७ वैशाख २०८१ शुक्रबार
कला

रमण महर्षिलाई सम्झँदा

 स्वामी आनन्द अरूण
आज रमण महर्षिको महासमाधि दिवस हो । हुन त अंग्रेजी क्यालेन्डर अनुसार उहाँले १४ अप्रिल १९५० दिन शरीर छोड्नु भएको हो । तर, यस वर्ष तिथि अनुसार त्यो दिन २४ अप्रिलमा परेको छ । उहाँको आश्रममा यो दिन तिथि अनुसार नै मनाउने चलन छ।

विगत शताब्दीमा पैदा भएका गुरुहरूमध्ये ओशोले बडो आदर र सम्मानका साथ अनेकौं चोटि सम्झिएका गुरु रमण महर्षि एक हुन् । समाधि आफैमा एक बडो दुर्लभ उपलब्धि हो । यसको लागि अनेक जन्मको तपस्या र साधना तथा गुरुको मार्गदर्शन चाहिँदो रहेछ । तर, यो दुर्लभ उपलब्धीको प्राप्तिपछि ९९ प्रतिशत मानिसले संसारतिर फर्केर हेर्दैनन् । आफ्नो समाधिको परम् आनन्दमा लीन भई मौन हुन्छ । बुद्धले यस्ता समाधिस्थ व्यक्तिलाई अर्हत र महावीरले यिनलाई अरिहन्त भन्नुहुन्छ । दुवैको एउटै अर्थ हो।

जसको स्वयम् आफूभित्र र यो संसारमा अब कुनै शत्रु छैन । सय बुद्ध पुरुषमध्ये एक यस्ता अत्यन्त करुणाले भरिएका हुन्छन् जो परम् आनन्दको अनुभूति गरिसकेपछि दुःखी र विशादमा फसेको मनुष्यतालाई बिर्सन सक्दैनन् । र, उनीहरूको मुक्तिको लागि धेरै प्रयास गर्छन्, प्रवचन दिन्छन्, आश्रम निर्माण गर्छन् र अनेकौं व्यक्तिहरुलाई दीक्षा दिई शिष्य बनाउँछन् । यस्ता गुरुलाई महावीरले तीर्थंकर र बुद्धले बोधिसत्व नाम दिनुभयो।

रमण महर्षि, शिवपुरी बाबा, कृष्णमूर्ति आदि बुद्धको परिभाषा अनुसार अर्हत प्रकारका बुद्ध भए जसले न कसैलाई दीक्षा दिए न त आश्रम नै बनाए । बुद्ध, महावीर, शंकराचार्य, ओशो जस्ता गुरुहरू तीर्थकर हुन्, जसले लाखौं शिष्य बनाए, धेरै आश्रमहरूको निर्माण गरे, प्रवचन दिए र ध्यानका अनेकन् विधि बनाई साधनाका अनेक उपायहरू खोजे ।

र, मनुष्यतालाई जगाउने हर सम्भव प्रयास गरे । उहाँले शरीर छोडी सके पनि अनेकानेक साधकहरू उहाँहरूको मार्गमा साधनारत छन् । र, मुक्त भइरहेका छन् ।जो बुद्ध पुरुष मौन रहे, आत्मस्वरूपमा निमग्न भई संसारको धेरै चिन्ता गरेनन् । र, उनीहरू विवादस्पद पनि भएनन् । समाजका जति मानिसले उनलाई चिने, तिनीहरूले उनको सत्कार र आदर गरे ।

जो गुरु मनुष्यको पीडा र विशाद देखेर उसलाई मद्दत गर्न सक्रिय भए। र, समाजको कुरीति, जड भएको धार्मिक रितिथितिलाई बदल्ने ठूलो जोखिम उठाए, उनीहरू आफ्नो जीवनकालमा धेरै आलोचित भए, विवादमा पनि परे । उनीहरूको त्यो प्रयासलाई सहन नसकी मुढ मनुष्यताले उनीहरूमध्ये धेरैको हत्यासम्म गर्‍यो  । सुकरात, सरमद, मन्सुर र ओशो मनुष्यलाई जगाउने यही अतिशय करूणाका कारण मारिए । रमण महर्षि, शिवपुरी बाबा र कृष्णमूर्ति जस्ता बुद्ध पुरुषहरू धेरै विवादित भएनन् । लामो कालसम्म शरीरमा रहे । र, शान्तिपूर्ण जीवन जिए।

