७ वैशाख २०८१ शुक्रबार
अन्य

‘काठमाडौंलाई मान्छेले नै बिगारेका हुन्’

मरिचमान श्रेष्ठ,हास्यकलाकार

घुमेकामध्ये मन पर्ने सहर कुन हो ?
मलाइ मनपरेको सहर नेदरल्यान्डको राजधानी अम्सटे«डम हो । यो सहरमा भिन्न र मनमोहक छ । यहाँ सागर बीचमा घर बनेका छन् । बीच–बीचमा सागर र त्यसको वरिपरि बनेका घरको दृश्य हेर्दा निकै रमाइलो लाग्यो । घरको वरिपरि हरियाली पनि छ । मैले सुने अनुसार यो सहर समुद्र सतहभन्दा धेरै मुनि छ । सागरको बीचमा बनेका घरमा पुग्न डुंगा चढ्नु पर्छ।
नेपालमा मनपर्ने सहर ?
मलाई काठमाडौंबाहिर मन पर्ने सहर पोखरा र धरान हुन् । यी सहरहरूमा घुम्ने र आनन्द लिने प्रशस्त पर्यटकीय मार्गहरू छन् । पोखराको कुरा गर्ने हो भने त्यहाँ फेवाताल, मन्दिर, प्याराग्लाइडिङलगायत प्रशस्त पर्यटकीय ठाउँहरू छन् । सुविधासम्पन्न होटलहरू छन् । पर्यटकीय सम्भावनालाई ख्याल राखेर बस्ती बसाल्ने र भवन निर्माण गर्ने हो भने पोखराको अस्तित्व रहन्छ । त्यस्तै, धरान पनि छुट्टै महत्व बोकेको सहर हो । यो सहरलाई लाहुरेको सहर पनि भन्ने गरिन्छ । लाहुरेहरूले नै धरानलाई चम्काएका हुन् भन्ने लाग्छ ।
काठमाडौं कस्तो लाग्छ ?
ठिकै लाग्छ । काठमाडौं देशकै सुविधासम्पन्न र मुख्य सहर हो । यहाँ सबैथोक छ । आफूले चाहेको कुरा सजिलै पाउन सकिन्छ । सुविधायुक्त विद्यालय, अस्पताल, सरकारी सेवा लगायत पक्ष हेर्दा पनि काठमाडौं राम्रो छ । अर्कातर्फ हेर्ने हो भने काठमाडौं जति सुविधायुक्त छ त्यति नै धराशायी पनि बन्दै गएको छ।

