८ वैशाख २०८१ शनिबार
अन्य

जात्रामा रमाउँदै बालबालिका

भक्तपुर - माउन्ट भ्याली स्कुलमा कक्षा ७ मा अध्यनरत सुुविन चित्रकार सानै उमेरदेखि जात्रामा रुचि राख्थे । यस अघिसम्म उनी जात्रा परैबाट नियाल्थे मात्र । तर, यस पटक भने जात्रामा सहभागी भए।

मंगलबार भक्तपुरमा सुरु भएको बिस्केट जात्रामा उनले  आफुभन्दा ठूलासँगै लाइन लागेर जात्राको रथ ताने ।  कलिलो हातमा मोटो डोरी समाएर उनले अरुसँगै होस्टेमा हैसै गरे। ‘अरुले तानेको देख्दा रमाइलो लाथ्थ्यो,’ उनले भने, ‘आज आफैले तान्दा धेरै खुसी भएको छु ।’

आठ रात नौ दिनसम्म चल्ने भक्तपुरको बिस्केट जात्रा यहाँको प्रमुख जात्रा मानिन्छ।भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरअघि बनाइएको भैरवनाथको रथ तानेसँगै जात्रा सुरु भएको हो । हरेक वर्ष नयाँ वर्ष आगमनको चार दिनअघि पाँच तले मन्दिरअघिको चोकमा बनाइने प्यागोडा शैलीको तीन तले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा सुरु हुने गर्छ।

‘हामी त रथ बनाउन थालेदेखि नै रमाउँदै आएका थियौं,’ जेनयुन सेकेन्डरी विद्यालयमा कक्षा ६ मा अध्यनरत १२ वर्षीय बिकेन दिष्टीले भने, ‘जात्रा आउन थालेपछि हाम्रो ठाउँ निकै रमाइलो हुन्छ ।’ जात्रा हेर्न वृद्धवृद्धादेखि बालबालिकासम्म सबै रमाउने गरेको उनले बताए । ‘यो जात्रा मलाई धेरै रमाइलो लाग्छ,’ उनले भने, ‘टोल टोलमा रथ लैजाँदा झनै रमाइलो हुन्छ ।’
उनी मात्र हैन, उनीजस्ता थुप्रै केटाकेटी जात्रामा रमाइरहेका देखिन्थे । कोही रथको डोरी समाउँदै थिए त कोही अभिभावकसँगै सुरक्षित स्थानमा बसेर जात्रा नियाल्दै थिए।

चैत २७ गते सुरु भएको जात्रा वैशाख ५ गतेसम्म चल्छ । जात्राको पहिलो दिन मंगलबार रथलाई नगरको तल्लो टोलतिर लाने गरिन्छ । पाँच तले मन्दिर रहेको टौमढी टोल भक्तपुर नगरको बीच भाग मानिन्छ ।जात्रामा भीडभाड हुने भएकाले केटाकेटीलाई सकभर बीचमा जान दिइन्न । त्यसैले उनीहरूले छेउबाट डोरी समाउँछन्।

‘रथको डोरी तान्दा सबैकुरा पाएजस्तो लाग्छ,’ रोशन नापित सुनाउँछन्, ‘त्यसैले एकै छिन भए पनि रथ तान्न अगाडि आयौं ।’  जात्रालाई सुव्यवस्थित रूपमा सौहार्दपूर्ण तवरले सम्पन्न गर्न यो वर्ष समयमै जात्रा सुरु गरिएको थियो ।जात्रा हेर्नका लागि विभिन्न जिल्लाबाट थुप्रै सर्वसाधारण आउँछन् । कतिपय केटाकेटीहरू त आफ्ना बाबाको काधमा बसेर पनि आउने गर्छन् । काधमा बसेर उनीहरूले जात्रा नियालेको दृश्य निकै राम्रो देखिन्छ।

भक्तपुरमा जात्रा हेर्नेकै लागि विदेशबाट समेत थुप्रै पर्यटक आउने गर्छन् । अन्य समयको भन्दा जात्राको समयमा भक्तपुरमा आउने पर्यटकको संख्या धेरै हुने गर्छ । उनीहरू जात्राको रमाइलो नियाल्दै मन परेका तस्बिरहरू खिच्ने गर्छन्।

यसले हाम्रो कला संस्कृति संसारभर पुग्ने गर्छ।भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतले मन्दिरअगाडि रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुन्छ । ‘बल्ल त जात्रा सुरु भयो,’ कक्षा ७ मा अध्यनरत रोशन नकर्मी सुनाउँछन्, ‘अझै धेरै रमाइलो गर्न बाँकी नै छ। ’भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमीमा मनाइने जिब्रो छेड्ने जात्रा पनि उत्तिकै प्रख्यात छ।

प्रकाशित: १ वैशाख २०७५ ०४:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App