४ वैशाख २०८१ मंगलबार
मुख्य समाचार

संविधानवारे मधेशमा भ्रम फैलाइयोः खनाल

जनकपुर– नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले केही तत्वले मधेशमा नयाँ संविधानबारे भ्रम फैलाएकै कारण असन्तुष्टी बढेको टिप्पणी गरेका छन्।

बिहीबार धनुषाको ढल्केवरमा राधाकृष्ण मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गर्दै खनालले तराईदेखि हिमालसम्मका जिल्लाबाट प्रतिनिधित्व गर्ने ९० प्रतिशतभन्दा बढी सभासद्को निर्णयबाट आएको संविधानविरुद्ध आन्दोलनको कुनै तुक नरहेको जिकिर गरे। मधेशको हितमा काम गर्ने दलहरुमध्ये सबैभन्दा बढी इमान्दार पार्टी एमाले भएको ठोकुवा गर्दै खनालले अगामी निर्वाचनका लागि स्थानीयसँग भोट पनि मागेका थिए।

आफूहरु सरकारमा नरहे पनि यथाशक्य चाँडो निर्वाचन गराउन माग गर्दै उनले अहिलेको संविधानलाई असफल बनाउन केही शक्तिले निर्वाचनलाई ओझेलमा पार्ने षडयन्त्र रच्न थालेको आरोप लगाए। नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत निर्धारित समयसीमाभित्र निर्वाचन गराउन जालझेल गरिरहेको उल्लेख गर्दै उनले १९ वर्षदेखि रिक्त रहेको स्थानीय निकायको निर्वाचन गराउन कुनै बहाना सह्य नहुने चेतावनी दिए।

मुलुकको राजनीतिक व्यवस्थालाई सफा राख्न राजनेताहरुले पहिले आफ्नो मन सफा गर्नुपर्ने बताउँदै खनालले सत्संग र धार्मिक आस्थाका कार्यक्रमहरुलाई प्रबद्र्धन गर्न सम्बद्ध पक्षलाई आग्रह गरे। श्रीमद् भागवत गीता ज्ञान सप्ताह महायज्ञको समापन अवसरमा राधाकृष्णको मन्दिर तथा सामुदायिक भवन उद्घाटन गर्न आएका खनालले पछिल्लो समय नेपाली राजनीतिमा फोहोरी खेल बढिरहेको प्रति चिन्ता व्यक्त गरे। उनले लगातार दुई पटक एमाले प्रतिनिधिलाई निर्वाचित गराउने त्यस क्षेत्र (धनुषा ७) का मतदातालाई धन्यवाद दिँदै अगामी निर्वाचनमा समेत एमालेलाई जिताउन निवेदन गरे। खनालले धेरै पटक सहभागीसँग पार्टीका तर्फबाट भोट मागे।

 

प्रकाशित: ९ भाद्र २०७३ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App