५ वैशाख २०८१ बुधबार
खेल

तारादेवीद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौं – विभागीय टोली नेपाल पुलिसकी तारादेवी पुनले ७५ केजी तौलमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा बिहीबार सुधार गरेकी छिन्।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजना भएको प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा उनले स्न्याच, क्लिन एन्ड जर्क र कुलको कीर्तिमानमा सुधार गरेकी हुन्। पुनले स्न्याचमा ६८ केजी, क्लिन एन्ड जर्कमा ९६ केजी र कुलमा १ सय ६४ केजीको नयाँ कीर्तिमान बनाएकी हुन्। यसअघि पुनले २०७० मा वीरगन्जमा भएको प्रथम शालिमार खुला भारोत्तोलन च्याम्पियसिपअन्तर्गत स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ९५ र कुलमा १ सय ६२ केजीको कीर्तिमान कायम गरेकी थिइन्।

सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी उषा खड्काले कुल १ सय ३९ केजी र आर्मीकै मनकुमारी कुमालले १ सय ३० केजी उठाउँदै क्रमशः रजत र कांस्य पदक हात पारे भने जुनियरतर्फ लाखे फिजिकल फिटनेसकी जयन्ती श्रेष्ठले ९० केजी उठाउँदै स्वर्ण पदक जितिन्।

बिहीबार नै सम्पन्न पुरुषतर्फको १ सय ५ केजीमाथिको तौलमा त्रिभुवन आर्मी क्लबका पुकार गुरुङले स्न्याचमा आफ्नै नाममा रहेको १ सय २६ केजीको कीर्तिमानमा सुधार गरे। गुरुङले १ सय २७ केजी उठाउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। यसअघि गुरुङ २०१७ मा इरानको अहवाजमा भएको तेस्रो एफएजेआर कप आमन्त्रण भारोत्तोलन च्याम्पियनसिपमा १ सय २६ केजीको कीर्तिमान राखेका थिए। यस्तै, गुरुङले क्लिनमा १ सय ४० केजी भारका साथ कुलमा २ सय ७६ केजी उठाउँदै स्वर्ण पदक हात पारे भने भृकुटी टोल सुधार युवा क्लबका राजीव महर्जनले कुल २ सय ८ तथा दीपज्योति क्लबका सुभास उपाध्यायले १ सय ९७ केजी उठाउँदै क्रमशः रजत र कांस्य पदक जिते।

यस्तै, महिला ६३ केजी तौलमा आर्मीकी मनिता श्रेष्ठले १ सय ३६ तथा  र शारदा चौधरीले १ सय ३० केजी कुल भार उठाउँदै स्वर्ण र रजत हात पार्दा ६९ केजी सिनियरतर्फ नेपाल पुलिसकी राजलक्ष्मी थापाले १ सय ५० तथा जानकी बुढाले १ सय १६ केजी भार उठाउँदै स्वर्ण र रजत जिते। यता जुनियरतर्फ चितवनकी पूजा कुमालले ७० केजी उठाउँदै स्वर्ण पदक हात पारिन्।

९० केजी तौलमा पुलिसकी लक्ष्मी बनले कुलमा १ सय ४९ केजी उठाउँदै स्वर्ण पदक हात पार्दा ज्योतिले कुलमा १ सय केजी भार उठाउँदै  रजत पदक जितिन्। ९० केजी जुनियरतर्फ नेपाल व्यायाम मन्दिरकी विद्या राईले ८० केजी उठाउँदै पहिलो भइन्।

