coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

पूर्वीय दर्शन

पूर्वीय साहित्य चिन्तन परम्परा महत्वपूर्ण छ। विश्वका कतिपय साहित्यिक चिन्तकहरूले पूर्वीय साहित्यिक परम्परालाई नयाँ शिक्षाको मार्ग निर्देशन मानेका छन्। ती प्राच्य दर्शनको योग, वेदान्त मीमांसा तथा व्याकरणका षट्दर्शनका आधार स्तम्भहरू उल्लेख रूपमा रहेका छन्। पश्चिमी विद्वान् म्याक्समुलर, आइन्स्टाइन तथा गुमर जस्ता विद्वान्हरूले प्राच्य दर्शनको महत्वलाई प्रकाश पारेका छन्। यिनीहरूले साहित्यको सौन्दर्य वा आन्तरिक तत्वको महत्व र गरिमा बढाउने काम पूर्वीय चिन्तन परम्पराले नै गरेको हुन्छ  भनेका छन्। साहित्यका रस, छन्द, अलङ्कार तथा साधारणीकरण जस्ता सिद्धान्तहरू प्रयोगात्मक रूपमा रहेका छन्। इहलोक र परलोकको दर्शन, जीवन, त्यसको सुन्दर पक्षको बयान पाइन्छ। ईश्वरवाद तथा अनिश्वरवादको चिन्तन परम्परा मानवीय चाहना, रूप, रङ्ग र रसको समन्वयको रूप यस चिन्तनमा पाउन सकिन्छ। आत्मा–परमात्माको चिन्तनलाई गीताको दर्शनले प्रतिपादन गरेको छ। पञ्चमहाभूत, पञ्चतन्मात्र, पञ्चकर्म र पञ्चज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय जस्ता तत्वको विशद् चरित्र चित्रणले पनि पूर्वीय दर्शनको रूपलाई चिन्तित गरेको छ। ध्यान, समाधि जस्ता मोक्षमार्गको विषयमा समेत यस्तो परम्परावादी चिन्तन भन्दा उपयुक्त हु“दैन, किनकि यी कुराहरू स्वतः प्रमाणित भएका छन्।

पूर्वीय चिन्तको विशद् अध्ययन चिन्तन र मनन गर्ने वैज्ञानिक म्याक्समुलर, आचार्य तिलक तथा नगेन्द्रजस्ता विद्वान्हरूले समेत विविध वाद तथा चिन्तनको चर्चा गरेका छन्। उनीहरूले आन्तरिक सौन्दर्यको अभिवृद्धि तथा गुण गौरव बढाउनका लागि ध्वनि सम्प्रदाय र रस सम्प्रदायले गरेको ठान्छन्। किनकि जीवनका हरेक सोच, चिन्तन र मननमा अन्तष्चेतनामा ज्ञान प्रवाह भई उब्जने आनन्द भाव नै ध्वनि हो। ध्वनिका लय तथा भाव तरङ्गबाट सौन्दर्यशक्तिको वृद्धि हुन्छ। त्यो देखिँदैन, जसलाई केवल अनुभवद्वारा ग्रहण वा लिने गरिन्छ। ध्वनिवादी चिन्तकहरूले शब्दमा प्राप्त हुने भावबोध तथा त्यसका प्रभाव तत्वलाई अभिप्रेरित गर्ने शक्ति ध्वनिमा रहेको छ। वक्रोक्ति सिद्धान्त पनि पूर्वीय साहित्य चिन्तन परम्पराको अभिन्न अङ्ग हो। कुन्तकले आफ्नो मान्यता तथा सिद्धान्तमा आधारित भई पदको वक्रता, विविधता र चमत्कार त्यसका शैली, भाव भंगिमाले पनि काव्यमा आनन्द प्रदान गर्छन्। काव्यमा आनन्द प्रदान गर्ने शक्ति नै सुखदर्शनको उदाहरण मान्न सकिन्छ। रीति सिद्धान्त जुन विशिष्ट प्रकारको भनाइ विशिष्ट पद रचना वा पद विन्यासको अंश जुन असाधारण वा जटिल प्रसङ्गलाई सरलीकरण गर्दै काव्यिक आनन्द प्रदान गर्दै जाने गर्छ। रीति सिद्धान्त जसले निश्चित वर्णहरूद्वारा व्यञ्जित हुने रसका आन्तरिक धर्म गुणलाई विशेष तरिकाद्वारा अभिव्यञ्जन गरिन्छ। गुण र रसको स्थिर धर्म रहनु, विविध गुणको उत्कृष्टता रहन, करुण, शान्त तथा शृङ्गार रसको समायोजन हुनु यसका वैशिष्ट गुण मानिन्छन् जसले आन्तरिक चेष्टाको ख्याल गर्ने काम गर्छ। कविको आन्तरिक गुण प्रतिपादित हुने, अर्थ गौरवपूर्ण हुने जस्ता विशेषताहरू यसका रहेका छन्। यस्ता विशेषताले युक्त भएका गुण हुनु पनि जीवन दर्शनकै अभिन्न अङ्ग हुन्। पद सङ्घटना, पदरचना, शब्द र गुणको गौरवगाथा र यसको महत्व, रसधर्मिता, काव्यको आन्तरिक तथा बाह्य शक्तिमा प्रभाव पार्ने काम यस सिद्धान्तले गर्छ। तसर्थ यी विषय पनि जीवन दर्शनका उपाय मानिन्छन्।

निष्कर्षमा जति पनि पूर्वीय वाङ्मयमा वाद, प्रणाली, सिद्धान्त तथा विषयहरू रहेका छन्, ती सबै नेपाली साहित्यका दार्शनिक विषयसँग सम्बन्धित छन्। दार्शनिक चिन्तनमा सधैँ आत्मा–परमात्माको चिन्तन र सम्बन्ध, इहलोक, परलोक, मानवीय सोच र वैचारिक तह, त्यसले पारेका सकारात्मक चिन्तन, सभ्यता र संस्कृतिको प्रभाव परेको हुन्छ। जे भए पनि पूर्वीय चिन्तन परम्पराले भौतिक वा अभौतिक तत्वको खोजीनीति गर्दै अघि बढ्ने गर्छ र मानवजीवनको सच्चा भाव यसमै रहन्छ।

प्रकाशित: २९ चैत्र २०७४ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App