coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

विशिष्ट साधना, कम मूल्यांकन

विगतमा नेपाली साहित्यमा केही यस्ता प्रतिभा देखापरे, जो बहुआयामिक थिए । तिनीहरू साहित्यका एक–दुई विधामा मात्र सीमित देखिएनन्, साहित्यबाहेक वाङ्मयका विभिन्न विषयमा समेत प्रतिभा देखाए।

माध्यमिक कालका युवाकवि मोतीराम भट्ट र आधुनिक कालका लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम त्यस्तै बृहत्तर प्रतिभा हुन् । तिनैमध्येका अर्का हुन्, हृदयचन्द्रसिंह प्रधान । उनी समालोचक, निबन्धकार, एकांकी नाटककार, उपन्यासकार, कथाकार, व्याकरणकार र साहित्यिक पत्रकार पनि हुन्।

तर, नेपाली साहित्यमा उनको उचित मूल्यांकन हुन सकेको छैन। न उनलाई सम्झिने कुनै उल्लेख्य प्रतीकहरू हामीसँग छन् । अतः राज्यका निकाय र यहाँका साहित्यिक संस्थाहरूले उनलाई चिनाउने महत्वपूर्ण कार्य गर्नु आवश्यक छ । र, साहित्यिक जगतले उनको साहित्यिक व्यक्तित्व र योगदानको पुनर्मूल्यांकन गर्नु पनि आवश्यक छ । यही विचारबाट उत्प्रेरित भई लेखिएको यस लेखमा उनै बहुआयामिक व्यक्तित्व प्रधानबारे अति संक्षिप्त परिचय दिने प्रयास गरिएको छ।

मोतीराम भट्टले ‘भानुभक्तको जीवनचरित्र’ शीर्षकमा जीवनीपरक समालोचना लेखेपछिको लामो समय नेपाली साहित्यमा समालोचना लेखन खाली नै रह्यो– रामकृष्ण शर्माको उदय नभएसम्म । त्यसपछि रामकृष्ण शर्मा र यदुनाथ खनालले साहित्यमा वैचारिकताको महत्वबारे बौद्धिक प्रक्षेपण गरे।

यी दुई समालोचकले नेपाली साहित्यिक समालोचनालाई बौद्धिक उचाइ प्रदान गरे । तर, त्यस समयसम्म पनि साहित्यिक विधागत समालोचना देखापरेको थिएन । यस्तैमा सूर्यविक्रम ज्ञवालीले नेपाली कथाका आधुनिक प्रतिभा गुरुप्रसाद मैनाली, बालकृष्णशमशेर, पुष्करशमशेर र विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूको संग्रह ‘कथाकुसुम’को भूमिकाका माध्यमबाट आधुनिक नेपाली कथा साहित्यको प्रारम्भिक स्थितिबारे गहन समालोचना प्रस्तुत गरे । नेपाली समालोचनामा विधागत दृष्टिले गरिएको उक्त समालोचना नै पहिलो थियो।

साहित्यका कविता, निबन्ध, कथा, उपन्यास र नाटक पाँच विधाहरूमा समालोचना गर्ने परिपाटी आधुनिक नेपाली साहित्यको ‘शारदा’ (१९९१) कालदेखि नै हुँदै आएको हो। २००२ सालमा हृदयचन्दसिंह प्रधानको समालोचनात्मक कृति ‘केही नेपाली नाटक’ प्रकाशित भयो। यो नै नेपाली साहित्यको नाटक विधामाथि गरिएको पहिलो समालोचना थियो । यसैबाट प्रधानको समालोचकीय व्यक्तित्व निर्माणको ढोका खुलेको देखिन्छ।

प्रधान नेपाली नाट्य समालोचक मात्र नभएर स्वयम् नाटककार पनि हुन् । २००१ सालमा ‘छेउ लागेर’ एकांकी लेखेपछि उनी नाटककारका रूपमा चिनिए । त्यसपछि उनले नाटककार बालकृष्ण समको ‘मुटुको व्यथा’,  ‘ध्रुव’, ‘मुकुन्द इन्दिरा’, ‘प्रह्लाद’ र अन्धवेगको गहन अध्ययन गरे । परिणामतः उनको ‘केही नेपाली नाटक’ समालोचनात्मक ग्रन्थ प्रकाशित भयो । यस कृतिमा बालकृष्ण समका पूर्वोक्त नाटकहरूको चिन्तन–मन्थन गरेको पाइन्छ।

