coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समृद्धिको मुख्य कडी शिक्षाः मुख्यमन्त्री पौडेल

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि प्रभावकारी कार्यक्रम ल्याउने बताएका छन्। शिक्षाका माध्यमबाटै समृद्धि हासिल हुने भएकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी सञ्चालन गर्न प्रदेश सरकार लागि परेको उनले बताए।

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी उनले वैशाखबाट सुरु हुने भर्ना अभियानलाई सफल बनाउनको लागि प्रदेशका सबै जनप्रतिनिधिहरूलाई निर्देशन समेत दिए।

प्रत्येक जननिर्वाचित प्रतिनिधिहरूले कम्तीमा आर्थिक अवस्था कमजोर भएका एकजना विद्यालय जाने उमेरका बालबालिकालाई अभिभावक भएर भर्ना गर्न आग्रह समेत गरे।

जनप्रतिनिधिले नै पहल गरेदेखि विद्यालय जानेको संख्यामा निकै वृद्धी हुने बताउँदै उनले जिम्मा लिएको बालबालिकाको भर्नादेखि सबै खर्च जनप्रतिनिधिले व्यहोर्नुपर्ने समेत बताए। ‘जनप्रतिनिधिले भर्ना गर्ने बालबालिका दलित, सीमान्तकृत, जनजाति, पिछडिएका परिवारको हुनुपर्छ,’ उनले भने ‘भर्ना गरेर छाड्ने होइन, ५ वर्षसम्म अभिभाकत्व स्वीकारेर शिक्षाका लागि सबै  खर्च व्यहोर्नुपर्छ ।’

शिक्षाबाट वञ्चित बालबालिका रहुञ्जेल समृद्ध नेपाल, सुखी नेपाली नहुने भएकाले प्रदेश ३ का १ सय १९ वटै स्थानीय तहमा पुग्ने गरी १३ जिल्ला समन्वय समिति मार्फत् पत्राचार गरेको मुख्यमन्त्री पौडेलले बताए। बैशाखको पहिलो हप्ताभित्र जनप्रतिनिधिले अभिभाकत्व स्वीकार गरेर भर्ना गरेको सूचना प्रदेश सरकारलाई पठाउन निर्देशन समेत दिएको उनले बताए।

२०७४ साल निर्वाचनको वर्ष भएको भन्दै उनले निर्वाचित संस्थाहरूलाई संस्थागत गर्ने कार्य नयाँ वर्ष २०७५ मा गर्ने बताए। नयाँ संरचना भएकाले सञ्चालनमा कठिनाई रहेको बताउँदै उनले नेपाली जनताले खोजेको समद्धिको दिशातर्फ अघि बढ्ने बताए।

संघीय(केन्द्रीय) सरकारको विद्यालय भर्ना अभियानमा सफल बनाउन प्रदेश सरकार गम्भीर भएको बताउँदै उनले आफू पनि विद्यार्थी खोज्न पश्चिम मकवानपुरतर्फ गएको बताए।

सामुदायिक र निजी विद्यालयबीचको अन्तरलाई घटाउँदै सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउने योजनाहरू सरकारको नीति र कार्यक्रममा ल्याउने बताए। प्रदेश सरकारको नीति तथा कार्यक्रममा नयाँ कुरा ल्याउने बताउँदै त्यसले सामुदायिक विद्यालयको स्तर उकास्न ठूलो बल पुग्ने दाबी गरे।

प्रकाशित: ३० चैत्र २०७४ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App