coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कर्णालीको ‘गेमचेन्ज’ गर्न रारामा ओली?

कर्णालीलाई समृद्ध, सशक्त र अझै सुन्दर बनाउन प्रधानमन्त्री केपी ओलीनयाँ वर्षको पहिलो दिन सुखी नेपाली, समृद्ध नेपाल अभियानको शृंखला शुभारम्भ गर्दैछन्। मुगु जिल्लास्थित नेपालको सबैभन्दा सुन्दर रारा तालको किनारामा उभिएर नेपाली जनता र विश्व जनमतलाई नयाँ वर्षको शुभारम्भमा नयाँ युगउद्घोष गर्दैछन्।

प्रधानमन्त्री ओलीले आफ्नो समृद्ध नेपाल बनाउने अभियानको शुरुवात गर्न विपन्न कर्णालीलाई नै किन रोजे? उनले नै बताउलान् तर देशका सात प्रदेशमध्ये विकासका दृष्टिबाट यो प्रदेश सबैभन्दा पछाडि रहेको कटु यथार्थ हो।

कर्णाली शिक्षा, स्वास्थ्य, आयुमा देशमा सबैभन्दा पछाडि छ। प्रदेशमध्ये सबैभन्दा कमजोर क्षेत्र नै यही हो। आर्थिक विकासका दृष्टिमा यो प्रदेशले मुलुकको आन्तरिक आयको २ प्रतिशतमात्र आर्जन गर्छ भने कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतमात्र योगदान गर्छ। पूर्वाधार विकासका दृष्टिबाट पनि अहिलेसम्म सडक नपुगेका हुम्ला र डोल्पा यहीँछन्।

तिम्रो सर्त एउटै हुनुपर्छ ओली, संसारका धनाढ्यहरूको आकर्षणको केन्द्र बन्नुपर्छ कर्णाली र रारा । यसैले नेपालको प्रवद्र्धन गर्छ।

यो प्रदेशको जनसंख्या जम्मा १७ लाख छ जो देशको कुल जनसंख्याको ६ प्रतिशतमात्र हो। क्षेत्रफल भने देशको भूभागको २१ प्रतिशत ओगटेको छ। जलस्रोत, पर्यटन, कृषि, जडीबुटी र वन्यजन्तुकानिम्ति त यो प्रदेशलाई खानी नै मानिन्छ। प्राकृतिक सम्पन्नता र सुन्दरताका दृष्टिबाट भने यो प्रदेश अब्बल छ। वन, हिमाल, नदीनाला, फल र फूल, च्याउ, यार्सागुम्बा, पुतली रचराचुरुंगीका दृष्टिमा यो प्रदेश यति सम्पन्न र समृद्ध छ कि अन्यसँग तुलनै हुँदैन।

हिन्दु र बुद्धमार्गीहरूको आस्थाको केन्द्र भनिने कैलाश मानसरोवर जाने द्वार हो कर्णाली। यो द्वार दक्षिणी छिमेक भारतका हिन्दु र उत्तरी छिमेकी चीनका बुद्धमार्गीलाई लुम्बिनी पु¥याउनका लागि खुल्यो भने कर्णालीको भाग्य युगयुगसम्म खुल्नेछ।

विकासको दृष्टिबाट निकै सम्पन्न र वर्तमानमा अत्यन्त विपन्नता कर्णाली प्रदेशको यथार्थ हो। यही यथार्थबाट हौसिएर समृद्ध नेपाल बनाउने अभियानमा होमिएका प्रधानमन्त्री ओलीले कर्णालीलाई छानेका हुन् वा रारा ताल डुल्ने योजनाका लागि उनका घेरावालले बनाएको कार्यक्रममा उपस्थित भएर यो नाटक मञ्चन गर्न लागेका हुन्? समयले नै बताउला।

प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको श्रीगणेशका लागि छानेका हुन् वा आफ्ना सीमित घेरावालको योजनामा पिकनिक खान रारा उड्न लागेका हुन् ?कर्णाली प्रदेशको ‘गेमचेन्जर’ बनेभने उनी वास्तवमा अजर/अमर बन्ने छन्। होइन भने माधव नेपालको कालापत्थर मन्त्रिपरिषद् बैठकको दोस्रो पटाक्षेपमा ओली नारायणहरि हुनेछन्।

