coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सडक पहुँचसँगै एक दर्जन नयाँ बजार

खोटाङ – सरकारले पूर्वाधारको पहुँच पुर्‍याउन सके स–साना गाउँ पनि कसरी बजारमा परिणत हुन सक्छन् भन्ने उदाहरण अहिले मध्यपहाडी लोकमार्ग हुन पुगेको छ।

पूर्वदेखि पश्चिमसम्म समेट्ने गरी मुलुकको मध्य भागमा बनिरहेको लोकमार्गले सडक सञ्जालको पहुँच बनाएपछि अहिले यो क्षेत्रमा करिब एक दर्जन नयाँ बजार बनेका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको सीमामा पर्ने बोझेओढारमा अहिले बजार विस्तार भएको छ । ५–६ वर्षअघिसम्म बद्रीघारीले ढाकेको खोल्सोमा अहिले सानो बजार विकास भएको हो।

मध्यपहाडी लोकमार्ग विस्तारसँगै परिवर्तन भएको बोझेओढार बजार च्यास्मिटार, दुर्छिम र बडहरेका स्थानीयको चामल, दाल, नुन, तेल, कपडालगायत सामान किन्ने केन्द्रका रुपमा विकास भएको छ । ‘पहिला यहाँ केही थिएन, खोल्सामा घारी मात्र थियो,’ च्यास्मिटारका वडाध्यक्ष भलराज राईले भने, ‘मध्यपहाडी लोकमार्ग बन्न थालेपछि बोझेओढार व्यापारिक केन्द्र बनेको हो ।’मध्यपहाडी लोकमार्ग अन्तर्गतकै बडहरेको मन्दिरडाँडा, दुर्छिमको बुद्धचोक, छापडाँडा जस्ता ठाउँमा पनि बजार बढ्दो छ।

केही वर्षअघिसम्म एक–दुइटा घर, पसल तथा होटल बनेको ठाउँमा लोकमार्गको स्तरोन्नतिसँगै दर्जनौं घर, पसल तथा होटल बनिसकेका छन्। लोकमार्गले छोएका र आसपास वडाबाट पायक पर्ने ठाउँमा क्रमशः बजार बढ्दो छ। मध्यपहाडी लोकमार्गको जयरामघाटदेखि चखेवाभञ्ज्याङसम्मको झन्डै एक सय १९ किलोमिटर खण्ड खोटाङभित्र पर्छ।

अहिले यो सडक खण्डलाई जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा विभाजन गरेर कालोपत्रेको काम भइरहेको छ ।मध्यपहाडी लोकमार्गको कालोपत्रे पूरा हुनुअगावै हलेसी, अर्खौले, बिजुले, नुनथला, हुर्लुङ, चखेवाभञ्ज्याङ लगायत ठाउँमा बजार सुरु भएको हो।

गाउँका घर छाडेर सडक किनारामा जग्गा किन्ने, घर बनाउने र व्यापार, व्यवसाय सञ्चालन गर्ने क्रमसँगै सडक किनारमा बस्ती बाक्लिन थालेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘मध्यपहाडीले आर्थिक समृद्धिको ढोका खोलेको छ । समृद्धिकै खोजीले सडक किनारमा बजार सुरु भएको हो,’ मेयर राईले भने, ‘सुविधाको लालसाले सडक किनारमा बस्ती बाक्लिने क्रम बढेको पाइएको छ।’

मध्यपहाडी लोकमार्गले खोटाङको धार्मिकस्थल हलेसीलाई छोएको छ । गाडीबाट हलेसी आउने–जाने पर्यटक तथा दर्शनार्थीको चापका कारण पनि हलेसी र जयरामबीच ठाउँ–ठाउँमा स–साना बजार फस्टाउन थालेको हो।

चिया, खाजा, खाना तथा दैनिक उपभोग्य सामानको व्यापारबाट स्थानीयले गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । सडकले आर्थिक समृद्धि ढोका खोलेकाले बस्ती सडक केन्द्रित हुन थालेको जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख बबी चामलिङले बताए । ‘हरेक विकासको पूर्वाधार सडक नै हो,’ चामलिङले भने, ‘सम्भावनाको खोजीमा सडक आसपास बजारीकरण बढेको हो।’

मध्यपहाडी लोकमार्ग आसपास विस्तार भएका साना बजारले उपभोग्य सामानका लागि ढाकर, तोक्मा बोकेर उदयपुरको कटारी, घुर्मी, बेलटार, मुर्कुचीलगायत बजारमा पुग्नुपर्ने बाध्यता अन्त्य गरेको छ । सडकको पहुँच विस्तार हुनुअघि दशकअघिसम्म नुनदेखि सुनसम्म किन्न उदयपुरको कटारी, घुर्मी पुग्नुपथ्र्यो । हप्ता दिनमा उपभोग्य सामान घरमा आइपुग्थ्यो । हाल सडक विस्तारसँगै सहर बजार गाउँमै आइपुगेको छ।

ढाकर, तोक्मा बोकेर ५–६ दिन हिँड्नुपर्ने समस्या हटेको छ । तराईबाट गाडीमार्फत गाउँको बजारसम्म उपभोग्य सामान आइपुग्दा ग्रामीण क्षेत्रको जनजीवन सहज भएको छ । सडक, पुल, भवन, जलविद्युत्लगायत भौतिक विकासका कामसमेत सहज भएको छ ।
पुरानो बजार सुनसान
खोटाङको दिप्रुङ गाउँपालिका–४ बतासेको भँडारेघाटको पुरानो बजार सुनसान बनेको छ । गाईघाट–दिक्तेल सडकअन्तर्गत महुरे–फोक्सिङटार सडकको ट्र्याक खुलेसँगै स्थानीय व्यवसायी सडकछेउ केन्द्रित भएपछि भँडारेघाटको पुरानो बजार सुनसान बनेको हो ।

