६ वैशाख २०८१ बिहीबार
खेल

चेल्सीको जितमा जिरोर्ड नायक

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साउथह्याम्पटनविरुद्ध गेल गरेपछि चेल्सीका इडेन हाजार्ड। तस्बिरः एपी

साउथह्याम्पटन – वैकल्पिक खेलाडी ओलिभर जिरोर्डको दुई गोलप्रेरित साबिक विजेता चेल्सीले शनिबार साउथह्याम्पटनलाई ३–२ ले हराउँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ।

यससँगै जिरोर्डले चेल्सीमा नियमित पहिलो रोजाइमा पर्ने सम्भावना बलियो बनाएका छन् । आर्सनलबाट जनवरी सरुवा बजारको अन्तिम समयमा चेल्सी आएका जिरोर्ड प्रभाव जमाउनका लागि संघर्षरत छन् । जसका कारण विश्वकपमा फ्रान्सको टोलीमा पर्न पनि संघर्ष गर्नुपरेको छ ।

‘पछिल्लो समय म करियरकै कठिन समयबाट गुज्रिरहेको छु । तर म सधैं बलियो पुनरागमन गर्ने प्रयासमा थिएँ । सम्भवतः आज त्यो पूरा भयो,’ फ्रान्सका फरवार्ड जिरोर्डले भने, ‘सबैभन्दा महत्वपूर्ण पक्ष हामीले हिम्मत हारेनौं । आफ्नो क्षमतामा विश्वास राख्यौं । आज मैले गरेको प्रदर्शनमा गर्व लागेको छ।’

डुसान टेडिचले पहिलो हाफ र डेब्यु गरेका जन बेडनार्कले दोस्रो हाफमा गोल गरेपछि साउथह्याम्पटनले नोभेम्बरपछि घरेलु मैदानमा पहिलो जित निकाल्ने संकेत गरेको थियो । तर ६१औं मिनेटमा मैदान छिरेका जिरोर्डले २ तथा इडेन हाजार्डको गोलबाट चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै तीन अंक पक्का गरेको थियो । यससँगै चेल्सीले चौथो स्थानको टोटेनह्यामसँगको दूरी घटाएको छ।

‘पछिल्लो समय म करियरकै कठिन समयबाट गुज्रिरहेको छु । तर म सधैं बलियो पुनरागमन गर्ने प्रयासमा थिएँ। सम्भवतः आज त्यो पूरा भयो।’

‘हाम्रो गणितीय सम्भावना कायमै छ । त्यसैले शीर्ष चारमा रहने हाम्रो आशा कायमै छ,’ च्याम्पियन्स लिगको सम्भावनाबारे जिरोर्डले थपे, ‘हामीले पाँचवटा फाइनल खेल्न बाँकी छ । त्यसपछि हेरौं के हुन्छ।’

चेल्सीले ३३ खेलबाट ६० अंक बटुलेको छ । एक खेल कम खेलेको टोटेनह्याम र लिभरपुलको समान ६७ अंक छ । ८४ अंकका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ७१ अंक छ ।

हारपछि भने साउह्याम्पटनको रेलिगेसनबाट माथि उक्लने सम्भावना कमजोर बनेको छ । ३३ खेलबाट साउथह्याम्पटनले २८ अंक जोडेको छ । जुन एक स्थान माथिको स्वान्सी सिटीभन्दा ३ अंकले कम हो।

चेल्सी र साउथह्याम्पटनले अर्को साता एफए कपको सेमिफाइनलमा पनि प्रतिस्पर्धा गर्नेछन् । अर्को सिजन प्रिमियर लिगमा रहने नरहने निश्चित नभएको साउथह्याम्पटनका लागि एफए कप अझ महत्वपूर्ण रहेको छ।
‘समय हाम्रो पक्षमा छैन,’ साउथह्याम्पटनका प्रशिक्षक मार्क ह्युजले भने, ‘जब समय आफ्नो पक्षमा हुँदैन तब केही गर्न सकिँदैन । हामी राम्रो समय आउने पर्खाइमा छौं।’

चेल्सीका पूर्वखेलाडी रायन बट्रान्डले २१औं मिनेटमा सेसर एजप्लेक्युएटालाई छलाएर दिएको सुन्दर पासलाई टेडिचले गोलमा परिणत गरेका थिए । ६०औं मिनेटमा जेम्स वार्ड–प्रोजको फ्रिकिकलाई कसैको निगरानीमा नरहेका बेडनार्कले गोल गरेपछि भ्रमणकारी टोली थप दबाबमा परेको थियो । मध्यान्तरअघि चेल्सीले गोलको अवसर सिर्जन गर्न सकेन । निराशा पोख्ने क्रममा चेल्सीका मार्कोस एलोन्सोले शाने लङविरुद्ध फाउल हानेका थिए। तर उनी भाग्यमानी रहे । रेफ्रीले उनलाई रातो कार्ड देखाएनन् । चेल्सीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो।

‘हाम्रो पहिलो हाफ निकै खराब रह्यो । हाम्रो खेलमा जित्ने इच्छाशक्ति देखिएको थिएन,’ चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘तर पछि हामीले उत्कृष्ट पुनरागमन गर्यौं । यो खेल जित्ने निकै कठिन थियो ।’
एलोन्सोको फाउलबारे साउथह्याम्पटनका प्रशिक्षक ह्युजले भने, ‘यो प्रस्ट रेड कार्ड थियो । शानेको खुट्टा भाँचिन पनि सक्थ्यो । १० यार्डको बीचको तीन अफिसियल थिए । तर तीनै जनाले कसरी त्यो देखेनन्, यसलाई मलाई आश्चर्यचकित बनाएको छ।’

कोन्टेले अल्भेरो मोराटा र डेभिड जापाकोस्टाको स्थानमा जिरोर्ड र पेड्रो रोडरिग्वेजलाई मौदान छिराए । एलोन्सोको उत्कृष्ट क्रसलाई फ्रान्सका स्ट्राइकरले हेडमार्फत पोस्टको दिशा दिए । जिरोर्डको यो पहिलो लिग गोल हो । त्यसका पाँच मिनेट बित्न नपाउँदै विलियानको क्रसमा हाजार्डले बराबरी गोल फर्काए । बराबरीपछि उल्टो दबाबमा परेको साउथह्याम्पटनविरुद्ध जिरोर्डले अर्को थपेपछि कोन्टेको टोलीले तीन अंक पक्का गरेको हो।

प्रकाशित: २ वैशाख २०७५ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App