८ वैशाख २०८१ शनिबार
अन्य

माया दिदी

तालीको गडगडाहटबीच सम्मान पाएलगत्तै म आफ्नो सिटमा गएर बसें । मलाई आफैप्रति गर्व महसुस भइरहेको थियो । यो सम्मानले खुसीसँगै विगतको स्मरणसमेत ताजा गराइदियो।

मेरा लागि त्यो क्षण निकै पीडादायी थियो, जुन दिन श्रीमान्ले मलाई छाडेर घरबाट निस्कनुभयो । त्यो दिन मैले उहाँलाई घर नछाड्न लाख बिन्ती गरें । खुट्टा समाएर रोएँ । अन्जानवस गरेको गल्तीको माफी मागें । तर, उहाँले मेरो कुरामा चासो देखाउनुभएन।

‘अब उप्रान्त हजुरलाई रक्सी खान कहिल्यै रोक्दिनँ । बिन्ती घर छाडेर नजानुस्,’ मैले बिन्ती बिसाएँ । तर, उहाँले मान्नुभएन।

मेरो आँखाबाट आँसु रोकिएको थिएन । मेरो अवस्था देखेर छोरा पनि रुन थाल्यो । तैपनि उहाँको मनस्थिति परिवर्तन भएन । ढोका डाङडुङ गर्दै तल ओलिर्नुभयो । र, घर छाड्नुभयो।

त्यसपछि मलाई आफ्नै घर शून्य र मसानघान जस्तै लाग्न थाल्यो। त्यो रात मलाई निद्रा परेन । घरीघरी चिटचिट पसिना आउथ्यो घरी जाडो हुन्थ्यो । उहाँकै बारेमा मनमा कुरा खेलिरहे। उहाँले किन घर छाडेर जानुभयो ? कहाँ जानुभयो ? अब उहाँ कहिल्यै घर फर्कनुहुन्छ होला ? मनमा यस्तैयस्तै कुरा खेलिरहेका थिए । यतिकैमा अलार्म बज्यो । घडी हेर्दा त बिहानको चार बजिसकेको रहेछ।

म उठें । र, नित्यकर्ममा लागें । नुवाइधुवाइ गरेपछि पूजा गर्न बसें । तर, पूजामा मन बसेन । आखिर त्यो पीडा कहाँ सजिलै भुल्न सकिन्थ्यो र ? आँखाबाट आँसु खसिहाल्यो।तैपनि मनलाई सान्त्वना दिँदै पूजा गरें । र, तल ओर्लिए । मन कस्तोकस्तो भइरहेको थियो । एउटा पाइला चाल्न पनि धेरै बल गर्नु पथ्र्यो । पीडासँगै छटपटी भइरहेको थियो । आँसु रोकिएको थिएन।

छोरो सुतिरहेको थियो । ऊ बिहान आठ बजे स्कुल जान्थ्यो । त्यसैले उसका लागि खाना र टिपिन तयार पारें । र, स्कुल पठाएँ । लाग्थ्यो– छोरालाई हिजोको कुरा केही याद छैन । मैले पनि उसलाई त्यो कुरा अनुभूति हुन दिएको थिइनँ।

जता गयो उतैबाट प्रश्न आउँथ्यो, ‘श्रीमान्लाई किन छोड्नुभयो ?’ यो प्रश्नले म हैरान हुन्थें । लाग्थ्यो– समाजले घाउमा मल्हम लगाउनुको साटो उल्टै किन समाजले नुनचुक छर्किन्छ ?
 