गोरेटो बाटोको दायाँ–बायाँ घर बनाएर होटल तथा पसल सञ्चालन गर्दैआएका स्थानीय बस्तीभन्दा केही माथि बनेको महुरे–फोक्सिङटार सडक किनारमा सरेपछि गोरेटो बाटो आसपासका अधिकांश पुरानो घर रित्तो बनेको पूर्वगाविस अध्यक्ष राजेन्द्र राईले बताए। ‘गोरेटो छँदा भँडारेघाटको यही पुरानो बजार भरिभराउ थियो,’ पूर्वगाविस अध्यक्ष राईले भने, ‘सडक बनेपछि बजार सडकछेउमा सरेकाले पुरानो बजार सुकेर गएको हो।’

सडक बन्नुअघि दिक्तेल–गाईघाट ओहोर–दोहोर गर्ने जिल्लाबासीको खाना, खाजा खाने र बास बस्ने प्रमुख स्थानका रुपमा रहेको भँडारेघाटको नयाँ बजारमा अहिले पनि बाक्लो चहलपहल हुन्छ । तर, ढाकर बोकेर वा झोला बोकेर आउजाउ गर्ने स्थानीयलाई सदियौंदेखि आश्रय दिएको पुरानो बजारका घर भने प्रायः रित्ता छन्।

सडकले जग्गा नछोएका केही स्थानीय मात्र पुरानै बजारमा बसिरहेका छन् । अन्य घरको झ्याल ढोका बन्द गरिएका छन् । स्याहार सम्भार अभावमा घरहरु पुरानो हुँदै गएको देखिन्छ । कतिपय घर भत्किन थालेका छन्।कतिपयले उपयोगविहीन घरभित्र बाख्रा कुखुरा राखेका छन् । पुरानो बजार छाडेका स्थानीयले सडक आसपासमा घर–टहरा निर्माण गरेर नयाँ होटल तथा पसल सञ्चालन गरिरहेका छन्।

नेपाल सरकार र स्विजरल्यान्ड सरकारको संयुक्त लगानीमा २०६७ भदौ १६ गतेदेखि निर्माण सुरु गरिएको सो सडक बनेपछि अधिकांश स्थानीय सडकमा उक्लिएका हुन्। खोटाङ र पूर्वी नेपालका सहर जोड्ने सडक निर्माणको काम २०७० असार मसान्तमा सम्पन्न भएको हो ।
सडक बन्नुअघि खोटाङका दिक्तेललगायत दर्जनौं वडाका स्थानीय पैदल हिँडेरै भँडारेघाट हुँदै गाईघाट लगायत सहर पुग्थे, सोही बाटो भएर फर्कन्थे । सडक बन्नुअघि आयात र निर्यातको प्रमुख मार्ग नै थियो भँडारेघाट।

सडक नहुँदा गोरेटो बाटोमा कोही ढाकर बोकेका, कोही झोला बोकेका स्थानीयको बाक्लो ओहोर–दोहोर हुन्थ्यो । गोरेटो बाटोमा हुने बाक्लो ओहोर–दोहोरका कारण भँडारेघाटमा खाना, खाजा र बाँसबापत स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दैआएका थिए।

भँडारेघाटलाई सडकले छोएपछि पैदल यात्री नहिँडे पनि बस तथा जिपमार्फत यात्रा गर्ने यात्रुले खाना, खाजा खाने र बास बस्ने गरेकाले अहिले पनि सडक किनारामा सरेका व्यवसायीको आम्दानी लोभलाग्दो छ । ‘सडक नहुँदा गोरेटो बाटो थियो।

ढाकर र झोला बोकेका मान्छेको बाक्लो आउजाउ हुन्थ्यो । दिक्तेलबाट हिँडेका मान्छे यही बास बस्थे, गाईघाटबाट आएका मान्छे यही बास बस्थे,’ पूर्वगाविस अध्यक्ष राईले भने, ‘तर, सडकको ट्र्याक खुल्न थालेसँगै बजार सडकछेउमा स¥यो । पुरानो बजार सुनसान भएको हो।’

सुनकोसीमा पौडी खेल्न पाइने र माछाको परिकार खान पाइने भएकाले अहिले भँडारेघाट चर्चित छ । पर्यटन प्रवद्र्धनका लागि पछिल्लो समय दिप्रुङ गाउँपालिकाले पुस २४ गते बतासेको भिरचुङ्मा डाँडाबाट सानो भँडारेघाटसम्म प्याराग्लाइडिङ परीक्षण गरेसँगै भँडारेघाटमा बजारीकरणको सम्भावना अझ बढेको छ । भँडारेघाटभन्दा केही मिनेटमुनि रहेको सुनकोसीमा ¥याफ्टिङ व्यवसाय सञ्चालनका लागि समेत पहल गरिने दिप्रुङ गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए।

‘प्याराग्लाइडिङ, र्‍याफ्टिङका माध्यमबाट स्वदेशी र विदेशी पर्यटकलाई तान्ने प्रयास थालेका छौं,’ गाउँपालिका प्रमुख राईले भने, ‘स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सके भँडारेघाटको भविष्य थप उज्यालो हुनेछ ।’ सडक विस्तारपछि नयाँ आवास बसाउने क्रममा पुरानो बजार ओझेलमा परेको स्थानीय पवन श्रेष्ठले बताए।
 

प्रकाशित: ३० चैत्र २०७४ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App