coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

गुप्तचरको गुँड

अरब तथा प्यालेस्टिनीहरूको लगातारको हमला र संघर्षलाई परास्त गर्दै सन् १९४८ मा यहुदी धर्मावलम्वीहरूले छुट्टै राष्ट्र निर्माण गरे– इजरायल। राष्ट्र बचाउन हजारौँले प्राणोत्सर्ग गरे तर अनन्तकालसम्म आफ्नो माटो सुरक्षित रहन्छ भन्ने कुरामा इजरायलीहरू आज पनि ढुक्क छैनन्। सन् १९९७ मा प्रकाशित ‘रिलिजन, डेमोक्रेसी एन्ड इजरायली सोसाइटी’ पुस्तकमा चाल्र्स एस. लिबम्यानले चिन्ता व्यक्त गरेका छन्– ‘यहुदी संस्कृतिको संरक्षण गर्दै यहुदीले प्यालेस्टिनी र अरबबाट पृथक देखिएर जातीय र धार्मिक पहिचान जोगाउन सजिलो छैन।’ उनको तर्क छ– राष्ट्रको छुट्टै पहिचान भनेकै धर्म–संस्कृति, राष्ट्रिय र सामाजिक चरित्र तथा राष्ट्रप्रतिको समर्पण नै हो।

अमेरिका जस्तो अत्यन्त सवल राष्ट्रले पनि कडा कानुन बनाएर देशभक्तिको भावना अभिवृद्धि गर्न र देशघातीलाई नियन्त्रण गर्न सन् २००१ को अक्टोबर २६ तारिखमा युएसए प्याट्रियट ल (अमेरिका देशभक्त कानुन) पारित ग-यो। राष्ट्रघातीलाई मानव अधिकार र स्वतन्त्रता नहुने कुरा त्यसमा स्पष्ट छ। नेपाल टुक्र्याउँछौँ भन्नेहरूलाई मानव अधिकारको सुरक्षा कवच लगाइदिने राष्ट्रघातका मतियारहरूले त्यस्ता कानुन अध्ययन गरेकै होलान्।

सन् २०११ को सेप्टेम्बर ११ तारिखको घटनापछि राष्ट्रपति जर्ज बुसले सो कानुन पारित गराएका हुन्। यस्तै राष्ट्रहितविरुद्ध गतिविधि गरेको भन्दै पाकिस्तानले वल्र्ड भिजन, अक्सफाम, नर्वेजियन रिफ्युजी काउन्सिल, क्याथोलिक रिलिफ सर्भिसेजलगायतका पन्ध्रवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई दर्ता गर्न दिएन। रसियाले ‘फरेन एजेन्ट ल’ मार्फत विदेशी दातृ निकाय र संस्थाहरूको निगरानी गरिरहेको छ। भारतमा बीस हजारभन्दा धेरै रहस्यमय एनजिओमाथि प्रतिबन्ध लगाइएको सञ्चारमाध्यमहरूमा आएको छ। यस्तै नयाँ संस्था दर्ता गर्न कडिकडाउ गरिएको छ।

विदेशी गुप्तचरका  गुँडहरू नभत्काउने हो भने राष्ट्रको अस्तित्व केही वर्षमै समाप्त हुने सम्भावना देखिन्छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्य–उपदेशले राष्ट्रको सुरक्षा कसरी गर्नुपर्छ भन्ने पाठ सिकाएको भए पनि त्यसको अनुशीलन र अध्ययन नहुँदा राष्ट्र हाँक्नेहरू नै अन्योलमा परेका छन्। उनले गोरखाको सट्टा काठमाडौँलाई नै राजधानी बनाएर बस्ने इच्छा व्यक्त गरेको हुँदा यो प्राचीन सहरको रक्षाका लागि शिवपुरी, फूलचोकी, महादेवपोखरी र चन्द्रागिरीमा दुर्ग (किल्ला) बनाउने र थानकोटको उत्तरमा अवस्थित दहचोकमा दरवार निर्माण गरेर कडा निगरानी गर्ने योजना बनाएका थिए। आज काठमाडौँका अग्ला डाँडाहरू ‘रहस्यमय’ बन्दै गएका छन्। कतिपय ‘धार्मिक’ देखिने ठूला घर र देवालयभित्र विदेशी गुप्तचरका गुँडहरू भएका खबर आइरहेका छन्। सहरभित्रका कतिपय दूतावास पनि ‘भूत–आवास’ बन्दै गएका छन्।

बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृत्तान्त’, ढुण्डीराज भण्डारीको ‘नेपालको ऐतिहासिक विवेचना’, योगी नरहरिनाथको ‘दिव्य उपदेश’, बालचन्द्र शर्माको ‘नेपालको ऐतिहसिक रूपरेखा’ तथा डिल्लीरमण रेग्मी र सूर्यविक्रम ज्ञवालीका विभिन्न ऐतिहासिक ग्रन्थमा पृथ्वीनारायण शाह धर्म–संस्कृतिका मर्मज्ञ, खानी, उद्योग, व्यापार आदिको महत्व बुझेका प्रवल देशभक्त शासक, प्रजापालक, प्रजातन्त्रप्रेमी, मितव्ययी, प्रखर कूटनीतिज्ञ, राष्ट्रिय सुरक्षाका सिद्धान्तकार, सैन्य संगठनका ज्ञाता, प्रशासनविद् र सफल तथा कुशल राजनेता भएको उल्लेख छ। नयराज पन्त, महेशराज पन्त, दिनेशराज पन्त आदिले मात्र होइन, प्रा. जगमान गुरुङ र डा. रमेश ढुंगेललगायतले पृथ्वीनारायण शाहमा महान् शासकका सबै गुण भएको चर्चा गरेका छन्। मुसलमान, हिन्दु र बौद्धधर्मका अनुयायीहरू समावेश गरिएको पृथ्वीनारायणको सेनामा विभिन्न जातका मानिसलाई ‘योग्यं योग्याय दातव्यम्’ भन्ने सिद्धान्तका आधारमा जिम्मेवारी दिइएको पाइन्छ।

एल.एफ. स्टिलरले ‘पृथ्वीनारायण शाह इन द लाइट अफ दिव्य–उपदेश’ लेखे। नेपालका प्राचीन धर्म–संस्कृति जरैसँग मास्न चाहने इसाईहरूलाई देश निकाला गर्ने साहसी राजा पृथ्वीनारायणका बारेमा ती इसाई लेखकले कर्कप्याट्रिक, ह्यामिल्टन, ओल्डफिल्ड आदिले झैँ उत्ताउला कुरा लेखेनन्। २०२४ सालतिर प्रकाशित सो सानो पुस्तक (पुस्तिका?) डा. हितनारायण झा, तुलसीराम वैद्य आदि विद्वान्को राय–सल्लाह र सुझावअनुसार तयार पारिएको कुरा भूमिकामा उल्लेख छ। २०१६ सालमा योगी नरहरिनाथद्वारा सम्पादित दिव्य–उपदेश उनको अनुसन्धानको मूल स्रोत सामग्री रहेको पाइन्छ। स्टिलरले पृथ्वीनारायणको खुलेर प्रशंसा गरेका छन्।

श्रीकृष्णले दुष्ट चरित्रका आफ्नै मामा कंसको हंस उडाएझैँ समयमै राष्ट्रघाती भाइरसहरूको निर्ममतापूर्वक दमन गरिएन भने उनीहरूले राष्ट्रिय स्वतन्त्रता नै आर्यघाट पु-याउन सक्छन्।

२०४५/४६ सालसम्म पनि त्रिभुवन विश्वविद्यालयमा राजनीतिको प्रदूषण व्याप्त भइसकेको थिएन। तर त्यसपछि विद्वान्–विदुषी बन्न चाहनेभन्दा पनि राजनीतिक ‘कार्यकर्ता’ बन्ने प्रतिस्पर्धा सुरु भयो। ढुंगा हान्ने, जुलुसमा कुद्ने र जिन्दावाद–मूर्दावाद भन्न पाउँदा गर्वोन्मक्त हुने ‘प्राध्यापक’ थपिँदै गए। ज्ञान–मन्दिरले नै पहिचान गुमाउँदै गयो। पच्चीस–तीस वर्ष पहिलेसम्म सांसद, मन्त्री, प्राध्यापक, लेखक, अन्वेषक वा प्राज्ञ भन्ने शब्द ओजस्वी र गरिमामय थियो। अचेल कुन पार्टीको मान्छे भनेर सोधिन्छ।

विदेशी गुप्तचरका गुँडहरू नभत्काउने हो भने राष्ट्रको अस्तित्व केही वर्षमै समाप्त हुने सम्भावना देखिन्छ। कैयन् एनजिओ/आइएनजिओ, दान–दातव्यको बहानामा देशका कुनाकुना चाहार्ने विदेशी र उनीहरूका नेपाली भरियाहरू, ‘सूचनाको हक’ भन्दै विदेशीलाई गुप्त सूचना भेला पारिदिनेहरू, धर्म परिवर्तन गराउँदै हिँड्नेहरू र उच्च पदमा बसेर अरुकै लागि काम गर्नेहरूलाई सरकारले चिन्न सकिरहेको छैन। श्रीकृष्णले दुष्ट चरित्रका आफ्नै मामा कंसको हंस उडाएझैँ समयमै राष्ट्रघाती भाइरसहरूको निर्ममतापूर्वक दमन गरिएन भने उनीहरूले राष्ट्रिय स्वतन्त्रता नै आर्यघाट पु-याउन सक्छन्।