तर ओलीको नेतृत्वमा नेपाल सरकार देश बनाउने अभियानमा कम्मर कसेर लागेको भान दिनखोजिरहेको छ। नयाँ वर्षको पहिलो दिनमा विकास अभियान थाले भने प्रधानमन्त्री ओलीबाट चुनावपछि देश नयाँ युगमा प्रवेशको औपचारिक श्रीगणेश हुनेछ। भर्खरै औपचारिक भ्रमण गरेर भारतसँगको सम्बन्धमा गेम चेन्जर बनेका ओलीले फर्किएको एक साताभित्रै मुलुकभित्रको विकासका दृष्टिमा सबैभन्दा कमजोर कर्णाली प्रदेशको गेमचेन्जर बनेभने उनी अजर÷अमर बन्नेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शब्द सापटी लिएर भन्ने हो भने कर्णालीको पानी र जवानी पनि त्यहाँ बस्नेवाला छैन। युवाहरूको आवश्यकता र चाहनालाई संबोधन नगर्ने हो भने हिमाल र पहाडी भूभागले तिनलाई त्यहाँ किमार्थ अड्याउन सक्दैन। पैसा कमायो वा वितरण गरियो भने पनि पहाड र हिमालका निर्जन ठाउँमा युवा बस्दैनन्। उनीहरूसमतल भूभाग र सुविधा सम्पन्न उपत्यकाहरूमा नै घर बनाएर बस्न चाहन्छन्।

यो कुरा आउँदो शनिबार अतिसुन्दर रारा तालको किनारमा उभिएर राष्ट्रको नाउँमा संबोधन गर्न लागेका प्रधानमन्त्री ओलीले बुझून्। किनभने कर्णाली प्रदेशमा जुन जल, जंगल, जडीबुटी र हिमाल छन् तिनलाई सम्पन्नता भएपछि मात्र प्रयोग गर्न सकिन्छ। गफ गरेर र पैसा बाँडेर तिनको उपयोग र उपभोग कर्णालीबासीले गर्न सक्थे भने अहिलेसम्म कर्णालीले विपन्न प्रदेशको पगरी गुथिरहनु नै पर्ने थिएन ।कान्तिपुरका पूर्वसम्पादक नारायण वाग्लेले दुईचार बोरा चामल बाँडेर र मान्छेसँग दुईचार हजार चन्दा उठाएर अर्का पत्रकार भैरव रिसालले केही घरमा सोलार बत्ती बालिदिएपछि हुम्ला उज्यालो र कर्णालीको विपन्नता छुमन्तर हुनुपर्ने थियो। विषयविद् भन्छन्– कर्णालीलाई कसैले दरिद्र र परनिर्भर बनायो भने राजा महेन्द्रको भाते राजनीतिले बनायो।

त्यसैले रारा तालमा बोल्नुअघि सोच, विचार र विश्लेषण गरेपछि मात्र कर्णालीको गेमचेन्जर योजना बनाऊओली। किनभने नेपाली लोकोक्ति नै छ, वर्षको पहिलो दिन बोलेको कुरा पूरा गर्न सकिनेमात्र बोल। यदि पूरा गर्न नसकिने गरी खोक्यौ भने तिम्रो वर्षभरका अरु ३ सय ६४ दिनलाई बिच्छुक लाग्नेछ र तिमी नारायणहरि बनाइने छौ।

त्यसैले कर्णालीको विकास साँच्चै गर्ने हो भने एकदेखि पाँच, दश, पन्ध्रवटा प्राथमिकता तोक। तिम्रा प्राथमिकताले कर्णालीसँग जे सम्पन्नता छ, तिनैबाट धेरै मानिसलाई खुसी पार्ने र रमाइलो हुने प्रोजेक्ट बनाऊ। ती प्रोजेक्टमा गरिबले लगानी गर्न सक्दैनन्। लगानी गर्न सक्ने धनीमानी र उद्यमी नै हुन्। हो, त्यसैले तिनलाई आह्वान गर–आउ कर्णालीको यो योजनामा लगानी गर। नेपाल सरकारले तिमीलाई दश वर्षसम्म पनि ट्याक्स मिनाहा दिनेछ। तिमीलाई चाहिने पूर्वाधारका लागि जमिन र शान्तिसुरक्षा सरकारले दिनेछ। तिमी नेपालीलाई रोजगारी देऊर कर्णालीलाई संसारभरका धनीमानी जिन्दगीमा एकपल्ट पुग्नैपर्ने आकर्षक थलो बनाऊ।

पैसावालले विशेष अवसर र सुविधा नपाउने हो भने लगानी गर्न आउँदैनन्। न चीनमा लगानी गर्न गए न त भारतमै। उनीहरू नआइ प्रकृतिको त्यो सुन्दर क्षेत्र त्यो कर्णालीको न जल, न हिमाल, न त प्रकृति, न वन्यजन्तु, न त जडीबुटी नै गरिबले प्रयोग गर्न सक्ने कुरा हुन्। नेपाली र झोले टुरिस्टले ब्वाइलर कुखुरा र जाँडरक्सी खाने भट्टी खोल्न दिएर कर्णालीको विकास सम्भव छैन, तिनले कर्णालीको विनास र कुलतमात्र विस्तार गर्नेछन्। रारा तालमा भाषण गरिरहँदा त्यहाँ जथाभावी फ्याँकिएका फोहोरबाट चेत ओली। अहिलेसम्म जति गफ भए, तिनले विकास हुने भएको भए कर्णालीले भोक, रोग र सोकबाट निसास्सिइरहनु नै पर्ने थिएन।