१७ वर्षको कलिलो उमेरमा रमण महर्षिको ह्दयमा परम् वैराग्यको उदय भयो । घर परिवार, आफ्नो पढाई र सांसारिक जीवन त्यागेर उनी तिरुवन्न्मलैको पवित्र पर्वत अरुणाचलको विरुपाक्ष गुफामा आई बसे । र, आफ्नो जीवनको अन्तिम कालसम्म स्वयम्मै मग्न भई ५४ वर्ष त्यो पर्वतकै सेरोफेरोमा बसे । ५४ वर्ष एकै ठाउँमा आनन्दित र तृप्त बस्न आफूभित्र अनन्त स्थिरता, स्वनिष्ठा र विश्रान्ति चाहिन्छ।

रमण महर्षिले घुमेर कहीं प्रवचन दिनुभएन । शिष्य पनि बनाउनु भएन । गुफा प्रवासपछि सुरुका दिनमा उहाँ एक सानो झोपडीमा बस्नुहुन्थ्यो। पछि स्वतःरूपमा सबै विकास हुँदै गयो र त्यसले एक सानो आश्रमको रूप लियो । अरु ठाउँमा आश्रमको विस्तार गर्ने र नयाँ शाखा प्रशाखाहरू बनाउने उहाँमा इच्छा थिएन । न उहाँले कसैलाई चन्दा सहयोग नै माग्नुभयो । आफैमा प्रसन्न हुने उहाँको स्वभाव थियो । उहाँको एक विशेष बानी थियो– आश्रममा आउने कसैलाई उहाँले बोलाउनु पनि भएन र आएका कसैलाई जाउ पनि भन्नुभएन।

मानिसहरू आफ्नै मर्जीले आश्रममा आउँथे । जति मन लाग्यो बस्थे । र, आफ्नै मर्जीले फर्कन्थे । जति जना आए पनि आश्रममा तीन छाक निःशुल्क आवास र भोजनको व्यवस्था उहाँले गर्नुहुन्थ्यो । एका बिहानै उठी स्वयम् आफै पनि भान्छाकोठामा गएर भोजन बनाउन घन्टौं सहयोग गर्नुहुन्थ्यो।

उहाँको विशेष ध्यान हुन्थ्यो– कोही आगन्तुकले खाना खायो कि खाएन । उहाँले जोड दिनुहुन्थ्यो कि आश्रम आएका सबैले भोजन अवश्य गरुन् । साधारण, मिठो तर सात्विक भोजनको व्यवस्था आजसम्म पनि आश्रममा छ ।उहाँको अन्तिम दिनको कुरा हो । उहाँलाई लागेको रोगको उपचारको लागि मद्रासबाट डाक्टर बोलाइएको थियो । उहाँ लगभग अन्तिम अवस्थामा हुनुहुन्थ्यो।

अन्तिम श्वास लिइरहनु भएको थियो । ती डाक्टरले उहाँलाई जाँच्न थाले । उहाँले आखा खोलेर आफ्नो स्वास्थ्यबारे केही सोध्नुभएन । तर, डाक्टरलाई पहिलो प्रश्न गर्नुभयो, ‘खाना खानु भयो की भएन ?’ डाक्टरले भने, ‘तपाईं चिन्ता नगर्नुस् । मैले खाइ सकें ।’ त्यो सुनेर रमण महर्षिले निश्चिन्त भई फेरि आ“खा बन्द गर्नुभयो, मौन हुनुभयो र शरीर छोड्नुभयो । यस्तो थियो उहाँको करुणा।

अरुणाञ्चलको त्यो आश्रमको भान्छाघरमा उहाँले वर्षौं आफैले सेवा गर्नु भएकोले त्यो ठाउँ नै तीर्थस्थल बनेको छ। त्यो भान्छाघर मन्दिर बनी सकेको छ । आज त्यहाँ जसले जे बनाए पनि त्यहाँको जस्तो स्वादिलो खाना कतै छैन । त्यहाँको खानामा अलौकिक स्वाद छ । धेरै शुद्ध आश्रमको भोजनमा मात्र त्यो स्वादको अंश मैले पाएको छु।

आजभन्दा २८ वर्षअघि नेपालबाट एक समूह लिएर म त्यहाँ प्रथम चोटि पुगेको थिए। त्यहाँ वर्षैभरि एकै किसिमको भोजन हुन्थ्यो । रमण महर्षिको धारणा के थियो भने अनेक प्रकारका भोजनले मन चंचल हुन्छ । साधकले सकेसम्म सादा एकै प्रकारको नियमति भोजन गर्नुपर्छ । यो बानी मैले अनेक साधु पुरुषहरूमा देखेको छु।

