७ वैशाख २०८१ शुक्रबार
अर्थ

एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा

काठमाडौं- एउटै व्यक्तिले धेरै लघुवित्त संस्थाबाट कर्जा लिने गरेका छन्। लघुवित्तबाट कुन व्यक्तिले कति ऋण लिएका छन् भन्ने एकीकृत तथ्यांक नहुँदा एउटै व्यक्तिले धेरै लघुवित्तबाट कर्जा लिन सफल भएका हुन्। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले ऋण लिन लागेको व्यक्तिले कुन संस्थाबाट कति ऋण लिएको भन्ने सहजै पत्ता लगाउन सकिने हुँदा दोहोरो कर्जा लिने सम्भावना हुँदैन। तर, लघुवित्तमा त्यसरी पत्ता लगाउन सकिने सम्भावना नहुने हुँदा एक व्यक्ति धेरै संस्थाबाट सहजै कर्जा लिन सफल भएका हुन्।

एउटा व्यक्तिले दुईमात्र होइन ४–५ वटा लघुवित्तबाट समेत कर्जा लिएको नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका उपाध्यक्ष रामचन्द्र जोशीले बुधबार नागरिकलाई बताए। 'कसले कति कुन संस्थाबाट कर्जा लिएको छ भन्ने यकिन नहुँदा दोहोराएर र तेहराएर कर्जा लिन सफल भएका छन्,' छिमेक लघुवित्त विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनले भने, 'पछिल्लो समय एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने क्रम बढेको छ।'

हाल ४२ लघुवित्त विकास बैंकहरु सञ्चालनमा छन्। धेरैजसो लघुवित्त संस्थाहरु एउटै कार्यक्षेत्रमा काम गर्छन्। उनीहरुबीच ग्राहकलाई आफूतिर आकर्षित गर्ने प्रतिस्पर्धा नै चलेको छ। लघुवित्त संस्थाबीचको अस्वस्थ्य प्रतिस्पर्धाको फाइदा केही ग्राहकले लिइरहेको एक लघुवित्त विज्ञले बताए।

लघुवित्तमा दोहोरो कर्जाको बिगबिगी बढेसँगै यस्तो कर्जा नियन्त्रण गर्ने प्रक्रिया थालिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कसले ऋण लिएको छ वा छैन भन्ने थाहा पाउनका लागि एउटा छुट्टै सफ्टवेयर तयार गरिएजस्तै लघुवित्त कम्पनीहरुको पनि त्यस्तो सफ्टवेयर तयार गर्न लागिएको जानकारी जोशीले दिए। 'लघुवित्त संस्थाले दिएका ऋणीको नाम त्यो सफ्टवेयरमा राखिने छ,' उनले भने, 'त्यस्तो  सफ्टवेयर हेरेपछि अन्य लघुवित्त संस्थाले सम्बन्धित व्यक्तिलाई कर्जा उपलब्ध गराएका रहेछन् वा रहेनछन् भन्नेबारेमा जानकारी हुनेछ।' एक संस्थाबाट कर्जा लिएको भए त्यस्तो व्यक्तिलाई अर्को लघुवित्तले ऋण उपलब्ध गराउने छैनन्।

नयाँ सफ्टवेयर तयार गर्न सकिएको खण्डमा दोहोरो कर्जा लिने सम्भावनाको अन्त्य हुने विज्ञहरुको भनाइ छ। क्रेडिट इन्फर्मेसन ब्युरो (सिआइबी) ले त्यस्तो सफ्टवेयर तयार गर्दैछ। 'फिनसफ्ट' कम्पनीको उक्त सफ्टवेयर प्रयोग गरेर दोहोरो कर्जा लिने व्यक्तिको पहिचान गर्न सजिलो हुने जोशीले जानकारी दिए। युके एडको सहयोगमा सञ्चालित सक्षम, आइएफस लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको आर्थिक सहयोगमा उक्त सफ्टवेयर तयार गर्न लागिएको हो।