कर्णालीको गेम चेन्जर योजना साँच्चै कार्यान्वयन गर्ने हो भने पहिलो चरणमा विदेशी र अरुलाई होइन ओली, तिमी वरिपरि परिक्रमा गर्ने दश उद्योगपति र व्यापारीलाई पनि छानेर आफूसँगै कर्णाली लैजाऊ। ती उद्योगपतिका म्याडमहरूलाई पनि सँगै लैजान भन। साँच्चै तिनीहरू मुलुकलाई माया गर्न र तिमीलाई सफल बनाउन तिम्रा वरिपरि घुमिरहेका हुन् कि तिमीसँग राजकीय लाभ लिनमात्र टाँस्सिएका हुन्, यही शुभ मुहूर्तमा परीक्षण गर।

तिमीलाई कन्फ्युज भयो ओली? मसँग को छन् र उद्योगपति÷व्यापारी? तिमीसँग छन् ओली, ती तिनीहरू नै हुन् जो तिमीसँग भर्खरै भारतको भ्रमण गर्दा गएका थिए। पहिलोपल्ट तिमी चीन जाँदा पनि सँगै थिए। हो, तिनलाई नै भन, कर्णाली बनाउने कुन योजनामा तिमी लगानी गर्छौ? एक वर्षमा के गर्छौ? कति बनाउँछौँ ? जमिन राज्यले दिन्छ भन। ट्याक्स कति वर्ष फ्रि खोज्छन् त्यो पनि सोध र देऊ तर कर्णालीमा लगानी गरेर मोडल बनाइ देखाऊ भन्न नबिर्स।

संसारका सय धनीहरूको पहिलो गन्तव्य रारा बनाउने कार्यक्रम बनाउन तिनलाई भन ओली। ताकि संसारभरबाट धनीमानी आउन्। किनभने धनीले नै लगानी गर्न सक्छन्। खर्च गर्न सक्छन्। संसारकै ‘वानपिस’ हुने योजना बनाउन् र विश्वकै धनीहरूलाई पनि लागोस् कि त्यहाँ नपुगी छाड्दिन। आउँछ। खर्च गरुन्। बसून्, हेरुन् र लगानी गरुन्।

तिम्रो सर्त एउटै हुनुपर्छ ओली, संसारका धनाढ्यहरूको आकर्षणको केन्द्र बन्नुपर्छ कर्णाली र रारा। यसैले नेपालको प्रवद्र्धन गर्छ। समृद्ध नेपाल र सुखी नेपाली महान् अभियानको आधारशीला बन्छ । यसका लागि पहिलो चरणमा तिमीले सधैँ तिम्रै वरिपरि बसेर ठूला कुरा र योजनाका गफ गर्नेहरूलाई नै समय तोकेर काम गर्ने जिम्मेवारी देऊ।

यसो गर्दा तिमीलाई र बाँकी नेपालीलाई मात्र होइन, कर्णालीबासीलाई नै फाइदा हुन्छ। पहिलो त तिमीलाई घेरेर बस्नेहरूमध्ये साँच्चिकै को रहेछ कर्मशील, व्यवसायी नयाँ योजना बनाएर लगानी गर्ने? को रहेछ साँच्चिकै उद्यमी? को रहेछ गफ गरेर खाने? को रहेछ कमिसन एजेन्ट र चाकरबाज? भन्ने थाहा हुन्छ।

त्यसपछि मात्र काम गर्नेहरू तिमीसँग रहने छन्। गफाडीहरू तिमीबाट टाढिँदै जानेछन्। यसो गरेनौँ भने ओली तिम्रा वरिपरि भिखारीको भीडमात्र हुनेछ। तिमीले नै भर्खरैको अन्तर्वार्तामा भनेका छौ–बारी बाँझो छ, तास खेलेर बस्नेसँग संगत गरेर बसिरहने हो भने दरिद्रताबाहेक के बाँकी रहन्छ?

