coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धार्मिक र पर्यटकीयस्थल रौतामा भक्तजन र पर्यटकको घुँईचो

रौतापोखरी (उदयपुर) – उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा नयाँ वर्षको अवसरमा पर्यटक र भक्तजनको भिड लागेको छ। नयाँ वर्षलाई स्वागत गर्दै हरेक वर्ष लगाइने बहुकार्यक्रमिक ३ दिने मेलामा यो वर्ष विगत वर्षहरुको तुलनामा १० गुणा बढी पर्यटक तथा तीर्थयात्रीहरु आएका छन्।

समुद्री सतहदेखि १ हजा ९ सय मिटरको उचाईमा रहेको रौतापोखरीदेखि विहान सूर्योदय र विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिम श्रृङ्खलाको दृष्यावलोकन गर्न सकिने भएकाले नयाँ वर्षको सूर्योदय हेर्नेगरी अघिल्लो दिन नै पर्यटकको भिड लाग्ने गर्छ। १ गते शनिबार परेकाले पनि पुजाआराधना गर्न भक्तजनको बाक्लो उपस्थिति भएको स्थानीय पुजारीले बताए। अन्य वर्ष स्थानीय क्लवहरुले आयोजना गर्दै आएको मेला यस वर्ष स्वयं रौतामाई गाउँपालिकाले आयोजना गरेकाले प्रचारप्रसार बढी भएकाले पर्यटक र भक्तजनको घुँइचो लागेको स्थानीयले बताए।

रौतापोखरीमा पहिलो दिन (शनिबार) १५ हजार बढीको उपस्थिति रहेको रौतामाई गाउँपालिका २ का वडाध्यक्ष खविन्द्र रास्कोटीले बताए। तराइक्षेत्रमा चर्को गर्मी बढ्दै गएको हुनाले चिसो ठाउँ र धार्मिक आस्थाको केन्द्र रौतापोखरी धेरैको गन्तव्यस्थल बन्दै गएको छ। धनकुटाको भेडेटरालाई विर्साउने चिसो, चारैतिर मनमोहक दृष्य, फराकिलो ठाउँ, मनै लोभ्याउने सफा पोखरी र आस्थाको केन्द्र मन्दिर त्यही रहेकाले पनि रौताको आकर्षण दिनदिनै बढ्दै गएको स्थानीय व्यापारी भिमराज राईले बताए। उनका अनुसार पछिल्लो समय सदरमुकाम र जिल्लाका बिभिन्न गाउँपालिका र वडासँग सडक सञ्जाल जोडिएसँगै रौतामा पर्यटक र भक्तजनको बाक्लो उपस्थिति हुन थालेको छ।

रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी राना ज्युठकुरीले रौतामा पर्यटनसँगै धार्मिक महत्व पनि भएकाले आगन्तुकको संख्या बढ्दै गएको बताइन्। उनले स्थानीय तहले यसै आर्थिक वर्षदेखि बजेट व्यवस्थापन गरेर बृहत रौता विकासको अवधारणा अघि सारिएको बताइन्।

शनिबार आयोजित मेलाको प्रदेश पर्यटन, उद्योग र वनमन्त्री जगदिश कुसियतले उद्घाटन गर्दे रौताको बृहत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले रौताको पर्यटकीय, धार्मिक र पूर्वाधार विकासका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने र स्थानीय तहले पनि आवश्यक वजेट व्यवस्थापन गरेर अघि बढ्न आग्रह गरे।

प्रकाशित: २ वैशाख २०७५ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App