coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाइँदै

लिंगो उठाउँदै स्थानीय। तस्बिर : फाइल फोटो ।

भक्तपुरको ल्योसिंखेलमा शुक्रबार साँझ बिस्केट जात्राको मुख्य आकर्षण मानिएको ५५ हात लामो लिंगो उठाइँदै छ ।

जात्रा हेर्न ल्योसिंखेलमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत जिल्लाबाट जात्राप्रेमीहरू सहभागी हुने गर्छन् । बिस्केट जात्रा ९ दिनसम्म मनाइन्छ।लिंगो उठाउने गरेकाले नै यस ठाउँको नाम ल्योसिंखेल (लिंगो उठाउने ठाउँ) राखिएको हो।
गुठी संस्थान शाखा कार्यालय, सूर्यविनायकका प्रमुख हरिप्रसाद सुवेदीले लिंगो उठाउने जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाए । ‘अब उठाउन मात्रै बाँकी छ, सबै तयारी पूरा भयो,’ कार्यालय प्रमुख सुवेदीले भने । सर्वसाधारणले डोरीको सहायताले लिंगो उठाउने गरेको उनले बताए ।

यसअघि लिंगो बनाउन भक्तपुरको चितपोलस्थित वनबाट एक महिनाअघि रुख काटेर ल्याइएको थियो।काठमाडौंको टोखा र भक्तपुरकै पोटरी स्क्वायरमा बिस्केट जात्राका क्रममा लिंगो उठाउने जात्रा अझै मनाइन्छ । ल्योसिंखेलको लिंगो जात्राको आकर्षण हुनुको मुख्य कारण लिंगो ५५ हात लामो भएकाले हो । जात्राका क्रममा युवाहरूले घन्टौ लगाएर लिंगो उठाउने गर्छन्।यसअघि कुनै वर्ष स्थानीयले लिंगो उठाउन सकेका थिएनन् । त्यो अवस्थामा जात्राको भोलिपल्ट नेपाली सेनाको टोलीले लिंगो उठाएका छन्।

यस वर्ष सर्वसाधारणले लिंगो उठाउन नसके नेपाली सेना लगाएर उठाउने योजना नरहेको गुठीका प्रमुख सुवेदीले बताए । ‘मैले पनि सर्वसाधारण नेपालीले उठाउन नसक्दा नेपाली सेना लगाएर उठाएको सुनेको मात्रै छु,’ कार्यालय प्रमुख सुवेदीले भने, ‘अहिले पब्लिक पनि धेरै भएकाले पब्लिकले नै उठाउनेमा हामी ढुक्क छौं।’

सुरुमा कैटी (अलिअलि उठ्न थालेपछि अडेस लगाउन बनाइएकोे) हरूबाट भरथेग गराउँदै डोरीको सहायताले तान्दै लिंगो उठाउने गरिन्छ । प्रत्येक वर्ष चैत मसान्त (यो वर्ष चैत ३० गते) का दिन ल्योसिंखेलमै लिंगो उठाउने गरिन्छ । लिंगो उठेको भोलिपल्ट अर्थात् वैशाख १ गते उठाइएको लिंगो हेर्न र पूजाआजा गर्न आउनेहरूको दिनभर ठूलो मेला लाग्छ।

उठाइएको लिंगोलाई वैशाख १ गते साँझ ढालिन्छ । वर्षको अन्तिम दिन उठाएर अर्काे वर्ष मात्रै ढाल्ने भएकाले लिंगो एक वर्ष उभिएको मानिन्छ।लिंगो उठाउन सुरु गर्नुअघि ल्योसिंखेलबाट झन्डै आधा किलोमिटर माथि गहिटीमा राखिएको भैरवनाथको रथलाई तानेर ल्योसिंखेलमा ल्याइन्छ । भैरवनाथलाई लिंगो उठाएको देखाउन ल्योसिंखेलमा ल्याइएको मान्यता छ।

भैरवनाथको रथ ल्योसिंखेल ल्याएपछि विधिपूर्वक लिंगो उठाउने क्रम सुरु हुन्छ।शुक्रबार बिहान भक्तपुरको पोटरी स्वायरमा पनि हात नभएको लिंगो उठाइन्छ। यो लिंगो स्थानीयले उठाउँछन् । यो लिंगो भने जात्राको अन्तिम दिन वैशाख ५ गते मात्रै ढालिन्छ ।
 

प्रकाशित: ३० चैत्र २०७४ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App