७ वैशाख २०८१ शुक्रबार
अर्थ

छैठौं लाङटाङ पर्यटन उत्सव हुने

रसुवा – रसुवामा वैशाख १ गतेदेखि छैटौं लाङटाङ पर्यटन तथा संरक्षण उत्सव हुने भएको छ । वन्यजन्तु सप्ताहको अवसर पारेर हरेक वर्ष सञ्चालन गर्दै आएको उक्त उत्सव तथा रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता यो पटक पनि सञ्चालन गर्न लागिएको हो।

पर्यटन प्रवर्द्धन तथा जैविक विविधता संरक्षणमा सहयोग पुर्‍याउनका लागि हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए।

लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्ला समन्वय समिति (जिसस)ले संयुक्त रुपमा उत्सवको आयोजना गर्न लागेका हुन् । एक हप्तासम्म सञ्चालन हुने उत्सवमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाको सहयोग रहने आयोजकले जनाएको छ।  
वैसाख १ गतेदेखि सुरु हुने कार्यक्रममा सरसफाइ गर्नेदेखि नवौं रेडपाण्डा ट्रफी भलिबल प्रतियोगितासमेत सञ्चालन हुने कार्यक्रमको मुख्य संयोजक लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज ल्याकोसले जनाएको छ।

रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता, मृग नाच प्रदर्शन, ग्रिन कन्सर्टलगायत कार्यक्रम समेटिएको ल्याकोसका अध्यक्ष सन्तोष घलेले बताए । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको घलेको भनाइ छ । ‘हामी कार्यक्रमको तयारीमा लागेका छौं, अध्यक्ष घलेले भने, ‘पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खालका साताव्यापी गतिविधि सञ्चालन हुने छ।’

साथै स्थानीय कला, संस्कृति, पर्यटन, हस्तकला, सरसफाइ, पोषणलगायत जानकारीमूलक स्टल राखिने, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रम र पार्क भर्सेज जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिने छ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा फैलिएको निकुञ्जभित्र नेपाली सेनाको नौवटा र निकञ्जको १० वटा पोस्ट रहेका छन् । २०३२ चैत ९ गते स्थापना गरिएको निकुञ्जले रसुवाको ५७ प्रतिशत, नुवाकोटको सात प्रतिशत र सिन्धुपाल्चोकको ३६ प्रतिशत क्षेत्रफल ओगटेको छ।

निकुञ्जभित्र हुने वन पैदावरको चापलाई न्यूनीकरण गर्न तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि २१ वटा उपभोक्ता समिति र एक सय ९१ वटा उपभोक्ता समूह क्रियाशील रहेका छन् । यहाँ विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वासो, सालक, चरी बाघलगायत वन्यजन्तु पाइन्छन्।

निकुञ्जमा एक सयभन्दा बढी वनस्पति, ४६ प्रजातिभन्दा बढी स्तनधारी जनावर, तीन सय १२ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । जिल्लामा बर्सेनि स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पर्यटकको आगमन बढाउन सरकारी कार्यलय तथा गैरसरकारी संस्थाले प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

प्रकाशित: ३० चैत्र २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App