प्रधानले आफ्ना समकालीन नाटककारहरू बालकृष्ण सम, भीमनिधि तिवारी आदिका नाट्यकृतिको समीक्षा लेखेर आफूलाई प्रथम नेपाली नाट्य समालोचकको रूपमा उभ्याए । र, नेपाली एकांकी नाट्य सिर्जनामा समेत सक्रिय रहे । उनको पहिलो नेपाली एकांकी ‘छेउ लागेर’ (२००१) हो । त्यसपछि उनले ‘गंगालालको चिता’ (२०११), ‘कीर्तिपुरको युद्धमा’ (२०१६) र ‘उनी देवता हुन्’ (२०१५) एकांकी संग्रह प्रकाशित गरे।

नेपाली एकांकी नाटककारहरू भीमनिधि तिवारी, पुष्करशमशेर, बालकृष्ण सम आदिका समकक्षमा उभिएका प्रधान संख्यात्मक र गुणात्मक दुवै दृष्टिले नेपाली साहित्यमा अग्रणी स्थानमा छन् । बालकृष्ण समको ‘प्रेम’ (१९९०) र ‘बोक्सी’ (१९९९) भीमनिधि तिवारी को ‘काशीवास’ (१९९८), पुष्कर शमशेरको ‘लक्ष्यहिन’ (१९९९) आदि एकांकी सिर्जनाले कोरेको गोरेटोमा अगाडि बढेका प्रधान आफ्नो साहित्य यात्राका पछिल्ला दिनसम्म नै एकांकी रचनामा प्रवृत बनिरहे । संख्यात्मक दृष्टिले हेर्ने हो भने पनि उनी नेपाली एकांकी नाट्य सिर्जनामा अग्रपंक्तिमा देखा पर्छन्।

प्रधान नेपाली साहित्यको निबन्ध रचनामा उल्लेखनीय प्रतिभाको नाम हो । उनले २००३ सालमा ‘भूस्वर्ग’ निबन्धमार्फत निबन्ध यात्रा थालेका हुन् । त्यसयता उनका ‘कुरा साँचो हो’ (२०११), ‘तीस रूपैयाँको नोट’ (२००४) ‘जुँगा’ (२००९) र ‘अफसोस’ (२०२१) निबन्ध संग्रह प्रकाशित भइसकेका छन्।

माध्यमिक कालका युवाकवि मोतीराम भट्ट र आधुनिक कालका लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम बृहत्तर प्रतिभा हुन् । तिनैमध्येका अर्का प्रतिभा हुन्, हृदयचन्द्रसिंह प्रधान । उनी समालोचक, निबन्धकार, एकांकी नाटककार, उपन्यासकार, कथाकार, व्याकरणकार र साहित्यिक पत्रकार पनि हुन् । तर, नेपाली साहित्यमा उनको उचित मूल्यांकन हुन सकेको छैन।

नेपाली निबन्धका अग्रज स्रष्टाहरू लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले स्थापित गरेको परम्पराभन्दा केही भिन्न रही नेपाली निबन्धलाई गतिशील बनाउन उनको विशिष्ट योगदान छ । उनी सामाजिक जीवनका ‘झिना–मसिना’ विषयहरूमा निबन्ध रचना गर्छन् । उनको विचारमा ‘फासफुसे’ विषयमा लेखिएका निबन्धमा लेखकको आत्मानुभूति, ठट्यौलीपन, मार्मिकता, व्यंग्य, भावनाको जगमा कुनै मौलिक चिन्तन, दृष्टिकोण वा विचार र सत्य आविर्भूत भइरहेको हुन्छ।

