७ वैशाख २०८१ शुक्रबार
अर्थ

राजदूत सुवेदी उपाध्यक्षमा निर्वाचित

काठमाडौं–  नेपाल अन्तर्राष्ट्रिय कफी संगठन अन्तर्गतको प्रवद्र्धन तथा बजार विकास समितिको उपाध्यक्षमा निर्वाचित भएको छ।

यसै साता (चैत २६ गते) मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सुरु भएको अन्तर्राष्ट्रिय कफी संगठनको १२१औं परिषद बैठकले बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनका लागि नेपालको स्थायी प्रतिनिधि डा. दुर्गाबहादुर सुवेदीलाई समितिको उपाध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरेको हो।बेलायतस्थित नेपाली दूतावासका अुसार सुवेदीलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भनी मेक्सिकोका लागि ब्राजिलका राजदूत माउरिको कारभालाहो लिरियोले प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावमा कोतदेभ्यायर, पानामा, केन्या, इन्डोनेसिया, होन्डुरस, एलसाल्भाडोर, कोलम्बिया र इथियोपियाका प्रतिनिधिहरुले समर्थन जनाएका थिए ।समितिमा निर्वाचित भएपछि सुवेदीले नेपाल सरकारका तर्फबाट सबै सदस्य राष्ट्रलाई समर्थनका लागि आभार व्यक्त गर्दै उनले प्राप्त गरेको जिम्मेवारी इमान्दारीपूर्वक एवं उत्साह र ऊर्जाका साथ निर्वाह गर्ने बताएका थिए।

‘गुणस्तरीय कफी उत्पादन र प्रवद्र्धनका साथै कफी बजार विस्तार आजको आवश्यकता हो,’ निर्वाचित भएपछि सुवेदीले प्रतिबद्धता जनाउँदै भने, ‘नेपाललगायत अति कम विकसित र विकासोन्मुख मुलुकहरको कफि उत्पादन र बजार प्रवर्द्धनका लागि ठोस र सार्थक कार्य गर्नेछु।’नेपालले सन् २०१७ को फेब्रुअरी २२ का दिन अन्तर्राष्ट्रिय कफी संगठनको पूर्ण सदस्यता प्राप्त गरेको थियो।

त्यसपछि नेपाल सरकारले बेलायतका लागि नेपाली राजदूत सुवेदीलार्य सोही वर्षको जुन २९ का दिन अन्तर्राष्ट्रिय कफी संगठनको लागि नेपाली स्थायी प्रतिनिधि नियुक्त गरेको थियो । पूर्ण सदस्यता लिएको १४ महिना नबित्दै नेपाल संगठनअन्तर्गतको समितिमा उपाध्यक्षमा निर्वाचित भएको हो । उक्त समितिको अध्यक्षमा जापानका प्रतिनिधि मित्सुहिरो टाकायांगी रहेका छन् ।
 

प्रकाशित: ३० चैत्र २०७४ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App