सहरी स्वाद

काठमाडौंमा भक्का

शुक्रबार, ३० चैत २०७४, ०९ : ५२ शान्ति लामा

पुरानो बानेश्वर चोकैमा भर्खरै खुलेको छ, भक्का हाउस । भक्काको स्वाद सम्झने र यसबारे बुझ्ने चाहनेहरूको लर्काे हिजोआज त्यतै सोझिएको छ।

गएको मंगलबार दिउँसो भक्का हाउसको परिकल्पनाबारे बुझ्न नागरिककर्मी त्यहाँ पुग्दा भक्का हाउस खचाखच ग्राहकले भरिएको थियो । आफ्नो पसलमा ठाउँ नभएपछि सञ्चालकले बसेर कुराकानी गर्न नजिकैको अर्काे एक रेस्टुरेन्ट रोजे ।त्यो दिन मात्र होइन, भक्का हाउस झण्डै हप्ताभरि नै खचाखच ग्राहकले भरिएको काफ्ले बताउँदै थिए । ‘बिहानदेखि नै ग्राहक आउन सुरु गर्छन् । विशेष गरी शुक्रबार धेरै भीडभाड हुन्छ,’ उनले भने।

उसो त काठमाडौंमा भक्का खानेको यस्तो लर्काे होला भन्ने उनले सोचेका थिएनन् । तर, हप्ताभरिमा नै भक्काप्रेमीको जमात देखेर उनी आश्चर्यचकित छन् । अहिले नै उनको भक्का हाउसको स्पेस सानो लाग्न थालिसकेको छ । ग्राहकहरू उभिएरै पनि भक्का कुरिरहेको देखिन्थे।

काफ्ले गैरसरकारी संस्थामा काम गर्छन् । ‘बलियो घर’ नामक परियोजनामा उनी एडमिन र फाइनान्स व्यवस्थापन गर्छन् । प्रशस्त पुग्ने जागिर हुँदाहुँदै पनि उनलाई भने समाजमा केही फरक उद्यम गर्ने इच्छा थियो । त्यसैका लागि धेरै क्षेत्रमा सम्भावनाबारे अध्ययन पनि गरेका थिए । भक्काभन्दा पहिले पनि अन्य काम पनि प्रयास नगरेका होइनन् । भन्छन्, ‘ठेलामा सेकुवा पोल्नेदेखि डोनट बेच्नेसम्मको काममा पनि विचार नगरेको होइन । तर, अन्त्यमा भक्का बेच्ने निक्र्यौल गरियो ।’ एक जना मामाको कुरा सुनेर उनले भक्का हाउस खोल्ने निर्णय गरेका हुन्।

काफ्ले झापाका स्थायी बासिन्दा हुन् । झापामा भक्का खाएरै हुर्केका हुन्, उनी । भन्छन्, ‘हामी त बाह्रै महिना राजवंशी माइहरूले बनाएको भक्का खाएर हुर्केका मान्छे हौं । तर काठमाडौंमा भक्का यति धेरै मन पराइएला भन्ने चाहिँ सोचेको थिइनँ ।’ तर, कति भक्काको नाम समेत नसुनेका ग्राहक पनि उनको भक्का हाउसमा आएका छन् । त्यस्तै काठमाडौं बस्ने पूर्वीं तराईका बासिन्दा भक्का खूब ‘मिस’ गर्दा रहेछन् भन्ने पनि उनले यहाँ थाहा पाए ।
चैत ९ गते उदघाटन गरिएको भक्का हाउस अहिले नै धेरै भक्का प्रेमीको गन्तव्य बनिसकेको छ।

कतिपय ग्राहक त दैनिक नै आइरहने गरेको काफ्ले बताउँछन् । उनले सुनाए, ‘एक जना ग्राहक हुनुहुन्छ, भक्काको त्यस्तो फ्यान । अर्काे ग्राहकले अचारको बारेमा कम्प्लेन लेखेको कागज नै च्यातिदिनुभएछ ।’ भक्काकै स्वादलाई यति प्रेम गर्ने ग्राहक नै आफ्ना लागि ऊर्जा भएको उनी बताउँछन्।