प्रधानका निबन्धका विषय अरुको दृष्टिमा नपरेका अति सामान्य हुन्छन् । तर, ती निबन्धहरूद्वारा उनले सामाजिक अन्धविश्वास, कुरीति, आदिप्रति व्यंग्य गर्नुका साथै सामाजिक चेतनालाई प्रवाहित गरेका छन् । उनी ठट्टैठट्टामा मार्मिक अनुभूति व्यक्त गर्ने र सामाजिक विचार वा दृष्ट्रिकोण दिने कुरामा सचेत छन्, आफ्ना निबन्धहरूमार्फत् । वास्तवमा उनलाई नेपाली प्रगतिशील निबन्धका अग्रणी स्रष्टा भने हुन्छ । उनको त्यसै धारलाई पछ्याएका छन्, निबन्धकार श्यामप्रसाद शर्माले।

‘केही नेपाली नाटक’ (२००२) बाट समालोचनाको यात्रा सुरु गरे पनि प्रधानको समालोचनकारिताले पछिसम्म पनि गति लिइरह्यो । उनका ‘साहित्य र दृष्टिकोण’ (२००४) ‘भानुभक्त एक समीक्षा’ (२०१३) र ‘नेपाली साहित्य र उसका प्रतिनिधि कवि’ समालोचन विधाका गहिकिला कृति हुन् । उनको समालोचकीय गुण भन्नु कुनै साहित्यिक कृति वा कृतिकारका गुण–दोषलाई पर्गेल्ने वस्तुनिष्ट विचारपद्धति वा चिन्तन हो ।

त्यस प्रकारको चिन्तनमा रहने मौलिकता उनको विशेषता हो । उनको समालोचकीय गन्तव्य पूर्वी (संस्कृत) र पाश्चात्य दुवै साहित्य सिद्धान्तका आधारमा साहित्यिक गुण–दोष केलाउन प्रवृत्त पाइन्छ । उनी नेपाली साहित्यमा पाइने पूर्वीय (संस्कृत) चिन्तन परम्पराप्रति कति सचेत थिए भन्ने तथ्य उनको निम्न कथनले पुष्टि गर्छ।

‘यदि हिन्दू लोकमा रामायण र महाभारत महाकाव्यको सृष्टि नभएको भए वेद, उपनिषद, पुराण आदि महान, काव्य धर्म र साहित्यको भकारी नै भएता पनि भारत यत्तिको संस्कृत वा सभ्य हुदैनथ्यो,’ ‘केही नेपाली नाटक’ (३९४)।

प्रधानको उपर्युक्त कथन आफ्ना समकालीन नाट्य स्रष्टा बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’ नाटकको समीक्षाका क्रममा व्यक्त भएको पाइन्छ । यहाँ उनले नाटककी नायिका इन्दिराको आदर्श गुणको सक्दो प्रशंसा गरेका छन् । र, भारतीय आर्यसभ्यताको खुलेर बखान गरेका छन् । तापनि यथास्थानमा समका नाटकमा पाइने कमजोरीहरूको शिष्ट आलोचना पनि गरेका छन् । उनको यसप्रकारको समलोचकीय गुण उनका अन्य समालोचकीय कृतिमा पनि पाइन्छ । साहित्य र जीवनलाई गहन अध्ययन गर्ने उनले नेपाली समालोचनामा नमेटिने छाप छोडेका छन्।

‘स्वास्नीमान्छे’ (उपन्यास २०११) र ‘एक चिहान‘ ( उपन्यास २०१७ ) मा आइपुग्दा प्रधानले एकांकी, निबन्ध, कथा समालोचना आदि विधामा ठूलो फड्को मारिसकेका थिए । र, नेपाली साहित्यमा संख्यात्मक र गुणात्मक दुवै प्रकारले उत्कृष्ट योगदान दिइसकेका थिए । माथि उल्लिखित दुई उपन्यासले आधुनिक नेपाली उपन्यासकारका पंक्तिमा उनको नाम जोडिन आइपुग्यो।

