‘माउते दाइ, माउते दाइ हात्ती चढ्न देऊ।’ हिमांशु, सोभन, साक्षत र केशिका लय मिलाएर भनिरहेका थिए। नजिकै उभिएको एउटा हात्तीमा माउते दाइ चढेका थिए। उनलाई ती नानीबाबुहरू बोलेको मनप¥यो। त्यसैले उनी ध्यान दिएर सुनिरहेका थिए :
माउते दाइ, माउते दाइ हात्ती चढ्न देऊ।
माउते दाइले मुसुमुसु हाँस्दै भने– ‘सानासाना नानी हो, हात्ती चढ्न हुन्न।’
नानीबाबुहरू किन छाड्थे र! उनीहरूले लयमै जवाफ दिए– ‘हात्ती चढ्यो भने बाघ–भालुले खान्न।’
नानीबाबुहरू र माउते दाइका बीचमा दोहोरी चल्यो।
नानीबाबुहरू : माउते दाइ, माउते दाइ हात्ती चढ्न देऊ।
माउते दाइ : सानासाना नानी हो, हात्ती चढ्न हुन्न।
माउते दाइलाई नानीबाबुहरूसँग बोल्न र ठट्टा गर्न मन लाग्यो। उनले भने, ‘साँच्चै हात्ती चढ्ने हो?
नानीबाबुहरूले एकै स्वरमा भने, ‘हो माउते दाइ, हो।’
माउते दाइले भने, ‘मेरा प्रश्नको उत्तर देऊ। अनि हात्ती चढाउँछु। हुन्छ, उत्तर दिन्छौ?’
नानीबाबुहरूले भने, ‘हुन्छ, माउते दाइ। हामी उत्तर दिन्छौँ।’
माउते दाइले सोधे, ‘कुनै चार वटा जंगली जनावरको नाम भन।’
यति प्रश्नको उत्तर दिन कुन भारी कुरा थियो र! नानीबाबुहरूले फटाफट उत्तर दिए–
हिमांशु : बाघ
सोभन : भालु
साक्ष : गैँडा
केशिका : हात्ती
नानीबाबुहरूलाई हेर्दै माउते दाइ मुसुमुसु मुस्कुराइरहेका थिए। उनले मनमनै सोचे, ‘अहो! कति असल नानीबाबुहरू! यिनीहरुसँग बोलिरहन पाए!’ उनले हात्ती चढाउनेभन्दा बोल्ने नै विचार गरे। अनि फेरि अर्को प्रश्न लय मिलाएर सोधे, ‘भनभन लौ, बाघको बच्चालाई के भन्छ?’
अब हात्ती चढ्न पाइएला भनेर मख्ख परेका नानीबाबुहरू जिल्ल परे। तर, उनीहरूले हरेस खाएनन्। बरु उत्तर दिने सुर बनाए। हिमांशुले स्कुलमा म्यामले पढाएको कुरा सम्झिन्। अनि माउते दाइलेझै लय मिलाएर उत्तर दिइन्, ‘सुनसुन लौ, बाघको बच्चा डमरु।’
साथीहरूले पनि लय मिलाएर भने, ‘सुनसुन लौ बाघको बच्चा डमरु।’
माउते दाइलाई रमाइलो लाग्यो। उनले लय मिलाएर दोहो-याइ/तेहे-याइ प्रश्न सोधिरहे। बालबालिकाले पनि लय मिलाएर दोहो-याइ/तेहे-याइ उत्तर दिइरहे। विद्यालयमा आफूले पढेको कुरा भन्न पाउँदा नानीबाबुहरूलाई पनि खुसी लाग्यो।
माउते दाइले लय मिलाएर फेरि अर्को प्रश्न सोधे, ‘भनभन लौ भालुको बच्चालाई के भन्छ?’
यो प्रश्नको उत्तर त नानीबाबुहरूले सोच्नै प-यो। उनीहरूले अस्ति मात्र विद्यालयमा पढेका थिए। त्यसैले सोभनले सम्झिहाले। अनि उनले लय मिलाएर उत्तर दिए, ‘सुनसुन लौ भालुको बच्चा गद्दु।’
अरू साथीहरूले सोभनसँगै लय मिलाएर उत्तर दोहो-याए। माउते दाइले लय मिलाएर प्रश्न दोहो-याए।
‘अहो, कस्तो रमाइलो!’ माउते दाइ मख्ख परे। उनले फेरि अर्को प्रश्न सोधे, ‘भनभन लौ गैँडाको बच्चालाई के भन्छ?’
यो प्रश्नले त नानीबाबुहरूलाई आच्छुआच्छु पा-यो। उनीहरूले पढ्न त पढेकै थिए। तर, झुक्किए। यत्तिकैमा बाटो हिँड्ने मान्छेले नानीबाबुहरूलाई देखे। उनीहरूले भने, ‘आहा! कति राम्रा केटाकेटीहरू!’ पुस्तकमा पढेकै थियो। त्यसैले साक्षतले सम्झिहाले। अनि लय मिलाएर भने, ‘सुनसुन लौ गैँडाको बच्चा केटाकेटी।’ अरू साथीहरूले पनि लय मिलाएर साक्षतसँगै उत्तर दिए।
माउते दाइलाई त ठट्टा गर्नु न थियो। किन बाँकी राख्थे र! फेरि अर्को प्रश्न सोधे, ‘भनभन लौ हात्तीको बच्चालाई के भन्छ?’