सचेतहरूमा मात्र हुन्छ, राष्ट्र बचाउने चिन्ता। आफू र आफ्नो परिवारको मात्र सुख खोज्नेहरू पशुवत् मर्छन्। छरछिमेकबाहेक अलि परको मान्छेले पनि त्यस्तालाई चिन्दैनन्। जंगी, निजामती, प्रहरी, राजनीतिक वा कूटनीतिक नियुक्ति पाएर तलव भत्ता खानेमध्ये धेरैजसो ‘पदेन देशभक्त’ मात्र हुन्। उनीहरू पदमुक्त भएपछि देश बिर्सिने अल्जाइमरका रोगी हुन्। देशको माया गर्न कुनै पद चाहिँदैन। अग्लो कद पनि चाहिँदैन। इमानदारी, स्वाभिमान र प्रवल इच्छाशक्ति भए पुग्छ। मातृभूमिप्रति माया भए पुग्छ।

वि.सं. १९९० पछि गोपालप्रसाद रिमाल, दमनराज तुलाधर, तीर्थराज तुलाधर, गोपालदास श्रेष्ठ, विजय मल्ल, कृष्णप्रसाद रिमाल आदि युवाले पशुपतिनाथ, गुह्येश्वरी, शोभा भगवती जस्ता मन्दिरमा भेला भएर भजन गाउने गर्थे। बीचबीचमा राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत गाउँथे, राणा शासनविरुद्ध। गोपालप्रसादले लेखेको एउटा गीत कालजयी भयो– ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो, ज्यूँदो रगत सरी यो बल्दो यो शान हाम्रो। हिमाल झैँ अटल यो, झुकेन यो कहिल्यै, लत्रेन यो कहिल्यै, जंगी निशान हाम्रो। यो जन्मदै जगत्मा, कैयौँ प्रहार आए, साम्राज्य दुई हारे, हारेन शान हाम्रो। जबसम्म चन्द्रसूर्जे आकाशमा रहन्छन्, तबसम्म हुन्छ आफ्नै रातो रगत हाम्रो। गाई सरी छन् साधु जो जो यहाँ जगतमा सबको शरन बलियो जंगी निशान हाम्रो।’

‘यस्ता गीतहरू सुन्दा युवाको रगत उम्लेर आउँथ्यो। नसा/नसामा रक्तसञ्चार हुन्थ्यो। राष्ट्र बचाउनुपर्छ र मातृभूमिलाई हँसाउनुपर्छ भन्ने दुर्दमनीय चेत खुलेर आउँथ्यो। हामी तन्मयपूर्वक गीत गाउँथ्यौँ। राष्ट्रको जागरणका लागि...।’ गोपालप्रसाद रिमालका एकजना मित्रले सुनाएका थिए।

राष्ट्रियता र प्रजातन्त्र सुदृढीकरणका निम्ति मेचीदेखि महाकालीसम्मका हजारौँ युवा जागे। ‘जेलमा बीस वर्ष’ पुस्तकका लेखक पुराना राजनीतिज्ञ खड्गमान सिंहले नक्सालस्थित उनकै निवासमा यो पंक्तिकारलाई राणा शासनविरुद्ध भएका क्रान्तिको कथा सुनाएका थिए भने राजा त्रिभुवनका ड्राइभर मरीचमान नकर्मीले ठँहिटीस्थित निवासमा मुन्चा हाउस (जुद्ध सडक) बाट राजा त्रिभुवनलाई दालमोठको प्याकेटमा लुकाएर पुस्तक पु-याउन खोज्दा आफूलाई श्री ३ जुद्धशमशेरले जेल पठाएको प्रसंग सुनाएका थिए। इतिहासका ज्युँदा पात्रहरू धेरै छन् तर आजका धेरैजसो आमसञ्चारका माध्यम दलका नेता र केही सीमितमात्र चिन्छन्।

धनका पछि दौडिनेसँग परिवार र नातागोता पनि खुसी हुन्छन्। राष्ट्रको चिन्ता गर्ने प्रायः सधैँ एक्लै पर्छ। ऊ बेसहारा जस्तो ठहरिन्छ। २००७ सालको क्रान्तिदेखि पछिल्ला वर्षहरूमा पनि हजारौँ युवाले राष्ट्रवादको भावधारामा आफूलाई समर्पित गरेको पाइन्छ। देशको सिमाना मिच्न दिनुहुँदैन भन्ने कञ्चनपुरका गोविन्द गौतम हुन् वा सप्तरी तिलाठीका देवनारायण यादव, ती सबै वन्दनीय छन्। करोडौँ सम्पत्ति थुपार्ने तर राष्ट्रहितमा एक मिनेट पनि चिन्तन नगर्ने ज्युँदा लासहरूभन्दा भोकै बसेर पनि राष्ट्रको रक्षा गर्न अघि सर्नेहरू महान् हुन्छन्।