भक्का हाउसका लागि उनले पुरानो बानेश्वरलाई नै उपयुक्त स्थान सम्झे, ‘किनकि पुरानो बानेश्वर र आसपासका क्षेत्रमा झापा र वरपरका धेरैको बसोबास छ । तिनले भए पनि भक्का खान आउँछन् भन्ने विश्वास थियो ।’ तर, अहिले पूर्वी तराईका मात्र नभई सबै क्षेत्रका ग्राहक उनले पाएका छन्।

भिजाएको चामलको पीठोलाई स्टिम गरेर बनाइने परिकार हो, भक्का । यो तराई क्षेत्रका थारू, राजवंशीलगायत समुदायको प्रिय परिकार पनि हो । हेर्दा बनाउन सजिलो र पाँच सेकेन्डमा नै पाकेको देखिए पनि भक्का बनाउन अघिल्लो दिनदेखि नै तयारी गर्नुपर्ने उनी बताउँछन्।

भक्का हाउसमा भक्का पकाउँछन्, काभ्रेका सुजन तामाङ । जागिर छोडेर उनले भक्का बनाउन थालेका हुन् । उनी झापा गएर भक्का बनाउन सिकेका हुन् । उनले भने, ‘भक्का बनाउन सिक्न दुई पटक झापा गएँ । राजवंशी महिलासँग सिकेपछि पोख्त भएको हुँ ।’
भिजाएको चामलको पीठोलाई स्टिम गरेर बनाइने परिकार हो, भक्का । यो तराई क्षेत्रका थारू, राजवंशीलगायत समुदायको प्रिय परिकार पनि हो।

हेर्दा बनाउन सजिलो र पाँच सेकेन्डमा नै पाकेको देखिए पनि भक्का बनाउन अघिल्लो दिनदेखि नै तयारी गर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘पीठो बनाउनु सबैभन्दा जोखिमपूर्ण काम हो । पीठो बिग्रिएमा भक्का बन्दैन ।’ भक्का बनाउनका झापाबाट  नै चामलको पीठो ल्याउने गरेको सञ्चालक काफ्ले बताउँछन्।

त्यस्तै भक्का बनाउन चाहिने भाँडाको सेट पनि झापाबाट नै ल्याइएको उनले बताए । उनले भने, ‘यहाँ बनाउन खोजेका थियौं । तर, के नमिलेर हो, भक्का पाकेन । त्यसपछि हामीले झापाबाट नै भाँडाको सेट नै मगायौं।’  

भक्का हाउसको इन्टेरियर डेकोरेसनलाई पनि क्लासिक बनाइएको छ । चोयाको मान्द्रोको भित्ताले नेपाली सजावट परम्परा झल्काएको देखिन्छ । बेतबाँसकै कुर्सी र टेबल राखिएका छन् । त्यस्तै झ्यालको झल्लर र टिस्यु होल्डरमा मिथिला चित्रकला अंकित गरिँदा मैथिली संस्कृतिको समेत झल्को दिन्छ । झापाकै सुपारीको पातबाट बनेको ट्रे, चोयाको डोकोको डस्टबिन, चियाका लागि मटका कप अनि भक्का हाल्ने सालको टपरीको प्रयोग गरिएको छ । सञ्चालक काफ्ले भन्छन्, ‘अब हामी नयाँ पुस्ताले गर्ने व्यवसाय दिगो र वातावरणमैत्री पनि हुनुपर्छ भन्ने विचार हो।’

तराईमा थारू अनि राजवंशीले बनाउने भक्का शुद्ध चामलको पीठोबाट मात्र बनेको हुन्छ । अन्य कुनै प्रकारको फ्लेभर र कलरको प्रयोग गरिँदैन । काफ्लेको भक्का हाउसमा भने दुई फरक स्वादको भक्का पाक्छ । स्विट भक्का ५० रूपैयाँ गोटा र सादा भक्का ३० रूपैयाँ गोटामा बेचिन्छ । दुई वटा भक्का राखेर सेट बनाइएको छ । यसको मूल्य भने ६० रूपैयाँ निर्धारण गरिएको छ । जसमा अचारको कम्प्लिमेन्ट्रीले भक्काको स्वादलाई अझ सम्पन्न बनाएको छ । दुई थरी अचारमा भक्का पस्कने गरेको छ।