सहरी इलाका पूरै अव्यवस्थित छ । मापदण्ड विपरीतका भवन, खाल्डाखुल्डी सडक, मानिसको चाप, अव्यवस्थित बिजुलीका पोल, अत्याधिक सवारी–साधनलगायत पक्षले काठमाडौंलाई धराशायी बनाएको छ । यहाँ अझै पनि बाहिरबाट बसाई सरेर आउने क्रम रोकिएको छैन । यसतर्फ सरकार र सहरवासी सबैको ध्यान पुग्नु जरुरी छ । कहिलेकाहीँ त लाग्छ, मानिसबाटै बिगारिएको सहर हो, काठमाडौं ।
उपत्यका बाहिरका सहर कत्तिको व्यवस्थित लाग्छन् ?
काठमाडौं मानिसकै कारणले अव्यवस्थित भएको सहर हो । यहाँ बस्नेले सहरको विकास र व्यवस्थापनबारे सोचेनन् । खाली आफ्नो स्वार्थपूर्तितर्फ मात्रै चासो राखे । यो मेरो सहर हो यसलाई मैले नै सफा राख्नुपर्छ भनेर कसैले सोचेनन् । उपत्यका बाहिरका सहरको कुरा गर्ने हो भने काठमाडौंभन्दा केही खुकुला छन् । जनसंख्याको चाप पनि कम छ । सडक सञ्जालले उपत्यका बाहिरका सहरको विकास गरेको मान्न सकिन्छ।
विदेशी मुलुकका कुन–कुन सहर घुम्नुभएको छ ?
मैले आठभन्दा बढी देशका सहर घुमेको छु । जापान, मलेसिया, नेदरल्यान्ड, फ्रान्स, स्वीजरल्यान्ड, बेल्जियम, जर्मनी, नर्वे दुवईलगायत देशका सहर घुमेको छु । मलाई विदेशका सहर सुन्दर लाग्छन् । मरुभूमिको देश भनेर चिनिएका मुलुकहरू अहिले हरियाली भएका छन् । प्लेनबाटै माटो बोकेर बोट बिरुवा रोपेका छन् । हामीकहाँ प्रकृतिले निःशुल्क दिएको वरदान पनि प्रयोग गर्न जानिएन । यो ज्यादै दुःखको कुरा हो ।
यी देशका सहर किन मनपर्‍यो ?
विदेशका सहरमा नीति नियम र कानुन कडा पारिएको छ । सहरमा कसैले पनि मनपरी गर्न पाउँदैन । सहरी इलाकामा हरेक सुविधा हुन्छन् । स्वच्छ हावा पाइन्छ । सडक पनि चिल्ला र सफा हुन्छन् । त्यहाँ फोहर फाल्नेलाई तुरुन्तै समाइन्छ । विदेशका सहर शान्त छन् । सहरमा बस्नेहरूलाई कुनै पनि समस्या छैन । सहरमा बस्नेले मनपरीरूपमा कुनै पनि नकारात्मक काम गर्न पाउँदैनन् । कडा कानुन भएकाले कोही पनि कानुनविपरित चल्न चाहँदैनन् ।  
हाम्रा सहर यस्तै बन्न सक्दैनन् ?
बनाउने हो भने हाम्रा सहर विश्वै नमुना बन्न सक्छन् । किनभने हामीलाई प्रकृतिले अरु कुनै मुलुकलाई नदिएको वरदान दिएको छ । मात्रै हामीले यसलाई जान्न र चिन्न सकेनौं । काम गर्ने हो भने १० वर्षमा हामी विदेशी सहरजस्तै बन्न सक्छौं होला । मुख्य कुरा त हाम्रोमा नीति नियम बलियो छैन । कानुन छ।

तर, त्यसको पालना हुँदैन । कानुनलाई आचारसंहिताजस्तै बनाइन्छ । यदि सरकारी निकाय र सहरवासी मिल्ने हो भने विदेशका सहरभन्दा पनि सुन्दर बन्न सक्छन् नेपालका सहर । तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन । सहर बनाउने सपना बाँडेर सत्तामा पुग्नेहरू आज सहरको विकासमा ध्यान दिँदैनन् । जो पनि भ्रष्टाचारै गर्न खोज्छ । सत्तामा हुने धेरैले म राष्ट्रसेवक हुँ भन्ने भावना राखेनन्।
सहर व्यवस्थित पार्न सरकारले कसरी काम गर्नुपर्ला ?
सरसफाइ, बाटोघाटो निर्माण, पार्क निर्माण, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत विषयलाई केन्द्रमा राखेर सरकारले काम गर्नु पर्छ । अर्को कुरा, सहरमा जथाभावी फोहर फाल्नु हुन्न भन्ने नागरिकमा चेतना आउनु पर्छ । हाम्रा सहरमा यस्ता मानिसहरू बस्छन्, जो शिक्षित भएर पनि अशिक्षितले जस्तै व्यवहार देखाउँछन्।

