८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

औषधि बोकेर गाउँ पुग्यो मेडिकल ड्रोन

सदरमुकाम बेनीबाट औषधि बोकेर गाउँ पुगेको मेडिकल ड्रोन। तस्बिर सौजन्य : कमल पुन

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–८, राम्चेका थासबहादुर गर्बुजाले केहीवर्षअगाडिसम्म स्वास्थ्य चौकीमा पुग्दा सिटामोलसमेत मुस्किलले पाउँथे ।निःशुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा रित्तो हात घर फर्कनुपरेको गर्बुजा अझै सम्झन्छन्। घरनजिकै रहेको स्वास्थ्यचौकीको सुविधा लिन पैदल र सवारीसाधन प्रयोग गरी सदरमुकाम बेनी पुग्नुपर्ने बाध्यता थियो। स्वास्थ्यचौकीका कर्मचारीले सेवा दिन खोजे पनि औषधि आपूर्ति समयमै नहुदाँ राम्चे, नागी र कापलडाँडालगायत साबिकको राम्चे गाविसका बासिन्दा निराश हुने गरेका थिए। अँध्यारो मुखले स्वास्थ्य चौकीबाट घर फर्किने गरेका स्थानीयको अनुहार अहिले चम्किलो देखिन्छ। गत आइतबार नागीस्थित हिमाञ्चल माध्यमिक विद्यालयबाट करिब एक केजी औषधि लिएर आकाशमा उडेर गाउँमा पुगेपछि राम्चेवासी फुरूंग भएका थिए।

जमिनबाट समेत समयमै गाउँमा औषधि नआउँदा भोग्नुपरेका समस्या सम्झँदै राम्चेवासीले औषधि बोकेर गाउँमा आएको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ लाई उत्साहित हुँदै स्वागत गरेका थिए। ‘यस्तो दिन पनि देख्न पाइने रहेछ,गाउँमा उडेर औषधि आउँदा हरेक घरधुरीले स्वागत गरेका थिए,’राम्चे टोल विकास समितिका अध्यक्ष समेत गर्बुजाले भने। उनले १५ सय मिटर उचाइबाट करिब डेढ किलोमिटरको दूरीमा रहेको नागीबाट उडेर गाउँमा पुगेको ड्रोन औषधि छाडेर फर्किएको बताए। गाउँमा आवश्यक औषधि ढुवानीका लागि देखिएको समस्या समाधान हुने भएपछि स्थानीय उत्साहित भएका छन्। सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहिलो उपहारस्वरूप  मेडिकल ड्रोनको अघिल्लो साता शनिबारसमेत परीक्षण गरिएको थियो। अघिल्लो दिनको परीक्षण सफल भएपछि दोस्रो दिन औषधि लिएर मेडिकल ड्रोन नागी पुगेको स्थानीयको भनाइ छ। औषधि अभावमा स्थानीयले भोग्दै आएका समस्याबाट दुःखी रहेका स्वास्थ्यचौकी प्रमुख चाँदनी घले र अनमी बनिता गर्बुजाको अनुहारमा औषधि आपूर्ति गर्ने यो काइदाका कारण छुट्टै चमक थियो।

नेपालका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी र महामारी फैलिएका क्षेत्रबाट दिसापिसाबको नमुना प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा भएको जहाजजस्तै उडान गर्ने दुई प्रकारका ‘मेडिकल ड्रोन’ ले औषधि ढुवानी गरेको छ।

नेपालका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी र महामारी फैलिएका क्षेत्रबाट दिसापिसाबको नमुना प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा भएको जहाजजस्तै उडान गर्ने दुई प्रकारका ‘मेडिकल ड्रोन’ ले औषधि ढुवानी गरेको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए। ‘परीक्षणकारूपमा औषधि ढुवानी गरिएको छ, केही सुधारको आवश्यकतासमेत देखियो,’ पुनले भने। अतिदुर्गम क्षेत्रका स्वास्थ्यचौकीमा नियमित औषधि ढुवानी,विभिन्न रोगको प्रकोप फैलिएमा तत्काल ड्रोनको प्रयोग गरी आवश्यक उपकरणसहितका मेडिकल साम्रगी पु-याउन सहज हुनेगरी बनाइएको पुनको भनाइ छ। औषधि ओसारपसार गर्न पहिलोपटक प्रयोग गर्न लागिएको ड्रोनले अन्तर्राष्ट्रियस्तरका आविष्कार केन्द्रको ध्यान समेत तानेको छ।

