१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झुठो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिक पक्राउ

नेपालगन्ज – झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत, उत्तर प्रदेश बहराईच कोतवाली नानपारा, थाना नवावगन्ज निवासी २५ वर्षीया मोहम्मद सलमान हल्वाईलाई प्रहरीले पक्राउ गरेको हो। सलमानले २०७० मंसिर १२ गते नेपालगन्ज–५ निवासी आविद हुसेन हल्वाईलाई नक्कली बुवा बनाएर बंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएका थिए।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता प्रमाणपत्र नम्बर ६९–०१–७०–०४३५५ को नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। झुठो विवरण पेश गरेर नेपाली नागरिकता बनाएको भन्ने जाहेरी नै प्राप्त भएपछि अनुसन्धान गरी पक्राउ गरिएको कार्यालयका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरीक्षक रणबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार भैरहवामा लुकीछिपी बसेका सलमानलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनलाई हाल जिप्रका बाँकेको हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। आफ्नै ससुरा आविद हुसेन हल्वाईलाई थाहै नदिएर किर्ते गरी नागरिकता बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘जाहेरवाला अभियुक्तका आफ्नै ससुरा हुन्,’ बिष्टले भने, ‘मेरो नामबाट ज्वाईले नागरिकता लियो भनेर ससुराले नै उजुरी गरेपछि हामीलाई अनुसन्धान गर्न सहज भयो।’

आविदले आफ्नो नाममा किर्ते गरी ज्वाईले नागरिकता लिएको उजुरी गरेपछि प्रहरीले सलमानको खोजी गरिरहेको थियो। उनी नेपालगन्जमा अस्थायी रुपमा बस्दै आएका थिए। अभियुक्त भारतीय नागरिकलाई नागरिकता ऐन अन्तर्गत कानुनी कारबाही हुने प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।

प्रकाशित: ३० चैत्र २०७४ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App