राजा सुरेन्द्रविक्रम शाहलाई जंगबहादुर साहैै्र माया गर्दारहेछन्। सुरेन्द्रलाई सानैदेखि बोकेर हुर्काएका र उनलाई प्रशन्न तुल्याएर शक्ति आर्जन गरे जंगले। इतिहासकारहरूका अनुसार, सिकारका साह्रै शौखिन थिए उनी। धेरै वर्ष बाँचेनन् जंगबहादुर। बालकृष्ण समले लेखेका छन्– ‘उन्नाइस सय तेत्तीस सालमै उनको मनले हरेश खाइसकेको रहेछ, हनुमानढोका दरवारमा सुरेन्द्रविक्रम शाह महाराजाधिराजसँग मदेश सिकारमा जान बिदा हुने बेलामा ‘यसपाला त म साह्रै गलेँ, सिकारबाट यहाँ फर्केर सरकारको दर्शन गर्न आउन पाउँदिन कि क्या, त्यसैले सरकारसित एउटा कुरा बिन्ती गर्छु’ भनेर जंगबहादुरले भन्दा सुरेन्द्रविक्रमले ‘के कुरा सम्धी भनन्...’ अनि जंगले भने– ‘उहिलेको जस्तो गरी सरकारलाई आफ्नो बुइमा चढाएर तल चोकसम्म सवारी चलाउने इच्छा छ।’ अनि बोकेर नासल चोकमा पु-याइ त्यतैबाट बिदा भएर उनी मदेशतिर गए। साँच्चै उनको उही साल पत्थरघट्टामा देहावसान भयो। (मेरो कविताको आराधन पृष्ठ ३६०) अहिले नेपालका कैयन् नेताले स्वदेशी राजालाई फ्याँके पनि विदेशी राजाका विचार शिरोपर गरेर बुइमा चढाएका छन्। राष्ट्रवादका ठूलाठूला कुरा गरे पनि विदेशी विचार त्याग्न भने उनीहरू अझै तयार छैनन्। बहुसंख्यक नेपाली जनताले माओ, माक्र्स, स्टालिन र लेनिन चिन्दैनन् तर केही दलको साइनबोर्डमा ती विदेशी नेता ‘जीवित’ छन्। वाचाल, कर्मशील तथा सजीव देखिएकाहरूले मिडियामा तुमुलध्वनि गुञ्जाए पनि उनीहरूका ‘चार विनायक’ भारत, चीन, अमेरिका र युरोपियन युनियन नै हुन् भन्नेमा शंका गर्नै पर्दैन। तसर्थ, ती नेताको आत्मा मरिसकेको प्रतीत हुन्छ र टाउको काटेको भाले दुईचार सेकेन्ड दौडेझैँ केही जीवित शवहरू आफूलाई ‘शिव’ ठान्दै ताण्डवनृत्य देखाइरहेका छन्।

नेपालमा आर्थिक र सामाजिक विषमता झन् बढ्दै गएको छ। असामाजिक तत्वहरू अभूतपूर्वरूपमा सल्बलाएका छन्। जातिवाद र साम्प्रदायिकता भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको छ । राष्ट्रियता र प्रजातन्त्रको भविष्य कति सुरक्षित छ भन्ने परीक्षण गर्न यस्ता संकेत पर्याप्त हुन्छन्। सहिष्णुता, न्याय, समता, समानता, अहिंसा, स्वतन्त्रता र नागरिक चेतनाबेगर प्रजातन्त्र आफैं खोरन्डो हुन्छ। संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानले भनेका छन्– ‘प्रजातन्त्र विश्वव्यापी अधिकार हो, यो बहुमतको पेवा होइन।’ नेपालमा प्रजातन्त्र उपभोग गर्न सत्तामै पुग्नुपर्ने बाध्यता छ, अरु सबै सधैँ सरकारको दयामायामा बाँच्नुपर्ने अवस्था रहिरहने हो भने कसरी सुरक्षित हुन्छ नागरिक हक? कसरी बलियो बन्छ राष्ट्र अनि कसरी प्रत्याभूत हुन्छ प्रजातन्त्र?

प्रकाशित: ३० चैत्र २०७४ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App