यस्तै, पुरुष ६९ केजी सिनियरतर्फ ओलम्पियन तथा साग स्वर्ण पदक विजेता आर्मीका कमलबहादुर अधिकारीले कुलमा २ सय ५७ केजी उठाउँदै स्वर्ण पदक जिते। सोही स्पर्धामा रजत पदका हात पारेका एपिएफका महेश चौधरीले कुलमा १ सय ९९ केजी उठाए भने आर्मीका जीवन तामाङले १ सय ७२ केजी उठाउँदै कांस्य पदक हात पारे। जुनियरतर्फ भने फिटनेस तथा अर्डरका प्रकाश केसीले कुल २ सय २५ केजीका साथ स्वर्ण तथा वीरगन्ज युनाइटेडका नीरज गुप्ताले १ सय १५ केजीका साथ रजत पाए।

७७ केजी तौलमा पुलिसका विकास थापाले प्रहरीकै ओमप्रकाश वैश्यलाई पछि पार्द स्वर्ण जिते। थापाले कुलमा २ सय ४७ केजी र वैश्यले २ सय १९ केजी भार उठाएका थिए भने कांस्य पदक हात पारेका यज्ञबहादुर सारुले कुलमा २ सय १३ केजी उठाए।  जुनियरतर्फ फिटनेस एन्ड अर्डरका सुरज वैश्यले १ सय ७६ केजी उचाल्दै पहिलो बने।

यस्तै, पुरुष ८५ केजी तौलसमूहमा आर्मीका सुरेन्द्र श्रेष्ठले कुलमा २ सय २६ केजी, आर्मीकै दिनेश कार्कीले २ सय ३ केजी र एपिएफका तिलक थापाले १ सय ८० केजी भार उठाउँदै क्रमश स्वर्ण, रजत र कांस्य पदक हात पारे भने जुनियरतर्फ दीपज्योति क्लबका विशालसिंह विष्टले कुलमा २ सय १७ केजीका साथ स्वर्ण हात पारे।

पुरुषकै ९४ केजी तौलसमूहमा पुलिसका गगन चन्दले २ सय २१ केजीका साथ स्वर्ण, एपिएफका सुजन विकले १ सय ६७ केजीका साथ रजत र ओम फिटनेसका अरविन्द गुप्ताले १ सय ६० केजीका साथ कांस्य पाए। जुनियरतर्फ द पेम्बा क्लबका जयदीप कोजुले १ सय ८४ केजीका साथ स्वर्ण र ओम फिटनेसका सदव अमिन सिद्धिकीले १ सय ६० केजीका साथ रजत पाए।

१ सय ५ केजी तौलसमूहमा पुलिसका सन्देश गुरुङ पहिलो बन्दा वीरगन्ज युनाइटेडका मोहम्मद आशिक हुसेन दोस्रो र आर्मीका विनोद खड्का तेस्रो भए भने जुनियरतर्फ दीपज्योति क्लबका सागर भण्डारी पहिलो, ओम फिटनेसका रोशन बिसी दोस्रो बन्दै क्रमशः स्वर्ण र रजत पदक हात पारे।  

विधागत विजेता
दुईदिने प्रतियोगितामा कीर्तिमान सुधार गरेकी नेपाल पुलिसकी तारादेवी पुन  र त्रिभुवन आर्मीका पुकार गुरुङ प्रतियोगिताका क्रमश स्ट्रङ्गेस्ट महिला र पुरुष खेलाडी घोषित भए।

महिला जुनियरतर्फ ओम फिटनेसकी सञ्जु चौधरी र सिनियरतर्फ नेपाल पुलिसकी देवीकुमारी चौधरी उत्कृष्ट लिफ्टर घोषित भए भने पुरुष सिनियरमा आर्मीका कमलबहादुर अधिकारी र जुनियरमा ओम फिटनेसका प्रकाश केसी उत्कृष्ट लिफ्टर घोषित भए। यस्तै, उत्कृष्ट प्रदर्शनका आधारमा जुनियर पुरुषतर्फ खर्साल युथ क्लबका रामकुमार यादव र महिलातर्फ ग्यालेक्सी फिटनेशकी करिना चौधरी उदीयमान खेलाडी घोषित भए।

प्रकाशित: ३० चैत्र २०७४ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App