यहाँको नीति नियमको पालना नगर्नु र भएका योजनालाई व्यवहारमा लागू गर्न नसक्नुले काठमाडौं व्यवस्थित हुन नसकेको हो । जनसंख्याको चाप, फोहोर र अग्ला अव्यवस्थित भवनले पछिल्लो काठमाडौंलाई कुरूप बनाएको छ । अझै पनि सरकारले मापदण्ड विपरितका भवनलाई धमाधम पास गर्दै छ ।
सहरवासीको बानी कस्तो लाग्छ ?
हामी सहरवासी सारै अल्छी र गैरजिम्मेवार छौं । सहर बिग्रनुको मुख्य कारक सहरवासी पनि हुन् । यदि आफ्नो घरको फोहर सटरबाहिरको सडकमा नफाल्ने, कही जाँदा निस्केको फोहर सम्बन्धित ठाउँमा मात्रै फाल्ने गरेको भए सहर यति फोहर र गन्हाउने हुने थिएन होला । त्यस्तै, सहरमा बस्ने धेरैले मानवीयता दर्शाउँदैनन् ।  
विदेश र हाम्रा देशका सहरबीच भिन्नता के देख्नुभयो ?
अरु देश र हाम्रो देशबीच धेरै भिन्नता छ । विकासको कसीमा हामी धेरै पछि छौं । प्रकृतिले दिएको कुरामा हामी अगाडि छौं । जे कुरा हामीले निर्माण गरेका छौं त्यसमा धेरै पछि छौं । हाम्रा सहरको तुलनामा विदेशका सहर धेरै व्यवस्थित छन् । पूर्वाधार निर्माणले विदेशका सहर झकिझकाउ छन् । त्यहाँ हरेक ठाउँका नीति नियमहरू पालना गरिएका हुन्छन् । अरु मुलुकका नागरिक सहरको विकासमा चनाखो हुन्छन् । सरकारको नीतिलाई पालना गर्छन् । सरकारी कामलाई सहयोग गर्छन् । राम्रा कामलाई प्रोत्साहन गर्नु र नराम्रा कामलाई निरुत्साहित गर्ने बानी विदेशीहरूमा छ ।
तपाईंको सपनाको सहर कस्तो होस् भन्ने लाग्छ ?
म बसेको सहरमा सफा र सुविधायुक्त होस् । यातायातको सहज पहुँच सबैतिर पुगोस् । सहरमा बस्नेले एकैखाले सेवासुविधा उपभोग गर्न पाउन् । सहरमा विभेदीकरण नदेखियोस् । सडक छेउछाउ हरियाली होस् । स्वच्छ हावा, हरियाली, शान्त र सबैखाले सेवा–सुविधायुक्त हौंन । यति भयो भने सहरमा बसेको छु भन्ने महसुस हुन्छ ।
उपत्यकाको सबैभन्दा मन पर्ने पक्ष के हो ?
यहाँको मनपर्ने पक्ष हावापानी नै हो । गर्मीमा ठिक्क गर्मी र जाडोमा ठिक्क जाडो हुन्छ । यहाँका पुराना मठ–मन्दिरले पनि नेपालको मौलिकता झल्काएको छ । जात्रा पर्वमा बज्ने बाजाहरूले सहर गुन्जायमान भइरहेको हुन्छ ।  उपत्यकामा पाइने यी कुरा विश्वमै पाइन्नँ ।
मन नपर्ने पक्ष के हो ?
ट्राफिक जाम, धुलोधुवाँ, भीडभाड र अस्तव्यस्ता उपत्यकाको सबैभन्दा मन नपर्ने पक्ष हो । ढल तथा बिजुलीका तार पनि अव्यवस्थित छन् । सहरको विकासका सरकारी निकायबीच समन्वय भएको छैन । जसले गर्दा एक निकायले बनाउने र अर्को निकायले खन्ने भइरहेको छ । बाग्मती सरसफाइकै कुरा गर्ने हो भने सरकारले ढल निकासबिनै सफाइको कदम चालिरहेको छ । पहिले ढल व्यवस्थापन गरेर नदी सरसफाइमा लागेको भए समस्या बढ्ने थिएन होला ।
सहरलाई सफा र सुन्दर बनाउन के गर्नुपर्ला ?
सहरलाई चिटिक्क राख्न सरकार मात्रै होइन, नागरिक पनि जागरुक हुनु पर्छ । जथाभावी फोहोर फाल्ने प्रवृत्ति हटाउनु पर्छ । सरकारले सहरवासीलाई सबैखाले सेवा–सुविधा दिनु पर्छ । सहरमा बस्ने अधिकांश मानिस यहाँको भद्रगोल र झन्झटदेखि हैरान छन् ।
उपत्यकाभित्र कतै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
कहिलेकाहीँ समय मिल्यो भने ह्वाइट गुम्बा र स्वयम्भूतिर जान्छु ।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई सबैको सपनाको सहर अमेरिका जाने रहर छ । हेरौं समयले साथ दियो भने यहाँ पनि पुग्छु ।
सहरको मिठो लाग्ने खानेकुरा के हो ?
यहाँको मःमः मिठो लाग्छ ।
प्रस्तुतिः शिवहरि घिमिरे

 

प्रकाशित: ३० चैत्र २०७४ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App