coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नयाँ वर्षको उपहार नगर बस

मकवानपुर – साना सवारी साधनको बढ्दो चाप र महँगो भाडा दरबाट दिक्क भएका नगरवासीलाई नयाँ वर्षको उपहारस्वरूप नगर बस सेवा सञ्चालन गरिने भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडावासीलाई नयाँ वर्षको वैशाखदेखि नगर बसबाट सेवा दिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए। बुधबार आयोजित पत्रकार सम्मेलनमा हेटौंडा मेयर महतले नगर बस सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाए।

नगरवासीलाई छिटो र सर्वसुलभ दरमा नगर बस सेवा दिन धमाधम काम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले बताए। ‘नगर क्षेत्रमा साना सवारी साधन मयूरी र अटो रिक्साबाट ट्राफिक जाम र भिडभाड भएको छ,’ उनले भने ‘त्यसको विकल्प र प्रतिस्पर्धीका रूपमा नगर बसले यातायात सेवा दिनेछ।’

केही व्यवसायी नगर बस सञ्चालनमा संलग्न हुन चाहेको भन्दै उनले तयार गरिसकेको कार्यविधि मस्यौदालाई नगर कार्यपालिकाले पास गरेपछि बस सञ्चालन गरिने बताए।

ठूला बस सञ्चालन गर्दा सहजता नहुने भएकाले मिनी बस र माइक्रो बसलाई नगर बसका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ। व्यवसायीले बस सञ्चालन गर्ने भए पनि उपमहानगरपालिकाले भाडा तोक्ने र सहजीकरण गर्ने उनले बताए।

हेटौंडाको मुख्य बजार क्षेत्रमा विद्युतीय रिक्सा मयूरी र अटो रिक्सामात्र करिब १ हजार २ सयवटा सञ्चालनमा रहेको हेटौंडा उपमहानगरपालिकाको अनुमान छ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका सूचना अधिकारी डा. शंकरप्रसाद उपाध्यायले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। जसअनुसार ८२ करोड १३ लाख ९४ हजार रुपैयाँ अर्थात् वार्षिक अनुमानित आयको करिब ६३ प्रतिशत संकलन गर्न उपमहानगरपालिका सफल भएको छ। त्यस्तै व्ययतर्फ भने वार्षिक अनुमानित खर्चको करिब ४१ प्रतिशत अर्थात् ५३ करोड ८५ लाख ८७ हजार रुपैयाँमात्र प्राप्त भएको छ। भौतिक पूर्वाधारतर्फ २५ लाखभन्दा ठूला १८ आयोजनाकै बजेट १० करोड ७३ लाख ३ हजार रुपैयाँ रहेको छ भने १९ वडा रहेको उपमहानगरपालिकामा कालोपत्रे सडक ८ वटा, सडक ढलान १ सय २९ वटा र कल्र्भट ७ वटा निर्माण भएको उपाध्यायले बताए। आर्थिक ऐन, बजेट, नीति तथा कार्यक्रम २०७४, विनियोजन ऐन, शिक्षा ऐन, न्यायिक समिति कार्यविधि ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन र सहकारी ऐन गरी ८ वटा ऐन तथा ६ वटा कार्यविधि र नियमावली नगरसभाबाट स्वीकृत गरी लागू गरेको छ।

प्रकाशित: ३० चैत्र २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App