१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रंगशाला जोगाउनेलाई सम्मान

सम्मान अघि अायाेजित प्रभातफेरीका सहभागी। तस्बिरः धन/नागरिक

पोखरा – खेलाडी संघ कास्कीले पोखरा रंगशाला पर्खाल घेराबन्दी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिलाई शनिबार एक कार्यक्रम आयोजना गरी सम्मनित गरेको छ।

पर्खाल निर्माण समितिका पदाधिकारी अध्यक्ष प्राडा वीरेन्दसिंह गुरुङ, तेजबहादुर गुरुङ, वसन्त थकाली, खेम गुरुङ, सूर्य गुरुङ (बेलायत), मुक्षेत्र गुरुङ (बेलायत), किसानसिंह गुरुङलाई सम्मानित गरिएको थियो । त्यस्तै मरणोपरान्त इन्द्रबहादुर गुरुङ र शिवशंकर रञ्जितलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेले युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेका थिए।  

कार्यक्रममा बोल्दै विश्वकर्माले खेल र खेलाडीका साथै आवश्यक पूर्वाधारका लागि निजी क्षेत्रले पनि सहयोगी भूमिका खेल्नुपर्ने बताए । उनले उद्योगधन्दामा झैं खेलकुदको पूर्वाधार विकासमा निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्नेमा जोड दिए।

‘खेलकुदको पूर्वाधार विकासमा राज्यको प्रयास हुँदाहुँदै सार्थक हुन नसकेको अवस्थामा निजी क्षेत्रले पनि लगानी गर्नुपर्छ,’ मन्त्री विकले भने, ‘राज्यले भावनात्मक रूपमा मात्रै नभई खेलाडीका लागि उचित वातावरण तयार पार्नेतर्फ ध्यान दिनुपर्छ।’

यसअघि चिप्लेढुंगाबाट सुरु भएको प्रभातफेरी  पोखरा रंगशालाको सेमी कभर्डहलमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो । प्रभातफेरीमा जिल्ला खेलकुद विकास समितिमा आबद्ध संघका खेलाडी तथा प्रशिक्षकको उपस्थिति थियो।

नेपाल भूतपूर्व खेलाडी मञ्चको अगुवाइमा पोखरा रंगशाला पर्खाल घेराबन्दी निर्माण समिति गठन गरिएको थियो । डा. वीरेन्द्रसिंह गुरुङको अध्यक्षतामा गठित समितिले २०६१ सालमा झन्डै एक करोडको लागतमा रंगशालाको तीन दिशामा पर्खाल घेराबन्दी गर्ने कार्य पूरा गरेको थियो । पर्खाल घेराबन्दीका लागि बेलायतबाट सूर्य र मुक्षेत्र गुरुङले आर्थिक सहयोग गरेका थिए । सेती नदी किनारतर्फ पनि विभिन्न व्यक्तित्वको पहलमा तारजाली लगाइएको छ।

‘खेलकुदको पूर्वाधार विकास निजी क्षेत्रले पनि लगानी गर्नुपर्छ।’

संघले २७ वर्षदेखि पोखरा रंगशालाको ब्याडमिन्टन हलको पेटीमा फुल कन्ट्याक्ट कराते प्रशिक्षण गराउँदै आएका स्वयंसेवक प्रशिक्षक शिव गुरुङलाई पनि सम्मान गरेको छ । गुरुङलाई पनि मन्त्री विश्वकर्माले खादा तथा दोसल्ला ओढाई सम्मान गरेका थिए।

२०३९ सालबाट फुल कन्ट्याक्ट कराते खेल्न थालेका गुरुङ २०४० सालमा पोखरा आई खेल्न थालेका थिए । त्यसपछि २०५२ सालदेखि उनले निरन्तर फुल कन्ट्याक्ट कराते प्रशिक्षण गराउँदै आएका छन् । ५१ वर्षीय गुरुङले स्वयंसेवक प्रशिक्षकको रूपमा झन्डै तीन दशक पोखरा रंगशालामा बिताइसकेका छन्।

खेलाडी संघका अध्यक्ष दीपकबहादुर गोदारले पर्खाल निर्माण समितिको पहलमा पर्खाल घेराबन्दी नभएको भए पोखरा रंगशाला यो अवस्थामा नआउने जिकिर गरे । त्यसैले त्यसमा कार्य गर्ने सम्मानको हकदार रहेकोमा कसैको दुई मत नभएको प्रस्ट्याए । उनले आफ्नै गुरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए।

कार्यक्रममा खेलाडीको तर्फबाट बक्सिङका अन्तर्राष्ट्रिय पदक विजेता गणेश भट्टराई, नेपाल ओलम्पिक कमिटीका सदस्य एवं नेपाल ह्यान्डबल संघका अध्यक्ष सम्मानित व्यक्तित्व तेजबहादुर गुरुङ, संघका महासचिव हिमाल खड्कालगायतले खेलकुदको विकासमा राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै खेलाडीलाई खेल्ने वातावरण सृजना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।

प्रकाशित: २ वैशाख २०७५ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App