coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्यटकीय पदमार्ग नयाँ वर्षको उपहार

प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सहित तिनजुरे–गुफा–पाथिभरा पदयात्रा महोत्सवका क्रममा ताप्लेजुङ सरोकार केन्द्रको झण्डा सहित तिनजुरे–मिल्के क्षेत्रमा। तस्बिर सौजन्य : रमेश बराल

ताप्लेजुङ – नयाँ वर्षको पहिलो दिन शनिबार ३ हजार ७ सय ९४ मिटर उचाईको ताप्लेजुङमा अवस्थित पाथिभरा चुलीबाट नयाँ पर्यटकीय पदमार्गको घोषणा गरिएको छ।

पूर्वी पहाडका संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र ईलामका पर्यटकीय स्थलको चक्रपार हुनेगरी नयाँ पर्यटकीय ‘सर्किट’को घोषणा गरिएको हो।

‘तिनजुरे–गुफा–पाथिभरा–सिलौटे–कन्याम ट्रेक्स एण्ड टुर्स’नाम दिएर पदमार्गको घोषणा गरिएको छ। प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडका क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि नयाँ पर्यटयिक पदमार्ग घोषणा गरेका छन्। पाथिभरा चुलीबाटै उनले पाथिभरा क्षेत्रमा केबलकारको निमार्ण, खानेपानीको व्यवस्थापन र पदमार्गको स्तरोन्नतीको कार्य चाँडै सुरु हुने दोहोर्याए।

तिनजुरे–गुफा–पाथिभरा पदयात्रा महोत्सवका लागि काठमाडाैं सहितका जिल्लाबाट पाथिभरा पुगेको टोलीका बीच नयाँ पदमार्गको घोषणा गरिएको हो। ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंको अगुवाईमा भएको पदयात्रा महोत्सवकै क्रममा नयाँ पर्यटकीय रुटको पनि घोषणा गरिएको छ। पर्यटन व्यवसायी पिके शेर्पाका अनुसार तिनजुरे–चौकी–गुफा–मिल्के जलजले प्राकृति छटाले भरिएको क्षेत्र हो।

पूर्वकै दुई प्रसिद्ध नदीहरू तमोर र अरुणको पानीढलोको रुपमा रहेको यो क्षेत्र पर्यटकका लागि आकर्षक रहेको छ। गुराँसको राजधानीको रुपमा चिनिएको यो क्षेत्रमा २८ प्रजातिका गुराँस पाइने अध्यनले देखाएको छ। शेर्पाले मिल्केको झ्याउँपोखरी क्षेत्रमा ३२ प्रजातिका गुराँस फेला परेको पछिल्लो जानकारी आफूले पाएको बताए। आफूले जानकारी सत्य हुने हो भने एकैठाउँमा यतिधेरै गुराँसका प्रजाति पाइने यो क्षेत्र विश्वकै पहिलो हुने दावी समेत उनले गरेका छन्।

धार्मिक पर्यटनका दृष्ट्रिले ख्याती पाएको पाथिभरा क्षेत्र जैविक सम्पदाको अर्को राजधानी भनेर परिचित छ। पाथिभरा पदमार्गका दायाँबायाँ देखिने गुराँस प्रजातिले तिनजुरे–मिल्के क्षेत्रकै अनुभूत गराएको पदयात्रा महोत्सवमा सहभागी डम्बरुबल्लभ भट्टराईले जानकारी दिए। जिल्ला वन कार्यालय ताप्लेजुङका प्रमुख बिष्णुलाल घिमिरेले पाथिभरा क्षेत्र दूर्लभ वन्यजन्तु रेडपाण्डा सहितका वनस्पतीको उपस्थितिका हिसाबले महत्वपूर्ण रहेको बताए।

उनले यतिधेरै जैविक सम्पदा एकै ठाउँमा पाइने हिसाबले पाथिभरा क्षेत्र धनी रहेको जानकारी दिए। पाथिभरा चुलीबाट देखिने सुर्योदय र हिमश्रृखंलाको दृश्यावलोकनले आफूलाई अहिले सम्मकै सबैभन्दा बढि आनन्द मिलेको काठमाडांैबाट आएका पत्रकार रञ्जनहरी कोईरालाले बताए। पाथिझैं चुलिएको पाथिभरा मन्दिरमा मौसम सफा रहेको बेला त्यहाँको प्राकृतिक सौन्दर्यसँग रमाउनेको भीड आफूले सोचे भन्दा बढी पाएको उनले जानकारी दिए। मौसम सफा रहेको समयमा पाथिभरा क्षेत्रबाट कैद गरिएका तस्बिर अहिले पनि महंगो दाममा बिक्री हुने गरेका छन्।

ताप्लेजुङ पछि पाँचथरको सिलौटी क्षेत्र उत्तिकै सौन्दर्यपूर्ण ठानिन्छ। लिम्बू समुदायका महागुरु फाल्गुनन्दको समाधीस्थलका रहेको क्षेत्रले परिचित सिलौटी र नजिकैको लब्रेकुटी क्षेत्र उनै फाल्गुनन्दको ध्यान तपश्या गर्ने स्थलको रुपमा चित्रीत छ। फाल्गुनन्दले समाज सुधारका लागि जारी गरेको सत्यधर्म मुचुल्का पनि यहि क्षेत्रबाट जारी भएको जानकारहरू बताउँछन्। धार्मिक पर्यटनका हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण मानिन्छ। नयाँ पदमार्गमा समेटिएको इलामको कन्याम चियाको मनोरमता भित्र रमाउनेहरूका लागि सबैभन्दा मनमोहक ठाउँ हो।

कन्यामको डाँडाकाँडा घुम्नेहरूको यसको बर्णन नगरेका सायद कमै मात्र हुन्छन्। पर्यटन व्यवसायी पिछोवाङ शेर्पा नयाँ पर्यटकीय इलामको कन्याम, ताप्लेजुङको पाथीभरा, पाँचथरको सिलौटी,तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे–मिल्के क्षेत्रलाई समेटेर तयार भएको नयाँ पर्यटकिय पदमार्ग पर्यटन व्यवसाय क्षेत्रका लागि नौलो आयाम बन्ने विश्वास व्यक्त गर्छन्। 

प्रकाशित: १ वैशाख २०७५ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App