coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एमाले सचिव भट्टराई नेतृत्वको टोली ताप्लेजुङकाे पाथिभरामा

अन्तरक्रिया कार्यक्रममा सहभागी एमाले सचिव तथा सांसद योगेशकुमार भट्टराई सहित अन्य। तस्बिरः खगेन्द्र/नागरिक

ताप्लेजुङ – धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पाथिभराको महत्व थप जागृत गराउन ताप्लेजुङ सरोकार केन्द्र काठमाडाैंको ५७ सदस्यीय टोलीले २०७५ सालको नयाँ वर्ष ३ हजार ७ सय ९४ मिटर उचाईको पाथिभरामा मनाउने भएको छ।

ताप्लेजुङ सरोकार केन्द्र ताप्लेजुङ जन्मघर भई पेशा–व्यवसायको सिलसिलामा राजधानी पुगेकाहरूको छाता संस्था हो।

यहाँबाट निर्वाचित एमाले सचिव एवं सांसद योगेशकुमार भट्टराई नेतृत्वको टोली शुक्रबार अपरान्ह पाथिभरा मन्दिर तर्फ प्रस्थान गरेको छ। सांसद भट्टराई सरोकार केन्द्रका संस्थापक महासचिव समेत हुन्। आयोजक संस्थाका उपाध्यक्ष चित्रगुप्त साँवाका अनुसार टोलीमा पर्यटन व्यवसायी, वैदेशिक रोजगार व्यवसायी,सञ्चारकर्मी, नागरिक समाजका अगुवा, राजनीतिककर्मी र सरोकार केन्द्रमा आवद्ध पुरुष तथा महिला गरी ५७ जना सहभागी छन्।

तिनजुरे–गुफा–पाथिभरा पदयात्रा महोत्सव नाम दिइएको यो अभियानमा संलग्नहरूले २०७५ सालको नयाँ वर्ष पाथिभराको मन्दिरमा मनाउने भएका हुन्। साँवाका अनुसार भिन्न–भिन्न क्षेत्रको सहभागितामा नयाँ वर्षको पहिलो दिनबाटै पाथिभरा मन्दिरको महिमा र गरिमाको थप प्रचार गर्ने अभियानका साथ नयाँ वर्षको पहिलो दिन ताप्लेजुङको पर्यटन विकासमा पाथिभरा विषयक कार्यक्रम समेत मन्दिर चुलीमै गर्न लागिएको छ।

चैत २७ गते काठमाडौंबाट सुरु भएको पदयात्रा धरान–भेडेटार–टुटे देउराली हुँदै तिनजुरे–चौकी–गुफापोखरी, मिल्के–मैवाखोला–ताप्लेजुङ बजार हुदै पाथिभरा चुली सम्म चल्ने छ। पाथिभरा चुलीबाट फर्कदा पाँचथरको हिलिहाङ–सिलौटे–पौवा भञ्ज्याङ र ईलामको कन्याम–श्रीअन्तु हुँदै काठमाडौ सम्मको पदयात्रा तय भएको साँवाले जानकारी दिए।

पाथिभराको प्रचारलाई स्थानीय–प्रदेश र राष्ट्रिय तहको बनाई यसको अलौकिक शक्ति र पाथिभरा क्षेत्रबाट अवलोकन गर्न सकिने प्राकृतिक तथा जैविक सम्पतिबारेको प्रचार थप गर्वीलो बनाउन पदयात्रा अभियानको आयोजना भएको सांसद भट्टराईले जानकारी दिए। उनका अनुसार पाथिभरा डाँडाबाट देखिने दृश्यावलीले बनाउने आश्चर्यता र स्वर्गीय अनुभूतीबारे विभिन्न क्षेत्रका व्यक्तित्वबाट थप प्रचार होस् भन्ने भावना विस्तार गर्न पदयात्रा अभियानलाई महत्व दिइएको हो।

‘कम्तिमा पाथिभरा क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहभागिताका लागि नयाँ सालबाटै कार्य थालनीको प्रण होस् भन्ने भावनाले नयाँ साल मन्दिरमै पुगेर मनाउने निधो भएको हो’ पदयात्रा सुरुहुनु अघि सदरमुकाम फुङलिङमा आयोजित ताप्लेजुङको पर्यटन विकासका सम्भावना र चुनौती विषयक कार्यक्रममा बोल्दै भट्टराईले भने। उनले जैविक र प्राकृतिक महत्वले भरिएको ताप्लेजुङलाई पर्यटन मार्फत विकासको मार्गमा डोर्याउन यस्ता अभियान सहयोगी बन्ने पनि बताए।

पाथिभरा क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन उनले यसअघि ५ हजार पाथिभरा सद्भावनादुत बनाई प्रत्येक दुत मार्फत कम्तिमा प्रतिवर्ष २० जनालाई पाथिभरा मन्दिर पुग्ने वातावरणका निमार्णको योजना अघि सारेका छन्।

अहिले कच्ची यातायात मार्ग सञ्चालन भइरहेको काफ्लेपाटीबाट पाथिभरा मन्दिर सम्म पुग्ने गरी केबुलकार निमार्णको अभियानलाई गति दिने र पाथीभरा मन्दिर क्षेत्र पाथिभरा क्षेत्रका बासिन्दालाई लक्षित गरी खानेपानीको व्यवस्थापन गर्ने कार्य समेत भट्टराईकै अग्रसरतामा बढी रहेका छन्। कम्तिमा बढीमा १५ करोड लगानी गरी मन्दिर र पाथीभरा क्षेत्रका बासिन्दालाई पर्याप्त हुनेगरी पानीको व्यवस्थापनका लागि खानेपानी बिभागले बिस्तृत अध्यनको थालनी गरेको छ।

ताप्लेजुङलाई हिमालहरूको शिखरपुञ्जको जिल्ला भनेर पनि चिनिन्छ। कञ्चजंघा हिमाल देखि कुम्भकर्ण, मानाभरा जस्ता चुचुराहरु प्रशस्तै छन् भने जैविक सम्पदाको खानी भनेर यो जिल्लालाई लिने गरिएको छ। छाँगा, झरना, ताल–तलैया,दुलर्भ वन्यजन्तु तथा वनस्पति र धार्मिक महत्वका प्राचिन गुम्बा तथा मठ–मन्दिरहरूको छत्रछायाँका साथमा जलस्रोतको बलियो सम्भावना रहेको ताप्लेजुङलाई प्रर्यटन प्रर्वद्धनका लागि देशकै अब्बल मानिने सांसद भट्टराईले बताए।

प्रकाशित: ३० चैत्र २०७४ ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App