चारै जनाले निकै बेर सोचे। केशिकालाई एउटा उत्तर आयो। तर, त्यो ठीक हो कि होइन जस्तो लाग्यो। उनले साथीहरूलाई भनिन्। सबै साथीहरूले उत्तर ठीक हो भन्ने ठहराए। अनि केशिकाले लय हालेर उत्तर दिइन्, ‘सुनसुन लौ हात्तीको बच्चा छावा।’ साथीहरूले पनि केशिकासँगै लय मिलाएर उत्तर दिए।
यसरी चारै जना बालबालिकाले उत्तर दिइसके। उनीहरूलाई अब त हात्ती चढ्न पाइएला भन्ने लाग्यो। तर, माउते दाइले ती चार वटा प्रश्न लय हालेर दोहो-याए। बालबालिकाले पनि तिनको उत्तर लय हालेर दोहो¥याए। माउते दाइको अनुहार उज्यालो भयो। उनी जुँगा मुसार्दै मुसुक्क हाँसे। बालबालिकाको अनुहार पनि उज्यालो भएयो। उनीहरूले भने, ‘हामीले सबै प्रश्नको उत्तर दिइसक्यौँ। अब त हात्ती चढ्न पाइन्छ होला नि।’ अनि हात्ती चढ्ने आसमा भने, ‘माउते दाइ, माउते दाइ हात्ती चढ्न देऊ।’
माउते दाइलाई बहाना न चाहिएको थियो। किन पछि पर्थे र! मीठो बोलीमा भने– ‘हुन्छ, म तिमीहरूलाई हात्तीमा चढाउँछु। अनि उः त्यो जंगल पनि घुमाउँछु, हुन्न?’
‘हुन्छ, किन नहुने? हामीले पनि त्यसै त भनेका हौँ नि।’ नानीबाबुहरूले भने।
‘उसो भए भन त, हात्तीमा चढेर कहाँ बस्छौ?’ मानिस बस्न हात्तीका पिठ्यूँमा कसिएको सामान देखाउँदै माउते दाइले भने, ‘यसमा होइन? ल भन यसको नाम के हो? जान्यौ भने पक्का हात्ती चढ्न पायौ। जानेनौ भने...अहँ, आस नगरे हुन्छ।’
नानीबाबुहरू जिल्ल परे। उनीहरूलाई यस प्रश्नको उत्तर आउँदै आएन। जेसुकै भन्नु पनि भएन। अब के गर्ने होला। उनीहरूले विचार गरे। केही उपाय निस्किएन। आफूले नजानेकोमा उनीहरूलाई लाज पनि भयो। उनीहरूले सोचे, ‘अब हात्ती चढ्न नपाइने भयो। यहाँ बसेर के काम? बरु घरै जानुपर्ला।’ उनीहरू घर फर्कनै लागेका थिए। हिमांशुलाई हात्तीका सुँडले कोट्याए जस्तो लाग्यो। उनले पछि फर्किएर हेरिन्। हात्तीको मुख चले जस्तो लाग्यो। साथीहरूलाई ‘पर्ख त’ भनिन्। उनले पुलुक्क माउते दाइलाई पनि हेरिन्। माउते दाइ परपर उडेका चराहरू हेरिरहेका थिए। हिमांशुले फेरि हात्तीको मुख नियालिन्। केही भनिरहेजस्तो लाग्यो। ‘हौदा...हौदा’ हात्तीका मुखबाट आवाज आएजस्तो लाग्यो । उनको अनुहार उज्यालो भयो। उनले साथीहरूलाई सुनाइन्। अनि सबैले एकै स्वरमा भने, ‘माउते दाइ! त्यसको नाम हौदा हो।’ उनीहरू खुसीले रमाए, ‘हौदा हो। माउते दाइ, हौदा...हौदा।’ उनीहरू खुसीले उफ्रिए।
यस पटक माउते दाइ खुसीले गदगद भए। हात्ती पनि खुसी देखियो। बुरुक्क बुरुक्क उफ्रुँलाझैँ ग-यो।
माउते दाइले हात्तीलाई निर्देशन दिए। हात्तीले एकएक गरेर नानीबाबुहरूलाई समाउँदै माउते दाइलाई दियो। माउते दाइले उनीहरूलाई समाउँदै हौदामा राखे। सबै जना हौदामा मिलेर बसे। अनि माउते दाइले हात्तीलाई हिँड्ने इसारा गरे। हात्ती लमकलमक लम्कँदै जंगलतिर गयो। बालबालिकाले बाघ, भालु, गैँडा, ढेडु, बाँदर, बँदेलजस्ता जंगली जनावर देखे। चिरबिर गर्दै उड्ने विभिन्न चराहरू पनि देखे। त्यहाँ विभिन्न फलहरू फलेका रहेछन्। माउते दाइले ती फल पनि खुवाए। दिनभरि घुम्न र खान पाएकाले नानीबाबुहरू साह्रै खुसी भए। अनि साँझतिर घर फर्के।
प्रकाशित: १ वैशाख २०७५ ०७:०६ शनिबार