७ वैशाख २०८१ शुक्रबार
समाज

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

तेह्रथुम – प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ। पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौले साताव्यापी पदयात्रा थालेको हो।

मंगलबार काठमाडौंबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि टुटे, पाँचपोखरी, तीनजुरे, चौकी, मंगलबारे हुँदै गुफाबजारसम्म पदयात्रा गरेको छ। ‘तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव’को नाम दिएको पदयात्रा मंगलबार धरानबाट बुढासुब्बा मन्दिरको दर्शन गर्दै धनकुटाका भेँडेटार, धनकुटा र हिले क्षेत्रका डाँडाकाँडा घुम्दै पदयात्रा यहाँ आइपुगेको हो।

वसन्तपुर हुँदै गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रबाट ताप्लेजुङको पाथीभरालाई गन्तव्य बनाएर पदयात्रा थालिएको पदयात्रा महोत्सव मूल समारोह समितिका संयोजक टंक श्रेष्ठले बतए। ‘अलौकिक प्राकृतिक छटाको मनोहरा, अबको गन्तव्य पाथीभरा’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित पदयात्राले प्रदेश नं १ को पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन लक्ष्य राखिएको संयोजक श्रेष्ठले बतए।

“यहाँका आकर्षक गन्तव्यबाट गुराँसको राजधानी टिएमजे, कञ्चनजंघा, मकालु र कुम्भकर्ण क्षेत्रको दृश्यावलोकन गर्दै पाथीभरा पुगेर पाँचथर–इलामबाट फर्किने नयाँ पर्यटकीय मार्ग तयार गर्ने लक्ष्य हो,” श्रेष्ठले भने। पदयात्रा टोलीमा पूर्वका तेह्रथुम, संखुवासभा, ताप्लेजुङ सहितका जिल्लामा जन्मिएर राजधानीमा बसोबास गर्नेहरु बढी छन्।

ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, संखुवासभाका सांसद राजेन्द्र गौतमसहित पूर्वका राजनीतिक नेतृत्व, सामाजिक तथा व्यावसायिक छवि बनाएका व्यक्तिहरु सहभागी छन्। टोलीमा करिव एकसय जना रहेका पदयात्रा समितिका संयोजक श्रेष्ठले बताए। पदयात्रामार्फत यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि यी जिल्लाका समन्वय समिति र स्थानीय तहले पनि सहकार्य गरेका छन्।

पाथीभरा देवीको मन्दिर पूर्वको धार्मिक, सांस्कृतिक रुपले प्रसिद्ध रहेको र योसँगै आसपास रहेका पर्यटकीय गन्तव्यलाई एउटै सर्किटमा जोडेर पर्यटकीय मार्ग विकास गर्न लागिएको पदयात्रा महोत्सव आयोजना गरिएको मूल समारोह समितिका सह–संयोजक रमेश बरालले बताए।

पदयात्रामार्फत लक्ष्य गरिएको पर्यटकीय मार्गमा विश्वको तेस्रो र नेपालको दोस्रो उच्च शिखर कञ्चनजंघाससहित अन्य पाँच वटा आठ हजारमिटर माथिका अग्ला हिमाल रहेका छन्। सोही पर्यटकीय मार्गले २८ प्रजातिका गुराँस पाइने टिएमजे वन र नेपालकै अग्लो ह्यात्रुङ झरना, प्रसिद्ध दिकिछ्योलिङ गुम्बा, फुङफुङे झरना, तिङवुङ पोखरी, फत्ताङलुङ जस्ता आकर्षक गन्तव्य रहेका छन्। गुराँसको राजधानीका रुपमा चर्चित टिएमजे क्षेत्रमा विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइन्छन्।

यहाँको हिमाली क्षेत्रमा विश्वकै दुर्लभ जन्तु रेडपाण्डा पनि पाइन्छ। पदयात्रामार्फत यहाँ पाइने धार्मिकस्थल, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, विविध वनस्पतिका बारेमा स्थानीयवासी तथा सरोकारवाला छलफल र संरक्षणमा लाग्नका निम्तिसमेत छलफल र बहसको उठान गर्ने बरालले बताए।

पदयात्रा टोलीले बुधबार वसन्तपुरबाट टुटे देउराली, आर.आर. गार्डेन, तीनजुरे–चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सूर्यास्तको दृश्यावलोकन गरेकोे छ। बिहीबार बिहान मेन्छ्यायेम डाँडाबाट सूर्योदयका साथै कञ्चनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन र मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराँसको अवलोकन गरी साँघु हुँदै टोली ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकनपछि तेल्लावुङ ढुंगेसाँघुमा पुग्नेछ।

शुक्रबार पदयात्रा टोली ताप्लेजुङ फुङलिङमा कार्यक्रम गरी, सुकेटार हुँदै पाथीभरा फेदी पुग्नेछ। वैशाख १ गते नव वर्षमा पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमशृंखलाको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन गर्दै टोली सुकेटार बस्नेछ। आइतबार पाँचथरको हिलिहाङ दरबार, सिलौटे, पौवाभन्ज्याङ, कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्दै काठमाडौँ फर्किनेछ। (रासस)

प्रकाशित: ३० चैत्र २०७४ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App