पुनले आफू जन्मिएको र पहिलोपटक अमेरिकाबाट फर्किएपछि बेतारे इन्टरनेटसहित आफ्नो भिजनलाई प्रयोग गरेको जन्मगाउँबाटै ड्रोन परीक्षण गरेका थिए। परीक्षणमा प्रयोग गरिएको अप्टोकप्टरले ड्रोन उच्च हिमाली क्षेत्रमा करिब १५ सय मिटर दूरीमा सफल उडान भरेको केन्द्रका इन्जिनियरहरूले बताएका छन्। ‘नेपालको प्रविधि विकासमा यो कोसेढुंगा साबित भएको छ। व्यवसायिक उत्पादनका लागि सहज भएको छ,’ प्राविधिक टोलीका एक सदस्यले भने। जहाजको मोडेलमा तयार पारिएको ड्रोनबाट धेरै औषधि ढुवानी गर्न सकिने केन्द्रले जनाएको छ। २ देखि ५.५ किलोमिटरको दूरीमा सजिलै औषधि पु-याउन सकिन्छ। ड्रोन लिएर गाउँमा पुगेका पुनसहितको टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए।

दुर्गम क्षेत्रमा ड्रोन सबैभन्दा दु्रत र उपयोगी हुने विश्वास गरिएको छ। सडक सञ्जालले नजोडिएका म्याग्दीका अति विकट बस्तीमा समेत यसलाई प्रयोग गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रोशन न्यौपानेले बताए। ‘नेपालको मेडिकल क्षेत्रमा नयाँ अभ्यास हो,’ अकालमा ज्यान गुमाउने बिरामीलाई यो बरदान साबित हुन्छ,’ उनले भने।

केन्द्रमा निर्मित नमुना ड्रोनले अन्नपूर्ण गाउँपालिका ७ र ८ मा पर्ने हिस्तान र राम्चेका स्वास्थ्य चौकी, स्वास्थ्य एकाइ तथा ग्रामीण स्वास्थ्य सेवा गरी ८ वटा र टेलिमेडिसिन सेवाका लागि आवश्यक पर्ने औषधि ढुवानीमा प्रयोग गरिनेछ। केन्द्रले भविष्यमा करिब २० किलोमिटरसम्म उडान भर्न सक्ने ड्रोन बनाउने सोच बनाएको छ।  ड्रोन बनाउन केन्द्रमा ३० जनाको हाराहारीमा इन्जिनियर खटिएका छन्। नयाँ सिर्जनशील काम गर्ने नेपाली युवालाई काम गर्ने वातावरण बनाउन केन्द्र सफल भएको छ। देशको कुल ग्रार्हस्थ उत्पादनको शून्य दशमलव ५ प्रतिशत बजेट विज्ञान तथा प्रविधि मन्त्रालयलाई छुट्याएर त्यसबाट देशमा अनुसन्धान र विकास गर्ने पुनको  प्रस्तावलाई सरकारले स्वीकार नगरेपछि उनले केन्द्र स्थापनाको घोषणा गरेका थिए। पुनले नेपाल तथा विदेशबाट केन्द्रलाई महादान अभियानबाट आर्थिक सहयोग जुटाइरहेका छन्। केन्द्रले  विद्युत् उत्पादनका लागि ५० करोड रुपैयाँ संकलन गरी बाँकी बैंकबाट ऋण लिएर काम गर्ने बताएपनि सहयोग जुट्न समय लाग्ने भएपछि ड्रोनसहितका उपकरण बनाउने कार्य सुरु गरेको थियो। केन्द्रको दिगो विकासका लागि ३ वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् बिक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आएका छन्। जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नागीमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटरमार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटनलगायत क्षेत्रमा सक्रिय थिए। सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कारबाट सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्षअगाडि खरिद गरेको २८ रोपनी जग्गासमेत केन्द्रलाई दान गरेका छन्।

प्रकाशित: २९ चैत्र २०७४ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App