७ वैशाख २०८१ शुक्रबार
अर्थ

बाग्मती सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोसी–मरिन

काठमाडौं – सिँचाइ आयोजनालाई विस्तार गर्न सुनकोशी–मरिन डाइभर्सन आयोजना सुरु हुने भएको छ।

उक्त आयोजनालाई विस्तार गर्ने गरी सुनकोसी–मरिन डाइभर्सनको तयारी अन्तिम चरणमा पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। मध्यतराईका सर्लाही, रौटहट, महोत्तरी, बारा र धनुषाको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने लक्ष्य राखिएको उक्त आयोजना आउने वर्षदेखि काम थाल्ने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका सहसचिव सुशीलचन्द्र तिवारीका अनुसार बाग्मती सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा पानी विस्तार गर्ने लक्ष्य राखिए अनुसार सुनकोसी–मरिन डाइभर्सनको तयारी अन्तिम चरणमा पुगेको हो। सुनकोसी नदीको पानी मरिन खोलामा खसालेर बाग्मती सिँचाइ आयोजनामा पानीको मात्रा वृद्धि गरिने उक्त आयोजनाको लक्ष्य हो। लामो समयदेखि किसानहरूले बाग्मती नदीको पानी कम भएको भन्दै गुनासो गर्दै आइरहेका थिए।

बाग्मती सिँचाइ आयोजनाका लागि आवयश्क पर्ने पानीको स्रोत कसरी जुटाउने भन्नेमा भएका विभिन्न अध्ययन अनुसार बाग्मतीमा पानी वृद्धि गरिने सहज र गतिलो उपाय सुनकोसी नदीको पानी मरिन खोलामा खसाल्न सकिनेमा सबैको सहमति जुटेको हो। सहसचिव तिवारीले सुनकोसी–मरिन डाइभर्सनको विस्तृत अध्ययन अन्तिम चरणमा पुगिसकेको र आउँदो आर्थिक वर्षदेखि देखिने गरी काम सुरु हुने बताए।

अहिले जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढेको छ भने वातावरणीय मूल्यांकन सम्पन्न भइसकेको छ। बाग्मती सिँचाइ आयोजनाबाट ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्दै आएको छ। मन्त्रालयले हाल सुनकोसी–मरिन जस्तै सञ्चालन गरिरहेको अर्को डाइभर्सन आयोजना भेरी–बबई डाइभर्सन हो। भेरी नदीको पानी बबईमा मिसाएर बाँके र बर्दियाको ५१ हजार जमिनमा सिँचाइ सुविधा पु-याउने लक्ष्यका साथ काम भइरहेको छ।

जुन आयोजनाका लागि १२ किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले पाँच महिनाअघि चीनबाट टनेल बोरिङ मेसिन (टिबिएम) ल्याइएको छ। नेपालको विकासमा पहिलोपटक टिबिएम प्रयोग गरिँदा सफल हुने/नहुनेमा आशंका थियो। टिबिएमले सुरुङ खन्न थालेपछि अपेक्षाभन्दा बढी प्रगति भइरहेको मन्त्रालयका अधिकारीले बताए।

‘पाँच महिनाको अवधिमा तीन हजार दुई सय मिटरभन्दा बढी सुरुङ खनेपछि टिबिएमबाट हामी उत्साही छौं,’ तिवारीले भने। भेरी–बबई डाइभर्सन आयोजनामा उत्साजनक रूपमा निर्माण कार्य भएपछि अन्य डाइभर्सन आयोजना सञ्चालन गर्न सहयोग मिलेको कर्मचारी बताउँछन्। देशभर सञ्चालन भइरहेका सिँचाइका चार ठूला राष्ट्रिय गौरवका आयोजना र सुनकोसी–मरिन डाइभर्सन आयोजनाको निर्माणपछि सिँचाइ उपलब्ध हुन सक्ने अधिकांश जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।

हाल मन्त्रालयले राष्ट्रिय गौरवका सिक्टा, रानीजमरा–कुलरिया, बबई र भेरी–बबई डाइभर्सन सिँचाइ आयोजना सञ्चालन गरिरहेको छ। मन्त्रालयले सन् १९९० मा तयार पारेको सिँचाइको गुरुयोजना अनुसार नेपालमा १७ लाख ६६ हजार हेक्टर जमिन सिँचाइयोग्य छ। सिँचाइयोग्य जमिनमध्ये हालससम्म १४ लाख ३३ हजार तीन सय ५७ हेक्टर जमिन सिँचित भइसकेको मन्त्रालयले जनाएको छ।

निर्माणको क्रममा रहेका सिक्टाले ४३ हजार हेक्टर, रानीजमरा–कुलरियाले २० हजार, बबईले ३६ हजार र भेरी–बबई डाइभर्सनबाट ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ। सुनकोसी–मरिन डाइभर्सनबाट करिब ७८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेपछि नेपालको अधिकांश कृषियोग्य जमिन सिँचित हुनेमा किसान आशावादी छन्। ती सबै आयोजना अबको पाँच वर्षभित्र सक्ने गरी निर्माण कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल सबभन्दा बढी कृषक कुलो सुधारबाट खेतीयोग्य जमिन सिँचित हुँदै आएको छ। कुल खेतीयोग्य जमिनको चार लाख ४४ हजार तीन सय दुई सय नौ हेक्टर जमिनमा कृषक कुलो सुधारबाट सिँचाइ सुविधा पुग्दा चार लाख १५ हजार छ सय ५३ हेक्टर जमिनमा भूमिगत प्रविधिबाट सिँचाइ भइरहेको छ। त्यस्तै सतह सिँचाइबाट तीन लाख ५८ हजार तीन सय २१ र कृषक व्यवस्थित कार्यक्रम अन्तर्गत दुई लाख १४ हजार नौ सय ९३ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७५ ०५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App