यसो गर्न सकेनौ भने ओली तिमी पनि माधव नेपाल जस्तै हुनेछौ। उनको कालापत्थर मन्त्रिमण्डलको बैठक नाटकमात्र भयो, सकियो। यदि तिमीले पनि उपरोक्त कुरामा ध्यान दिएनौ भने तिम्रो रारा संबोधन पनि कालापत्थर नाटकको दोस्रो पटाक्षेपमात्र हुनेछ । राष्ट्रिय संपत्तिको सत्यानास र समयको बर्बादी नहोस्। तिमीले गरेका प्रत्येक पलका सोच र कामले जनताको विकास र मुलुक सम्पन्न हुनैपर्छ । यसमा किन्तु, परन्तु वा कमा फुलिस्टप हुनुहुँदैन।

तिमीले सिंहदरवारमा प्रधानमन्त्रीको कुर्सीमा बस्दा पनि जो÷जससँग भेटघाट, कुराकानी गरेर बस्दा पनि हुन्छ । यसका लागि तिमीले एउटै कुरामात्र गरे पुग्छ।  त्यो के भने तिमीले आफ्नो बुद्धि, विवेक, जाँगर र सिप प्रयोग गरेर सप्रेको किसान, पशु–पन्छी–माछापालक, मास्टर, प्राध्यापक, डाक्टर, इन्जिनियर, डकर्मी, सिकर्मी, पत्रकार, लेखक, पर्यटन व्यवसायी जोसँग भेट्दा पनि हुन्छ। आफैँ बिग्रेकाले त हे ओली तिमीलाई के सपार्ला? त्यसले सरुवा, बढुवा, कमिसन, दलाली खानेबाहेक केही गर्दैन भन्ने कुरा बुझ। तिनले तिम्रो समयमात्र बर्बाद गर्छन्। तिम्रो समय नष्ट हुनु भनेको तीन करोड नेपालीको समय बर्बाद हुनु हो। कुनै मास्टर भेट्न आउँछन् भने सोध, तिमीले कति विद्यार्थीलाई सपा¥यौ? तिमीले सपारेका मानिस के भए भनेर सोध, यति सोधिसकेपछि तिमीले खुट्याइहाल्छौ नि योसँगको संगत उपयोगी हुन्छ कि हुँदैन।

चाकरीवाजको घेरा तोड, ओली। चाकरीबाजले जनतालाई पहिल्यै खाइसके। तिमीले पनि यिनको घेरा तोड्न सकेनौ भने यिनले अब तिमीलाई खान्छन्। कर्णाली साह्रै सम्पन्न छ, ओली। मात्र यसका विशेषता चिन्न, त्यसमाथि लगानी गर्न, संसारभरका धनीलाई त्यसप्रति आकर्षित गर्ने अक्किल भएका अर्गानिक धनी उद्यमी आकर्षित गराउन तिम्रो सरकारलाई सफलता प्राप्त भयो भने कर्णाली माथिआउन धेरै समय लाग्दैन।

कर्णाली प्रदेशका मन्त्री दलबहादुर रावल, प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा र सामुदायिक वन उपभोक्ता महासंघका सचिव विर्खबहादुर शाहीले एक भेटमा भनेका थिए–हरेक क्षेत्रमा कर्णाली भर्जिन छ। जलविद्युत्, जडीबुटी, वन्यपशुपालन, पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्यको क्षेत्रमा ध्यान केन्द्रित गरेर अगाडि बढ्नैपर्छ। छिमेकी चीनले कस्तूरी मृग, बाघ जस्ता उच्च मूल्यका वन्यजन्तु पालेर कमाउन सक्छ भने हामी पनि मृग, बँदेल र च्याखुराको व्यावसायिक पालन, शिकार आरक्ष बनाउन र अन्तर्राष्ट्रिय धनीहरूको आकर्षणको केन्द्र बनाउन सक्छौँ।

तर भन्नैपर्छ, केही अपवाद छाडेर ढुंग्रो नलुकाइ भन्ने हो भने हे ओली, स्थानीय, प्रदेश र संघीय संरचनामा पुगेका निर्वाचित प्रतिनिधि र निकाय पटक्कै सक्रिय हुनसकेका छैनन्। यी त मात्र बहिदार, खर्दार र सुब्बा बनेका छन्। यिनलाई नै जनप्रतिनिधि मान्नुपर्ने हो भने ओली, लोकतन्त्रको यो भन्दा ठूलो दुर्भाग्य अर्को हुनेछैन। त्यसैले रारा संबोधनमा जनप्रतिनिधिको काम के हो? लोकतन्त्रमा पार्टी सञ्चालन कसरी हुनुपर्छ? तिम्रो अभियानमा तिम्रै पार्टीका कार्यकर्ताको भूमिका केहो ?रारामै बोल,जिम्मेवारी देऊ र परिचालन गर। एक वर्ष बितिसक्यो, ती अझै अलमलिइरहेका छन्। माखो मार्न सकेका छैनन्। यति ग¥यौ भने नयाँ वर्षले साँच्चै नयाँपन ल्याउने आशा र विश्वास गर्न सकिन्छ। तिम्रो अभियानको सफलताको शुभकामना।

प्रकाशित: २९ चैत्र २०७४ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App