छोरालाई बसमा चढाएर घर फर्किएँ । घरमा मलाई भेट्न छिमेकी आउनुभएको थियो। उहाँलाई चिया पकाएर खुवाएँ । तर, अघिल्लो दिनको घटनाबारे केही पनि भनिनँ।त्यो घटनाले मलाई कमजोर बनाएको थियो । लाग्थ्यो– घरको हरेक कुनाले जिस्काइरहेको छ । तैपनि आफूलाई सम्हाल्दै थिएँ । जीवनका राम्रा कुरा मात्रै सोच्दै थिएँ । श्रीमानसँग बिताएका पलहरू झल्झली सम्झँदै थिएँ।

श्रीमानको याद आएपछि उहाँको मोबाइलमा फोन गरें । तर, उठेन । धेरै चोटी फोन गर्दा पनि कुराकानी हुन सकेन । अनि पसलबाट फोन गरें । उहाँले फोन उठाउनुभयो । र, भन्नुभयो– ‘अब हाम्रो सम्बन्ध हुन सक्दैन । तिमी मलाई पटकपटक फोन नगर । हाम्रो वैवाहिक जीवन यही सकियो।’

‘बिन्ती छ यसो नभन्नुस् । म हजुरबिना बाँच्न सक्दिनँ,’ म भक्कानिएँ । तर, उहाँले मेरो कुरा सुनेर पनि नसुनेझैं गर्नुभयो । म बोलिरहेको थिएँ । तर, उहाँले फोन राखिसक्नुभएको रहेछ । फोन राखेको ट्युन आएपछि मैले फोन राखें । र, घर फर्किएँ ।घरधन्दा बाँकी काम गर्न थालें । मेरो मन भने घरधन्दाभन्दा पनि उहाँकै सम्झनामा तड्पिरहेको थियो ।श्रीमानबिनाको जीवन कल्पना पनि गरेको थिइनँ । श्रीमानसँगै हुँदाको सुख–दुःख थाहा भएन । तर, आफूलाई एकदमै सुरक्षित ठानेको थिएँ।

मेरो मनमा श्रीमानले मलाई किन छाड्नुभएको भन्ने कुरा मात्रै खेल्थ्यो । मैले उहाँलाई के गर्न सकिनँ ? कहिले घरमा आउनुहुन्छ ? म आफैसँग यसको उत्तर खोजिरहेकी थिएँ।

म उहाँलाई घरमा फर्काएर सबै दुःख भुल्न चाहान्थें । हे भगवान ! म उहाँलाई कसरी घरमा ल्याऊ ? के गर्दा उहाँ घरमा आउनुहुन्छ ? मनमा यस्तै कुरा खेल्थें।

केही दिनपछि उहाँको एक जना साथी घरमा आउनुभयो । मैले उहाँप्रति साधारण व्यवहार देखाएर भने, ‘अहिले उहाँ दुई–चार दिनका लागि बाहिर जानुभएको छ, उहाँ आएपछि तपाईं भेट्न आउनुभएको भनिदिउँला ।’तर, उहाँले आफूलाई सबै कुरा थाहा भएको प्रतिक्रिया दिनुभयो । भन्नुभयो, ‘हामीलाई सबै कुरा थाहा छ, भाउजू । तर, उसले जे ग¥यो, राम्रो गरेन ।’ मैले स्पष्ट हुन खोजें, ‘के भन्नुभएको?’

‘अर्कै केटीसँग...गहिरो माया परेको रहेछ । अहिले उसँगै बसिरहेको छ । साथीभाइहरूसँग तर्केर हिँड्न थालेको छ,’ उहाँले बेलिविस्तार सुनाउनुभयो।  उहाँको कुरा सुनेर मेरा हातखुट्टा चिसो भए । मलाई गाह्रो महसुस भयो । त्यसपछि भुइँमा टुसुक्क बस्न खोज्दा बेहोस भएर लडेको रहेछु ।भोलिपल्ट बिहान उठ्दा छेउमा छिमेकी दिदी बसिरहनुभएको थियो । उहाँले मलाई अँगालो हाल्नुभयो । भन्नुभयो, ‘यति धेरै दुःख लुकाएर बसेकी रहेछौं।’  