अब छिट्टै नै मोडिफाइ गरी नयाँ रेसिपीसहित भक्काका भेराइटी बनाउने योजना रहेको काफ्ले सुनाउँछन् । भन्छन्, ‘मःमः अनि चाउमिनको विकल्पका रूपमा भक्का स्थापित गराउने उद्देश्य हो ।’ युवा पुस्तालाई अझ बढी आकर्षित गर्नका लागि भक्का नयाँ रेसिपीको आवश्यकता महसुस गरिएको उनले बताए।

चामलको पीठोलाई स्टिम गरेर खाइने भएकाले यो स्वस्थकरसमेत भएको उनी बताउँछन् । काफ्ले भन्छन्, ‘हरेक उमेर समूहका व्यक्तिले जुनसुकै समय र मौसममा पनि खाजाको रूपमा खान सकिने भएकाले काठमाडौंमा भक्का एक लोकप्रिय परिकार हुनेमा विश्वस्त छु ।’ तराईको लोकप्रिय खाजा भए पनि काठमाडौंमा आजसम्म कसैले व्यवस्थित व्यावसायीकरण गर्ने साहस नगरेकोमा आफ्नो प्रयासले नयाँ बाटो खुल्ने उनको भनाइ छ।

भक्कालाई काठमाडौंमा ब्रान्डको रूपमा स्थापित गर्ने उद्देश्य रहेको काफ्ले सुनाउँछन् । केही वर्षभित्र लोकप्रिय स्ट्रिट फुडको रूपमा स्थापित गर्न पहल गर्ने उनको सोच छ । ‘कोही स्ट्रिटमा बेच्न चाहने युवा छन् भने हामी मद्दत गर्छाैं,’ उनले भने । अहिले ग्राहकबाट पाएको प्रतिक्रियाले उनी निकै उत्साहित पनि छन् । भक्काको स्वाद थाहा भएका र पहिलो चोटी खानेले समेत भक्का मन पराएको काफ्ले बताउँछन्।

गत मंगलबार भक्का खान भक्का हाउस पुगेका थिए, काठमाडौंका श्याम सुवेदी । उनले यसअघि भक्काको नाम समेत सुनेका रहेनछन् । टिम्मुर हालेको गोलभेंडाको अचारसँग तात्तातो भक्का निकै स्वादिलो लागेको सुवेदीले सुनाए । ‘यता बाटो हिँड्दा देखेको भएर पसेको हुँ,’ उनले भने, ‘पिरो, चिल्लो नहुने भएकाले यो स्वादिलो र राम्रो लाग्यो ।’ उनीसँगै भक्का खाइरहेकी अस्मिता सुवेदीले भने पहिले नै सुनसरीमा भक्का खाइसकेका थिए ।

उनले भनिन्,  ‘सुनसरीको झुम्कामा मामाघर जाँदा भक्का खाइन्थ्यो । काठमाडौंमै भक्का खान पाउँदा एकदम खुसी लाग्यो।’झापामा जन्मिएकी प्रकृति निरौला काठमाडौंमा बस्न थालेको १५ वर्ष भइसक्यो । बेलाबेला झापा जाँदा उनी भक्का खान कहिल्यै नछुटाउने बताउँछिन् । भन्छिन्, ‘सानामा पाँच रूपैयाँमा एक वटा भक्का खाएको सम्झना पनि छ।

हामी त बिहान खाजामा चिया बिस्कुट भन्दा भक्का नै खान मन पराउँथ्यौं ।’ धेरैपछि काठमाडौंमै भक्का खान पाउँदा खुसी लागेको उनले सुनाइन्।काठमाडौंमा भक्का हाउस खुलेको कुरा इन्स्टाग्राममा देखेर खोज्दै आएको निरौलाले बताइन् । ‘इन्स्टागाममा भक्का देख्नेबित्तिकै नखाइकन मन मानेन । त्यसैले खान आइहालें,’ उनले भनिन् ।
 
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नाटा र एनसीएचएल बीच विद्युत्तीय भुक्तानी प्रणाली लागु गर्न सम्झौता

नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (NATTA ) र नेपाल क्लियरिङ्ग हाउस (NCHL) बीच NATTA का सदस्य ट्राभल एजेन्टहरु...

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...