coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सगरमाथा आरोहीबाट ५९ करोड रुपैयाँँ राजस्व संकलन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीद्वारा राष्ट्रिय झन्डासहित छोकी र शर्मिलालाई बिदाइ गर्दै । तस्बिर / नागरिक

काठमाडौं –वसन्त ऋतुमा सगरमाथा आरोहण लागि अनुमतिपत्र लिएकाबाट ५९ करोड ७३ लाख २५ हजार रुपैयाँँ राजस्व संकलन भएको छ।

यस सिजनमा सगरमाथा आरोहणका लागि पाँच सय ५८ आरोहीले अनुमति लिएका छन् । यसमध्ये पाँच सय ४२ जना विदेशी आरोही रहेको नेपाल पर्यटन विभागले जनाएको छ।

सगरमाथा आरोहणका लागि विदेशी आरोहीले अनुमतिका लागि ११ हजार युएस डलर (करिब ११ लाख रुपैयाँँ) राजस्व बुझाउनु पर्छ । उनीहरुबाट यस सिजनमा ५९ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै १५ नेपाली आरोहीबाट ११ लाख २५ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ।  

पछिल्लो समय विभिन्न उद्देश्य र नारासहित एक सदस्य तथा समूहमा सगरमाथा आरोहणका लागि जाने गरेका छन् । धेरैजसो विदेशी पर्यटक सगरमाथा आरोहण गर्ने उद्देश्यका लागि नेपाल आउने गरेका छन् । नेपाली पर्वतारोहीले भने विभिन्न नारा र उद्देश्यसहित सगरमाथा आरोहण गर्न जाने गरेका छन्।

कोरियामा चार वर्ष रोजगारी गरेर फर्किएकी छोकी शेर्पा ‘बुद्ध वाज बर्न इन नेपाल’ नारासहित सगरमाथा आरोहणका लागि लुक्ला पुगिसकेकी छिन् । उनीसँगै काभ्रेकी शर्मिला तामाङ पनि सगरमाथा आरोहण गर्दैछिन् । लुम्बिनीमा एक कार्यक्रम आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालको झन्डा र बुद्धको झन्डासहित बिदाइ गरेका थिए।  

त्यस्तै, सगरमाथामा पहिलोपटक ‘वुमन स्माइल’ नामक फोटो प्रदर्शनी गर्न लागेका छन् । नेपाली आरोहीहरु विभिन्न नारा र उद्देश्यसहित यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणमा जुटेका छन्।नेपाली आरोहीमा डिल्लाराम पराजुली एक सदस्य रहेका छन् । लाक्पा याङजी शेर्पाको नेतृत्वमा तीनजना आरोही रहेका छन् । त्यस्तै, प्रकाशराज पाण्डेको समूहमा ११ जना आरोही रहेको विभागका निर्देशक रामप्रसाद सापकोटाले जानकारी दिए।

आरोहणका लागि जापान, युएसए, नर्वे, ब्राजिल, रसिया तथा पोल्यान्डलगायत देशबाट आएका पर्यटकले हिमाल आरोहणका लागि अनुमति लिएका छन्।त्यस्तै, यो सिजनमा मनास्लु, आमा दब्लम, नोप्से, मकालु, थोमसपिक, सारेबुङ लगायत हिमाल आरोहणका लागि आएको विभागले जनाएको छ।
सगरमाथा क्षेत्रमा ४५ सम्पर्क अधिकृत
सरकारले सगरमाथा क्षेत्रमा अहिलेसम्म ४५ जना सम्पर्क अधिकृत खटाइसकेको छ । आरोहणका क्रममा हुने विवाद र विभिन्न भवितव्य घटना घट्न सक्ने भएकाले सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । ६ हजार पाँच सय मिटरभन्दा बढी उचाइका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ।   

पर्वतारोहण क्षेत्रमा बिरामीहरुका लागि एचआरएबाट केही स्वयंसेवक चिकित्सकको व्यवस्था पनि गरेको हुन्छ । साथै तत्काल रेस्क्यु गरी सम्बन्धित ठाउँमा उपचारका लागि पठाउने गरेको विभागले जनाएको छ । त्यस्तै हिमाल आरोहणका क्रममा दुर्घटनामा परे सम्बन्धित बिमा कम्पनीले सम्पूर्ण खर्च बेहोर्ने गरिएको छ।  
विभागमा अटोमेसिन सफ्टवेयर टेस्टिङ असफल
विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकको तथ्यांक राख्न सुरु गरिएको अटोमेसिन जडान भएपनि काम गर्न सकेको छैन । अटोमेसिन सफ्टवेयर टेस्टिङको रिर्पोटिङमा केही समस्या भएको निर्देशक सापकोटाको भनाइ छ।

सफ्टवेयर प्रणाली व्यवस्थित हुन नसक्दा विभागमा आउने पर्यटकको कति कहाँबाट आए भनेर कुनै तथ्यांक छैन । आइएफसीले बनाउने उक्त सफ्टवेयरको कन्ट्र्याक्ट भने सकिसकेको छ । सफ्टवेयरले काम नगर्दा पर्यटक महिला र पुरुष कति संख्यामा आएको तथ्यांक छुट्याउन सकिएको छैन ।

 

प्रकाशित: २९ चैत्र २०७४ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App