८ वैशाख २०८१ शनिबार
अन्य

कूलको योगदान चर्चा

 तेजेश्वर बाबु ग्वंग
सरल अभिव्यक्तिभित्र पनि गहनतम् रहस्य हुन सक्छन्, हुन्छन् । सतही हेराइले तिनलाई पहिल्याउन गाह्रो हुन्छ । यथार्थमा आँखाका हेराई सतही हुन्छन् ।कुनै पनि कुराको गहिराइमा पुग्न त्यस विषयमा डुबुल्किनु पर्छ नै।

सतहीगामी दृष्टि साधारण र सामान्य हेराई बन्छन् । सामान्य हेराईले कुनै पनि विषयको गहिराइसम्म पुग्न सकिँदैन । हाम्रो सामाजिक, शैक्षिक अभियानका रफ्तार यस्तै गतिमा उन्मुख छन्।

काँठदेखि दरवारसम्म पुस्तकमा द्वारिकानाथ ढुङ्गेलको वंशले समाजका पुर्‍याएको योगदानमा केन्द्रित छ । पुस्तकमा चर्चिएका रामचन्द्र ढुङ्गेल, उनका बंशज सन्तति–कविराज मुक्तिनाथ, नेत्रनाथ, पूर्णप्रसाद, निमेषराज सन्दर्भहरू राखिएका छन् ।तीमध्ये प्रायः सबैसँग मैले समय बिताएको छु । पुस्तकमा यीनै पाँच व्यक्तिका सन्दर्भहरू मात्रै छैनन्, तिनले समाजका पुर्‍याएका योगदानको दीर्घकालीन, दीर्घजीवी प्रभावबारे औंल्याइएको पनि छ।

भक्तपुर कटुञ्जे गाउँनिवासी स्व. रामचन्द्र ढुङ्गेलका छोरा स्व. मुक्तिनाथ शर्मा ढुङ्गेललाई ‘विराज बाजे’का रूपमा चिन्ने अवसर पाएको यथार्थ हो । उहाँ शान्त स्वभावको हुनुहुन्थ्यो ।
२०१८ सालमा त्रिभुवनग्राम तथा जिल्ला विकास विभागमा राजपत्र अनंकित प्रथम श्रेणीमा कार्यरत रहँदा आयुर्वेद चिकित्सा विभागका निर्देशकका कार्यकक्ष पुगेको सम्झना अझै ताजै छ।

यो पुस्तक आफ्नै पुस्ताका अग्रजहरूप्रति समर्पित भएर तयार पारिएको छ। पुस्तकमा मुक्तिनाथ, नेत्रनाथ, पूर्णप्रसाद र निमेषराजका सन्दर्भमा उल्लेख भएका कतिपय प्रसंगहरूले तिनताका देश, काल, परिस्थिति र संस्कारजन्य यथार्थ थाहा पाउने प्रचुर अवसर छन्।  तत्कालीन नेपाल, राजकाज, शासन पद्दतिजन्य संस्कार–संस्कृतिका सुक्ष्म रूपरेखा केलाई थाहा पाउन सकिने गुप्तधन पाइन्छन्।

कविराज मुक्तिनाथ शर्मा ढुङ्गेलका सन्दर्भभित्र नेपाली आयुर्वेद चिकित्सा, नेपालकै वनस्पतीय जडीबुटी, औषधिमूलो बनाउने पद्दति आदिका निकै रोचक, प्रेरक र उत्साहबर्द्धक कार्यक्रमका सन्दर्भ बुझ्ने र जानकारी लिने अवसर भेटाउन सक्छन्, पाठकहरूले।यस्ता प्रसंगहरू औपन्यासिक, आख्यानिक विषयवस्तु नभई गुढ रहस्यमयी बनेका हुन्छन् । यिनै पृष्ठपोषण गर्न सरल सामान्यभित्रका असामान्य रहस्य फेला पार्न गोताखोरी गर्नु पर्ने प्रसंग जोडेको छु ।

मनबज्र बज्राचार्य स्वयम् आफ्ना युगका मूर्धन्य आयुर्वेदिक कविराज थिए । काठमाडौंको मासंगली चोक बज्राचार्य जमातमा महत्वपूर्ण आयुर्वेदिक औषधी बनाउने नामूद थलौ नै थियो । इतिहास, पुरातात्विक वस्तु–तत्व सम्पदाको आत्मानुभुति गर्दो अन्वेषक स्व. हेमबज्र बज्राचार्य एकै पारिवारिक धरानाका लब्ध प्रतिष्ठित जमात थिए । त्यस समुदायका मनबज्र बज्राचार्यले धनवन्तरि जयन्तिको साइत-अवसर पारेर सम्मानपूर्वक अर्पण गरेको अभिनन्दन–पत्रमा बुँदागत उल्लेख भएका यी तथ्यहरू मननीय लाग्छ :

