७ वैशाख २०८१ शुक्रबार
राजनीति

अब माइतीघर पनि निषेधित क्षेत्र

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्नु भन्ने गृहमन्त्रालयको निर्देशनअनुसार प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको बैठकमार्फत जिल्लाका ७ स्थानलाई सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोक्दै माइतीघरलाई भने निषेधित क्षेत्र घोषणा गरेको हो। 

काठमाडौंको मुख्य भागमा रहेको माइतीघरमा दिनहुँ सार्वजनिक तथा विरोध प्रदर्शनका कार्यक्रमहरु हुने गरेका छन्। अब भने त्यहाँ यस्ता कार्यक्रम गर्न नपाइने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए।

प्रदर्शन स्थल कहाँ कहाँ ?

प्रशासन कार्यालयले आगामी वैशाख १६ गतेदेखि लागु हुनेगरी तोकेको सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थलमा खुलामञ्च, तिनकुने खुल्ला चौर कोटेश्वर, भुईंखेल चौर भागवान पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौरस्थित समाजकल्याण परिषद अगाडिको खुल्ला स्थान र सिफल चौर गौशाला रहेका छन्।  

कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै वैशाख १६ देखि तोकिएको स्थानमा मात्र आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न आह्वान समेत गरेको छ। 

गृह प्रशासन सुधार कार्ययोजना अन्तर्गत गृह मन्त्रालयले सबै जिल्लालाई विरोध प्रदर्शन तथा सार्वजनिक सभा समारोहका लागि निश्चित स्थल तोक्न निर्देशन दिएको थियो। सो निर्देशनलाई कार्यान्वयन गर्दै काठमाडौं जिल्ला प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र बनाउँदै अन्य ७ स्थान तोकेको हो। 

प्रकाशित: २ वैशाख २०७५ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App