काठमाडौंको सामाजिक जनजीवनमा आधारित यी दुई उपन्यास नेपाली औपन्यासिक विधामा समसामायिक आधुनिक चेतना र जागरणका दृष्टिबाट समेत उच्च मानिएका छन् । सामाजिक जीवनका निम्नस्तरीय पात्रहरू समावेश गरिएका उनका उपन्यासहरू यी पात्रका माध्यमबाट सामाजिक विसंगतीको उदघाटनका साथै नैतिकता र सुधारात्मक सन्देश प्रवाहित गर्न प्रवृत्त छन्।

कथाकारका रूपमा हृदयचन्द्रसिंहको अभ्युदय उनको ‘उसको आँसु’ कथा संग्रह (२०१२) बाट भएको हो । यद्यपि यस संग्रहबाहेकका कतिपय कथा त्यस बेलाका समसामयिक साहित्यिक प्रकाशनमा प्रकाशित भएको पाइन्छ । तापनि उनी उपर्युक्त कथा संग्रहमार्फत नै नेपाली आधुनिक कथाकारका रूपमा चिनिएका हुन्।नेपाली साहित्यकारहरूमा साहित्यिक रचनाका अतिरिक्त नेपाली भाषा व्याकरणका कृतिहरूको रचना गर्ने अग्रज लेखकहरूमा जयपृथ्वीबहादुर सिंह, पुष्करशम्शेर, गोपाल पाँडे आदिको नाम लिन सकिन्छ।

र, त्यही परम्परामा हृदयचन्द्रसिंह पनि देखा पर्छन् । आफ्नो जीवनकालमा विद्यालयका अतिरिक्त दैनिकरूपमा ट्युसन पढाउँदा उनलाई नेपाली भाषा व्याकरणका साथै नेवारी भाषाको शब्दशुद्धि ज्ञानसम्बन्धी व्याकरण लेख्ने उत्प्रेरणा प्राप्त भयो। र, उनले ‘शब्दशुद्धिविज्ञान’, ‘शिशु शिक्षण कला’, ‘चिन्ह परिचय’, ‘शब्दशुद्धिया ताचाः’, ‘शब्द शुद्धिको पूँजी’ लगायत पुस्तक प्रकाशित गरे । उनी नेपाली भाषा शिक्षणमा देखिएका शुद्धाशुद्धि समस्याप्रति जति सचेत थिए, त्यति नै आफ्नो मातृभाषा (नेवारी)को शुद्ध लेखनमा चासो राख्थे भन्ने जानकारी उनका रचनामा पाइन्छ।

साहित्यसँगै प्रधानलाई चिनाउने अर्काे पाटो पनि छ– साहित्यिक पत्रकारिताको । साहित्यका अनेकौं विधामा कलम चलाएर पनि साहित्यिक पत्रकारिताको समृद्धिमा योगदान दिने माध्यमिककालीन युवाकवि मोतीराम भट्टकै परम्परामा हृदयचन्द्रसिंह प्रधानको नाम पनि जोडिन आउँछ । उनले आफ्नो जीवनकालमा ‘साहित्यस्रोत’, ‘जागरण’, ‘जनचेतना’ आदि पत्रिकामा सम्पादन गरे।

यसले उनलाई समर्थवान् साहित्यिक पत्रकारको रूपमा चिनायो।उनी सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, ऋद्धिबहादुर मल्ल, कृष्णचन्द्रसिंह प्रधान, गोविन्दबहादुर गोठाले, रत्नध्वज जोशी, विजय मल्ल, सत्यमोहन जोशी आदि नेवारी मातृभाषी समवयस्क ती साहित्यिक प्रतिभाहरूका पंक्तिमा देखापर्छन्, जसले आफ्नो मातृभाषा (नेवारी)प्रति आत्मीयता राखेर पनि नेपाली भाषा साहित्यको अभिवृद्धिमा विशिष्ट योगदान दिएका छन् । प्रधानको उपर्युक्त बहुआयामिक व्यतित्व नेपाली भाषा साहित्यका स्रष्टा, साधक र आस्थावानहरूका निम्ति प्रेरणा बनेको छ।

प्रकाशित: १ वैशाख २०७५ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App