दोहोरो कर्जा लिने व्यक्ति बढ्दै गएपछि त्यस्तो चलनलाई नियन्त्रण गर्न सफ्टवेयरको विकास गर्न लागिएको विज्ञहरुको भनाइ छ। एउटै समूहले २–३ संस्थाबाट ऋण लिने भएकालेे पनि असुलीमा केही समस्या आएको उनीहरुले बताए। 'अहिलेको चुनौती कर्जाको दोहोरोपन रहेको छ,' उनले भने, 'दोहोरोपन अन्त्यका लागि नेपाल राष्ट्र बैंकले छिट्टै नीति बनाई लागू गर्नुपर्ने हुन्छ।'

करिब तीन दशकदेखि नै लघुवित्तले ऋण उपलब्ध गराउँदै आएका छन्। नेपालमा ग्रामीण समुदायमा बसोबास गरिरहेका आर्थिक दृष्टिकोणले कमजोर एवं विपन्न वर्गका परिवार र महिलाको उत्थानलाई लक्ष्य गरी यस्तो ऋण प्रवाह हुँदै आएको छ।

लघुवित्त संस्थाले उपलब्ध गराएको ऋणले उद्यमशीलताको विकास र गरिबी न्यूनीकरणमा सहयोग पुगेको विज्ञहरुको भनाइ छ। 'नेपालको गरिबी ४० बाट २४ प्रतिशतमा झार्न लघुवित्तको अहम् भूमिका छ,' उनले भने, 'घरदैलोमा गएर उद्यमशीलता एवं आत्मनिर्भर बनाउन ऋण उपलब्ध गराउने भएकाले पनि यसको प्रभावकारिता प्रतिदिन बढ्दै गएको छ।'

हाल लघुवित्त संस्थाले तीन खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिरहेको एक तथ्यांकले देखाएको छ।। लघुवित्त संस्थामार्फत करिब १८ लाख परिवारले सेवा प्राप्त गरिरहेको उक्त तथ्यांकले देखाएको छ।

लघुवित्त संस्थाले खेती, पशुपालन, कुखुरापालन, बेमौसमी तरकारी, साना खुद्रा व्यापार र घरेलु उद्योगमा ऋण लगानी गरिरहेका छन्। 'विश्वबाट सन् २०३० सम्म गरिबी शून्यमा झार्ने लक्ष्य लिइएको छ,' उनले भने, 'उक्त लक्ष्यमा पुग्न लघुवित्तको माध्यम प्रभावकारी हुनेछ।'

गरिबी न्यूनीकरण गर्ने र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्य यी संस्था स्थापना गरिएको हो। वाणिज्य बैंक, विकास बैंकले जिल्ला सदरमुकाम वा ठूलो बजार क्षेत्रका ग्राहकलाई मात्र लक्ष्य गरेका छन्। भौगोलिक विकटता, आधुनिक प्रविधिको न्यून प्रयोग र वित्तीय साक्षरतामा कमीले गर्दा गाउँमा बैंक पुग्न सकेका छैनन्। लघुवित्त संस्थाहरुले दूरदराजका न्यून आय भएका र धितो दिन नसक्ने ग्राहकलाई लक्षित गरेर ऋण लगानी गरिरहेका छन्।

लघुवित्त बैंकले ७५ जिल्लामा सेवा विस्तार गरिसकेका छन्। लघुवित्त संस्थाहरुले सामूहिक जमानीमा पाँच लाखसम्म कर्जा दिन सक्छन्।

लघुवित्त बैंकहरू ग्रामीण क्षेत्रमा गई काम गर्नुपर्ने हुन्छ। दुर्गम क्षेत्रमा लगानी गर्दा लागत बढी हुने गरेको उनीहरुको तर्क छ। लघुवित्त संस्थाले सजिलैसँग ऋण उपलब्ध गराउँदै आएका छन्। बैंकहरुबाट ऋण लिनका लागि बजारसम्म धाउनुपर्ने, जग्गा जमिन धितोमा राख्दा बढी झन्झट हुने भएकाले पनि लघुवित्तबाट ऋण लिनेको संख्या ग्रामीण क्षेत्रमा बढ्दै गएको विज्ञको भनाइ छ।

प्रकाशित: १० भाद्र २०७३ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App