उहाँहरू जीवनपर्यन्त एकै प्रकारको सादा भोजन गर्छन् । र, उनमा अनेक प्रकारको स्वादिलो भोजनको कुनै आकांक्षा हुँदैन। ओशो भन्नुहुन्छ, ‘ठूलाठूला होटेल र पार्टीहरूमा धेरै प्रकार र अनेक स्वादका भोजन हुन्छन्। तर, त्यसमा जीब्रा र स्वादको मात्रै तृप्ती हुन्छ, त्यसमा कुनै प्राण शक्ति हुँदैन । प्रेम र पवित्रताले बनाएको सादा खानामा प्रचुर मात्रा प्राण ऊर्जा हुन्छ र त्यस्तो भोजनले मनलाई एकचित्त राख्न मद्दत गर्छ । आहारको शुद्धीमाथि हाम्रा मनिषिहरूले गहिरो अध्ययन गरेका छन् । र, भोजनको पवित्रतामाथि हिन्दू र जैनजति गहिरो दृष्टि कसैको देखिँदैन।’

रमण महर्षिको आश्रममा बिहान इडली र नरिवलको चटनी, दिउँसो भात, साम्वर र नुनिलो मोही र बेलुका पनि भात, सम्बर र नुनिलो मोही दिइन्छ । प्रारम्भदेखि अहिलेसम्म आश्रममा भोजनको यही चलन छ।

बिहान जलपान र अपरान्ह आधा कप कफी दिने चलन छ । मसँग गएका नेपाली मित्रहरू त्यो खानाबाट केही दिनमै अघाएछन् । र, उनीहरू स्वादिलो खान यताउति होटेलमा जान थाले । मलाई भने त्यहाँको खानाले लठ्ठ पारेका थियो । त्यो खाना  आजसम्म पनि बिर्सिन सकेको छैन । म कहिल्यै कफी मन नपराउने मान्छे । तर, रमण आश्रममा दिइने शुद्ध गाईको दूधमा बनाएको त्यो कफीले मलाई बयान नै गर्न सक्ने गरी मोहनी लगाएको थियो । त्यहाँ कफी थप्ने चलन छैन।

सानो स्टिलको ग्लासमा आधा ग्लास जति कफी दिइन्थ्यो । कफीको स्वादको दैवी आनन्द र त्यो कफी छिट्टै सिद्धिन्छ भन्ने पिर पनि हुन्थ्यो । म त्यो कफीको एक एक थोपा स्वाद लिई बिस्तारै पिउँथें । महर्षि आश्रमको त्यो कफी अमृतसमानै लाग्छ । म सामान्यत रोटी मन पराउँछु एक छाक । दक्षिण भारतमा रोटी बनाउने चलन छैन । दुई समय नै भात खान अप्ठ्यारो नै होला भन्ने लागेको थियो । तर, त्यो भात र साम्बर यति स्वादिष्ट लाग्यो कि म खानाको लाइनमा प्रथम नै बस्न पहिलै पुग्थे । भात, साम्बर केराको पातमा दिइन्थ्यो।

त्यो भात सकिएर केराको पात पनि खाउ“खाउ“ जस्तो लाग्थ्यो। भोजन त्यति स्वादिष्ट र तृप्तदायक हुन सक्छ त्यो आश्चर्य मैले आश्रमहरूको भोजनमा अनुभव गरेको छु । पवित्रताको आफ्नै स्वाद र सन्तुष्टि हुन्छ । रमण महर्षिको ह्दयको पवित्रता र माधुर्य आज पनि रमण आश्रमको भोजनमा अनुभव गर्न सकिन्छ । उहाँ आफैले पनि त्यो भान्छाघरमा वर्षौ नियमित सेवा गर्नु भएकाले त्यसको कणकणमा एक जीवनमुक्त पुरुषको उपस्थिति र पवित्रता आच्छादित छ । र, त्यहाँ जे पाक्छ त्यसमा त्यही पवित्रताको सुगन्ध आउँछ।

मेरा गुरु ओशो भन्नुहुन्थ्यो, ‘रमण महर्षि र रामकृष्ण परमहंस जस्ता व्यक्तिहरू निष्ठा र पवित्रताका अवतार हुन् । उनीहरूलाई सम्झिनु, उनीहरूको परिचर्चाले हाम्रो ह्दयको मयल पखालिन्छ । र, आध्यात्मिक आनन्दले भरिदिन्छ । यो पंक्तिकारले यही रमण महर्षिको महासमाधि दिवसको यो पवित्र दिनमा तपाईंको निष्ठा र पवित्रताले तपाईंको ह्दय छोओस् भन्ने प्रार्थना गर्छु ।’
              
 

प्रकाशित: १ वैशाख २०७५ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App