(१) आधुनिक नेपालको जागरणको युगमा आयुर्वेदीय चिकित्सा प्रणालीको संवर्र्द्धन र संरक्षण गर्ने दिशामा यहाँले जुन योगदान दिनु भएको छ, त्यो अवश्यमेव एक ऐतिहासिक उपलव्धि हुन आएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा यहाँको दीर्घकालसम्मको अटुट सेवा वैद्यमात्रको लागि अविस्मरणीय रहेको छ।

(२) आधुनिक युगअनुसार आयुर्वेदशास्त्रको अध्ययन गर्ने कविराजहरूको गणनामा यहाँको शुभनाम अवश्यमेव उच्च छ।

(३) नेपालमा आयुर्वेदीय शिक्षादीक्षाको परम्परा कायम गर्ने र अधिराज्यव्यापी आयुर्वेदीय चिकित्सालयहरूको तर्जुमा गर्ने  दिशामा यहाँको संघर्षमय जीवनको प्रयास अहिले केही मात्रामा भए पनि सफल भएको कुरामा समस्त बैद्य बन्धु गौरवान्वित छन्।

(४) आयुर्वेदशास्त्रको जन्मदाता भगवान धन्वन्तरिको जन्मजयन्तीको शुभअवसरमा नेपाल आयुर्वेद समिति देशका समस्त वैद्य बन्धुहरूको तर्फबाट यहाँ जस्ता वयोवृद्ध आयुर्वेदज्ञको लागि यो  अभिनन्दनपत्र स–सम्मान अर्पण गर्छु।

(५) भगवान धन्वन्तरिले यहाँलाई स्वस्थ दीर्घजीवन प्रदान गरुन्, वैद्य मात्रले यहाँको अमूल्य जीवनबाट शिक्षा पाउन सकून् यही हाम्रो शुभेच्छा छ !एक सताब्दी र चार वर्षव्यापी राणा वंशीय शासन व्यवस्थापछिको समयलाई यस अभिनन्दनपत्रमा आधुनिक नेपालको जागरणको युग भनिएको छ।

यो आधुनिक नेपालको जागरणको युगले प्राचीन धन्वन्तरीय आयुर्वेदिक चिकित्साशास्त्रलाई पुनर्जीवन प्रदान गर्ने मर्म समाहित छ । प्रथम, कविराज मुक्तिनाथ शर्माको  अतुलनीय योगदान ऐतिहसिक उपलब्धि मानिएको छ । दोस्रो, कविराज मुक्तिनाथ शर्मा ढुङ्गेललाई स्वनामधन्य आयुर्वेदशास्त्रका अध्येयता ठहर्‍याइएको छ । तेस्रो, आयुर्वेदिक चिकित्सालयहरू तर्जुमा गर्ने अभियानमा यदकिञ्चित भए पनि उपलब्धि मानिएको छ।

जसलाई निरन्तर अभियान कार्य बनाउनु जरुरी छ । चौथो, त्यो अभिनन्दन सम्मान आयुर्वेद चिकित्सा विज्ञानका प्रतिस्थापक धन्वन्तरी युग पुरुषकै जन्मजयन्तीका अवसरमा प्रदान गरिनु स्वनामधन्य रहेको छ । यस प्रकारका मान–सम्मानजनक अभिनन्दन सुदृढ संकल्पयुक्त जीवनदानको सुकीर्तिकै महिमा ठानिन्छ।

पुस्तकमा मुक्तिनाथ शर्मा ढुङ्गेलका पिता रामचन्द्र ढुङ्गेल भक्तपुर कटुञ्जे गाउँ (काँठ) निवासी भए पनि जेठा पुत्र मुक्तिनाथलाई आयुर्वेदतर्फ लगाएको उनको बर्चश्वशाली कर्मकाण्ड थियो । तिनै आयुर्वेद विद्याको आर्जन गरी नेपालमा स्थापित यस चिकित्सा विद्याशास्त्रका आधारमा देशकै अहम कीर्तिमा नधान्ने काम मुक्तिनाथ शर्माबाट हुन थालेकाले यस प्रसंगको चर्चा बनाइएको छ ।  नेत्रनाथ शर्मा ढुङ्गेल, पूर्णप्रसाद ढुङ्गेल र निमेषराज शर्मा ढुङ्गेलहरूका प्रसंग छुट्टै उठाइनु उपयुक्त हुने छ।

प्रसंगवस एक मनोगत सुझाउ समीक्षा प्रस्तुत गर्न चाँहे । यति धेरै अध्ययन सामाग्रीले सजिएका पृथक व्यक्तिका व्यक्तित्वहरूका प्रसंग एकै संग्रह बनाइनुको साटो यी व्यक्तिका अलगअलग संग्रह बनाइएको भए अत्यधिक पाठकका लागि सहुलियत बन्ने थियो कि ?

प्रकाशित: १ वैशाख २०७५ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App