।

बलात्कार घटनामा मेडिकल रिपोर्टलाई अदालतले बलियो प्रमाणका रूपमा लिन्छ । तर, डाक्टरहरू यसलाई पूर्ण प्रमाण मान्न नहुने बताउँछन् ।

 मेडिकल रिपोर्टको भर

बलात्कार घटनामा मेडिकल रिपोर्टलाई अदालतले बलियो प्रमाणका रूपमा लिन्छ । तर, डाक्टरहरू यसलाई पूर्ण प्रमाण मान्न नहुने बताउँछन् । जिल्ला अस्पताल सिरहाका मेडिकल अधिकृत जितलाल यादवका अनुसार पीडित समयमै अस्पताल नआउँदा र अनुभवी चिकित्सक नभएपछि कहिलेकाहीँ मेडिकल रिर्पोटमा त्रृटि हुन सक्छ । उनी भन्छन्, ‘बलात्कार भएनभएको हेर्ने विज्ञ यहाँ छैनन् । हामीले दिएको रिपोर्टलाई नै सर्वश्रेष्ठ प्रमाण मान्नु हुँदैन।’ बलात्कार भएपछि तत्काल पीडितलाई अस्पताल नपुर्याउँदा प्रमाण नष्ट भइसक्ने उनी बताउँछन्, ‘यहाँ यस्ता घटनाको अधिकतर रिपोर्ट नेगेटिभ आउँछ ।’ कुनै चिन्ह नभेटाएपछि हामीले पोजीटिभ लेख्ने कुरा आउँदैन, उनले भने।

प्रहरीले पठाएको फारमको हो र होइन भन्ने प्रश्नमा अधिकतर उत्तर पीडितको विपक्षमै जान्छ । ‘कतिपय अवस्थामा संघर्षका चिन्ह, पीडितले लगाएको लुगाको अवस्था, घाउ वा चोटका आधारमा रिपोर्ट दिन्छौं,’ उनले सुनाए। बलात्कार भएको पाँच–छ घन्टाभित्र अस्पताल पुर्याउँदा पीडितको पक्षमा शतप्रतिशत मेडिकल रिपोर्ट आउँछ भने त्यसपछि नेगेटिभ रिपोर्ट आउने सम्भावना बढी हुन्छ । ‘बलात्कार घटनाको रिपोर्टमा पनि बाह्य दबाब हुन्छ,’ उनले भने, ‘डाक्टरको टिमले रिपोर्ट बनाउने हुँदा हामी घटनाप्रति संवेदनशील हुन्छौं, हुनैपर्छ।’

बलात्कारका मुद्दाको बकपत्रमा मेडिकल रिपेर्ट तयार पारेका डाक्टरलाई अदालतले बकपत्रका लागि बोलाउँछ। डा. जितलाल भन्छन हामी अदालतले बोलाएकै बेला उपस्थित हुन्छौ उनले भने, ‘अदालतले हामीलाई १० बजे बोलाउँछ तर बकपत्र ४ बजे गराउँछ । उनले भने, ‘हामीले अटेर गरेका छैनौं, दिक्क मानेर अस्पतालबाट फर्कन्छौ।’

यस्तो छ कानुनी व्यवस्था

कसैले कुनै महिलालाई नीजको मञ्जुरी नलिई करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई नीजको मञ्जुरी लिई वा नलिई करणी गरेमा जबरजस्ती करणी गरेको ठहरिनेछ। मुलुकी ऐन यसलाई थप स्पष्ट पार्छ, ‘डर, त्रास देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी, शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिनेछैन ।’ यस्तै ‘होस ठेगानमा नरहेको अवस्थामा लिइएको मञ्जुरीलाई पनि मञ्जुरी मानिनेछैन।’

यसैगरी, दस वर्षभन्दा मुनिकी बालिकालाई जबरजस्ती करणी गरेको ठहरिए १० देखि १५ वर्षसम्म, १० वर्ष वा सोभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका पीडित भए ८ देखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । यस्तै, १४ देखि १६ वर्षभन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्ष सम्म, १६ वर्षदेखि २० वर्षसम्म उमेर समूहकी महिला भए पीडकलाई ५ वर्षदेखि ८ वर्षसम्म, २० भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको ठहरिए ५ देखि ७ वर्षसम्म कैद सजाय हुने कानुनमा व्यवस्था छ । यसका अतिरिक्त हाडनाता करणी र कसैले गर्भवती, अशक्त, अपांगता भएका वा होस ठेगानमा नरहेका वा आफ्नो संरक्षणमा रहेकी महिलालाई जबरजस्ती करणी गरेको ठहरिए थप सजायको व्यवस्थासमेत गरिएको छ।

प्रहरीको बलात्कार नियन्त्रण अभियान

देशैभर बलात्कारका घटना बढ्न थालेपछि प्रहरी प्रधान कार्यालयले घटना न्यूनीकरणका लागि तीन महिने अभियान सुरु गरेको छ । जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान ०७४ नाम दिइएको यो अभियान चैत १९ देखि देशैभरी सञ्चालन भएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का डिएसपी शषी शर्माले बताए। प्रहरी एक्लैले सक्दैन सबै सरोकारबालाको सामूहिक प्रयासबाट बलात्कार जस्तो जघन्य अपराधमा कमि आउने यो अभियानको उदेश्य भएको उनले बताए। अभियान अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र मातहतका प्रहरी कार्यालयहरूबाट निर्धारित पाठ्यक्रम अनुसार ग्रामीणस्तरका शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सूचना, सचेतनासहितका तुल ब्यानर, पम्पलेट लिएर जिल्लाहरुमा र्‍यायली र सडक नाटक प्रदर्शन लगायत कार्यक्रम गरिँदै छ।


 

प्रकाशित: २ वैशाख २०७५ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App