४ वैशाख २०८१ मंगलबार
राजनीति

‘सबै एक ढिक्का बनौं’

कांग्रेस नेता खुमबहादुर खड्काको १३ दिनको तिथिमा देउखरी सतबरियामा आयोजित श्रद्धाञ्जलिसभामा कांग्रेसका शिर्ष नेताहरु। तस्बिर : देवेन्द्र/नागरिक

दाङ – कांग्रेसका शीर्ष नेताहरुले आन्तरिक झमेला अन्त्य गरेर पार्टी संगठनलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्। निर्वाचनमा पराजित हुनुमा आन्तरिक झमेला पनि एउटा कारण रहेको बताएका उनीहरुले संगठनलाई मजबुत बनाउन पार्टीभित्रको एकता अपरिहार्य रहेको धारणा राखेका हुन्। पार्टीभित्रको विमति अन्त्य गर्न सके मात्रै कांग्रेस बलियो बन्ने उनीहरुको भनाइ छ।

कांग्रेस नेता खुमबहादुर खड्काको १३औं दिनको तिथिमा खड्का निवास देउखुरी सतबरियामा गरिएको श्रद्धाञ्जलिसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘कांग्रेसलाई बलियो बनाएर अघि बढ्ने सोचाइमा सदैव चिन्तन राख्ने नेता खड्काको सपना पूरा गर्न हामी सबै सक्रिय भएर लाग्नुपर्छ।’ पार्टी र प्रजातन्त्रका लागि चिन्तित रहने खड्काको स्मरण गर्दै देउवाले त्यो बाटोमा कांग्रेसलाई एक ढिक्का बनाउँदै अघि बढ्नुपर्ने बताए। ‘उहाँ (खड्का) ले जहिल्यै पनि प्रजातन्त्र र पार्टीको हितका निम्ति चिन्ता गरिरहनुभयो,’ सभापति देउवाले भने, ‘पार्टी र प्रजातन्त्रको मजबुत पार्न हामी सबै कांग्रेसीहरु एक भएर अघि बढ्नुपर्छ।’ सभापति देउवाले स्थानीय तहका कार्यकर्तादेखि उच्च तहका नेताहरुलाई समेत गुटगत स्वभाव नराख्न आग्रह गरे।

महामन्त्री डा. शशांक कोइरालाले खुमबहादुर खड्काकै परिकल्पनाअनुसार कांग्रेस पहिलो पार्टी बन्नुपर्ने बताए। उनले यसका लागि आन्तरिक मत विभाजनको अन्त्य हुन जरुरी रहेको भनाइ महामन्त्री कोइरालाको थियो। ‘कांग्रेस नम्बर वान पार्टी बन्नुपर्छ ? खड्काज्यूले चाहेको कांग्रेस निर्माणमा हामी सबै लागौं,’ कोइरालाले भने, ‘यसका लागि गुटउपगुटभन्दा सबै कांग्रेसी हौं भन्ने भावना विकास गरौं।’ महामन्त्री कोइरालाले नेता खड्काले भनेजस्तै हिन्दु राष्ट्रको अजेन्डालाई जनमत संग्रहमा लैजानुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी संगठनलाई बलियो बनाउने दायित्व सबै कांग्रेसीहरुको रहेको बताए। उनले आआफ्नो क्षेत्र र ठाउँबाट कांग्रेसलाई सिंगो र एक ढिक्का बनाउन सबैसँग आग्रह गरे। उनले भने, ‘तपाईंहरुले आफ्नो क्षेत्र र स्थानबाट पहल थाल्नुस्। तपार्इंहरुलाई पर्ने समस्याको समाधानका लागि म अगाडि आउनेछु।’  उनले वर्तमान सरकार एकलौटी ढंगले अगाडि बढिरहेको भन्दै सरकारको आलोचना गरे। ‘वर्तमान सरकारका गतिविधिहरु हेर्ने हो भने उसले एकलौटी शासन लाद्ने बाटोमा लागेको देखिन्छ,’ उनले भने, ‘सरकारको यो रबैयाविरुद्ध हाबी सबै कांग्रेसीहरु एक भएर उभिनु जरुरी छ।’

अर्का केन्द्रीय सदस्य प्रकाशशरण महतले पनि गुटविहीन कांग्रेस निर्माण गरेर जनताको मनोभाव बुझ्न सक्नुपर्ने बताए। उनले खड्कालाई भ्रष्टाचार अभियोगमा नियोजित रुपमा फसाइएको बताउँदै यो जान्दाजान्दै पनि कांग्रेसले उनका पक्षका केही गर्न नसकेको स्वीकारे। ‘खड्कालाई नियतवस फसाइएको हो, तर पनि कांग्रेसले केही गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘कानुनी प्रावधानलाई नाघेर उहाँको पक्षमा बोल्न सक्ने अवस्थामा हामी रहेनाैं।’

केन्द्रीय सदस्यहरु दीपक गिरी, पार्वती डिसी चौधरीलगायतका नेताहरुले भने खड्काले कांग्रेस र विकास निर्माणमा खेलेको भूमिकाको चर्चा गर्दै आमकांग्रेसीमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको बताएका थिए।

खड्का पुत्र अनुराग सक्रिय राजनीतिमा
खड्का पुत्र अनुराग खड्काले पनि बुवाको निधनपछि अब आफू सकृय राजनीतिमा आउने उद्घोष गरेका छन्। बाबु खुमबहादुरको स्मृतिमा आयोजित श्रद्धाञ्जलि सभामा बोल्दै उनले भने, ‘बुबाले कांग्रेस र मुलुकका लागि गरेको योगदान र उहाँको अपुरो सोच पूरा गर्नका लागि म अब सक्रिय राजनीतिमा आउनेछु।’ उनले आफ्नो राजनीतिक यात्रालाई सहयोग गरिदिन पनि अनुरोध गरेका थिए।

प्रकाशित: २९ चैत्र २०७४ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App