७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ आजबाट शुरु

काठमाडौं – ‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’ आजबाट शुरु भएको छ।

केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न एंव अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलव्ध गराउनु रहेको छ।

आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्नका लागि विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ। सो कार्यका लागि सुपरिवेक्षक तथा गणकलाई तालीम प्रदान गरी आआफ्नो कार्य क्षेत्रमा खटाइसकिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।

विभागबाट आर्थिक गणनाका विवरण संकलन गर्न प्रत्येक घरदैलो, व्यापारिक प्रतिष्ठान वा व्यवसायस्थलमा गणना कर्मचारी पुग्ने भएकाले त्यसमा सहयोग गर्न सम्बन्धीत सबै पक्षसंग उहाँले आग्रह गरे।

महानिर्देशक अर्यालले मुलुकमा आर्थिक तथ्यांक प्रणालीलाई मजबुत तुल्याउनु पर्ने आजको आवश्यकता रहेको उल्लेख गर्दै सबै उद्योग, व्यवसाय, विभिन्न सेवाप्रदायकलगायतका संघसंस्थाजस्ता प्रतिष्ठान (आर्थिक एकाइ) को तथ्यांक संकलन गर्ने बताए।

राष्ट्रिय आर्थिक गणना नेपालको पहिलो तथा ऐतिहासिक बृहत् तथ्यंकीय कार्य भएकाले गणनाको स्मृतिमा विभागले आफ्नो परिसरमा ‘आर्थिक गणना स्तम्भ’ समेत निर्माण गरेको छ।

विभागद्वारा यहाँ आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को शुभारम्भ तथा स्तम्भको अनावरण गरे।

सो अवसरमा अर्थमन्त्री खतिवडाले आर्थिक नीति तर्जुमा तथा योजना निर्माणका लागि ‘राष्ट्रिय आर्थिक गणना २०७५’ कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे।    (रासस)

प्रकाशित: १ वैशाख २०७५ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App