त्यसपछि म भक्कानिएर रुन थालें । केही क्षणपछि मात्रै मन हल्का भयो । अनि सम्झिन थालें, ‘मप्रति उहाँको व्यवहार कहिलेबाट फरक भयो ?’उहाँले मलाई राम्रो देख्न छाडिसक्नुभएको थियो । उहाँको नजरमा म मोटी, नराम्री, कुरा गर्न र समाजमा उठबस गर्न नजान्ने भएकी थिए । मेरा हरेक कुरामा उहाँ नकारात्मक मात्रै देख्नुहुन्थ्यो।

उहाँ भने बढी समय बाहिर बिताउनुहुन्थ्यो । घरमा रहँदा पनि मोबाइल अनि म्यासेजमा व्यस्त हुनुहुन्थ्यो। तर, पनि म उहाँलाई कसरी खुसी पार्ने भनेर हरपल प्रयत्न गरिरहन्थें । म आफूलाई उहाँको सोचाइअनुसार बदल्ने प्रयास गरिरहेकी थिएँ । अफसोच ! उहाँको मन अरुसँगै बसेको रहेछ।

म अझै पनि उहाँको पर्खाइमा थिएँ । हरेक आवाज, खुसी र चहलपहलमा उहाँलाई नै खोज्थें।
मेरो घाउ बल्झिरहेको थियो । उहाँले सम्बन्धविच्छेद मुद्दा  दायर गर्नुभयो । तर, म यसविरुद्ध लडिरहें । अदालत गएँ, वकिलहरूलाई गुहारे । भएको पैसा सबै सकियो । अन्ततः सहमतिमा सम्बन्धविच्छेद गरें । र, जीवनको नयाँ पाटो सुरु भयो– एकल महिलाको।एकल महिलालाई समाजले पनि राम्रो दृष्टिले  हेर्दैनथ्यो । त्यसमा माइती र साथीभाइको व्यवहार पनि उस्तै हुन्थ्यो।

जता गयो उतैबाट प्रश्न आउँथ्यो, ‘श्रीमान्लाई किन छोड्नुभयो ?’ यो प्रश्नले म हैरान हुन्थें । लाग्थ्यो– समाजले घाउमा मल्हम लगाउनुको साटो उल्टै किन समाजले नुनचुक छर्किन्छ ?
आखिर मेरो के गल्ती थियो र ? के घर व्यवहार चलाएर बस्नु गल्ती हो ? उ ! कहिले बदलिन्छ  समाजको यो हेराइ ? मेरा मनमा यस्तै कुरा खेलिरहन्थे ।

समाजको व्यवहारले म वाक्कदिक्क हुन्थें । तर, पनि मैले हरेस खाइनँ । बरु, समाजमा जागरण ल्याउने अठोठ लिएँ । मेरोजस्तो दुःख अरु कसैले भोग्नु नपरोस् भन्ने म चाहान्थें । अर्काे कुरा मेरो जीवनप्रति छोराको भविष्य पनि जोडिएको थियो। त्यसैले यथार्थ स्वीकारेर अघि बढ्नुको मसँग विकल्पै थिएन।

त्यसपछि मैले आफ्नो नयाँ जीवन सुरु गरें । मेरो दैनिकी परिवर्तन भयो । अध्ययन थालें। समाजका नराम्रा पक्षहरूबारे लेखें । दुःख पाएका महिलालाई सरसल्लाह दिन थालें। महिलाको विकास र उनीहरूमा जागरण ल्याउन सक्रिय हुन थालें। र, अनि उनीहरूलाई अन्याय र अत्याचारविरुद्ध लड्न सिकाउन थालें।

अहिले भने मेरो परिवार ठूलो भएको छ । म आज सबैकी मायादिदी बनेकी छु । अन्याय र अत्याचार न आफू सहन्छु न त अरुलाई सहन दिन्छु।तालीको गडगडाहट अझै सकिएको थिएन । यतिकैमा म झसँग भएँ । स्टेजमा ‘ओमन अफ दि इयर माया शर्मा’ अनाउन्स भयो । सबैले मलाइ गर्वले हेरिरहेका थिए । म साडीको आँचल मिलाएर स्टेजतिर लागें। aakriti72@gmail.com

प्रकाशित: १ वैशाख २०७५ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App