coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

'२१ लाख कर्मचारी आवश्यक'

सियाटल- अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आगामी दुई दशकभित्र विश्वको व्यापारिक उड्डयन बजारलाई थप २१ लाख पाइलट, प्राविधिक र क्याबिन क्रु आवश्यक पर्ने तथ्य प्रक्षेपण गरेको छ। बोइङले '२०१६ पाइलट एन्ड टेक्निसियन आउटलुक' तयार पारी आगामी २० वर्षभित्र उक्त संख्याबराबर पाइलट, प्राविधिक र क्याबिन क्रु आवश्यक पर्ने प्रक्षेपण गरेको हो। बोइङले गएको सात वर्षदेखि यस्तो बजार प्रक्षेपण गर्दै आएको छ। व्यावसायिक उडान गर्ने जहाजका लागि पाइलट, जहाज मर्मत प्राविधिक र क्याबिन क्रुको आवश्यकतासम्बन्धमा प्रक्षेपण तयार गरिएको छ।

बोइङको प्रक्षेपणअनुसार सन् २०१६ देखि २०३५ भित्र विश्वको व्यापारिक उड्डयन बजारलाई ६ लाख १७ हजार नयाँ पाइलट, ६ लाख ७९ हजार जहाज मर्मत प्राविधिक तथा ८ लाख १४ हजारजना नयाँ क्याबिन क्रु आवश्यक पर्ने छ।

गत वर्षको प्रक्षेपणभन्दा यो वर्षको प्रक्षेपणले पाइलटको माग १० दशमलव ५ प्रतिशतले वृद्धि तथा प्राविधिकतर्फ पनि ११ दशमलव ३ प्रतिशतको वृद्धि भएको उल्लेख गरेको छ।  नयाँ पाइलट मागलाई नयाँ जहाज आपूर्तिले अगाडि बढाएको हो भने नयाँ प्राविधिक मागलाई जहाजको संख्या वृद्धिले अगाडि बढाएको बोइङको भनाइ छ।

'पाइलट तथा प्राविधिकसम्बन्धी हाम्रो बजार प्रक्षेपण उड्डयन उद्योगका लागि गतिलो स्रोत बन्दै आएको छ जसले वायुसेवा कम्पनीको सफल सञ्चालनमा आवश्यक माग निर्धारण गर्छ,' बोइङको उडान सेवा हेर्ने उपाध्यक्ष सेरी कार्बेरीले भने, 'क्याबिन क्रु झन् वायुसेवा कम्पनीका लागि असाध्यै महत्वपूर्ण छन् जबकि पाइलट, प्राविधिक र क्याबिन क्रुको तालिम हामी उपलब्ध गराउँदैनौं। त्यसकारण उड्डयन उद्योगले हाम्रो प्रक्षेपणलाई आफ्ना योजनाको उद्देश्यका लागि प्रयोग गर्नसक्ने छन्।'

बोइङले आगामी २० वर्षसम्म विश्व उड्डयन बजारलाई लगातार वर्षैपिच्छे करिब ३१ हजार नयाँ पाइलट, ३५ हजार नयाँ प्राविधिक र ४० हजार नयाँ क्याबिन क्रुको आवश्यकता पर्ने उल्लेख गरेको छ।

प्रक्षेपणअनुसार उक्त अवधिमा एसिया प्रशान्त क्षेत्रलाई २ लाख ४८ हजार नयाँ पाइलट, २ लाख ६८ हजार प्राविधिक चाहिने छन्। त्यस्तै युरोपलाई १ लाख ४ हजार पाइलट, १ लाख १८ हजार प्राविधिक र १ लाख ६९ हजार क्याबिन त्रु्क, उत्तर अमेरिकालाई १ लाख १२ हजार पाइलट, १ लाख २७ हजार प्राविधिक र १ लाख ५१ हजार क्याबिन क्रु आवश्यक पर्ने छ।

त्यसैगरी ल्याटिन अमेरिकालाई ५१ हजार नयाँ पाइलट, ५० हजार प्राविधिक र ५१ हजार क्याबिन क्रु, मध्यपूर्वलाई ५८ हजार पाइलट, ६६ हजार प्राविधिक र ९२ हजार क्याबिन क्रु, अफ्रिकालाई २२ हजार पाइलट, २४ हजार प्राविधिक र २७ हजार क्याबिन क्रु तथा रुसी क्षेत्रलाई २२ हजार पाइलट, २६ हजार प्राविधिक र २६ हजार क्याबिन क्रु आवश्यक पर्ने प्रक्षेपणमा उल्लेख छ।

बोइङका अनुसार एसिया प्रशान्त क्षेत्रले कूल मागको ४० प्रतिशत हिस्सा ओगट्ने छ। यो क्षेत्रका सस्तोमा उडान गर्ने बजेट एयरलाइन्समा 'सिंगल एस्ले' जहाजको संख्या ह्वात्तै बढ्दै गएका कारण माग उच्च भएको हो। जबकि उत्तर अमेरिकामा भने क्युबा र मेक्सिकोमा खुलेको नयाँ उड्डयन बजार तथा युरोपमा विकास भइरहेको अन्तर–युरोपेली युनियन बजारको प्रतिक्रियाबाट पाइलट, प्राविधिक र क्याबिन क्रुको माग बढेको हो।

प्रकाशित: १० भाद्र २०७३ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App