काठमाडौं – स्वास्थ्य क्षेत्रमा भइरहेका अनुसन्धानबारे बृहत् बहस गर्न स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको चौथो शिखर सम्मेलन बुधबारदेखि राजधानीमा सुरु भएको छ।
‘नेपालको बदलिँदो स्वास्थ्य प्रणालीको लागि उच्चस्तरीय अनुसन्धान’ नाराका साथ सुरु भएको सम्मेलनको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले उद्घाटन गरेकी हुन्। हजारभन्दा बढी वैज्ञानिक अनुसन्धानकर्ता सहभागी सम्मेलनलाई सम्बोधन गर्दै संघीय संरचनाअनुसार अनुसन्धानको दायरलाई फराकिलो बनाउनु आजको आवश्यकता रहेको मन्त्री अर्यालले बताइन्।
सम्मेलनका आयोजक संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. अन्जनीकुमार झाले नेपालका वैज्ञानिकहरुले गरेका अनुसन्धान स्वास्थ्यका हरेक नीति बनाउँदा उपयोगी भएको बताउँदै आगामी दिनमा मुलुकले अपनाएको संरचनाअनुसारको स्वास्थ्य प्रणालीका लागि अनुसन्धान केन्द्रीत गरिने बताए।
परिषद्ले आफ्नो स्थापनाको २७ औं वर्ष पूरा गरी २८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा अनुसन्धानकर्ताका खोज तथा अनुसन्धानसम्बन्धी ६५ वटा प्रस्तुती हुनेछ । अनुसन्धानका विधि, तरिका अनुसन्धानमा देखिएका नयाँ प्रवृत्तिलगायका विषयमा केन्द्रीत सम्मेलन बिहीबारसम्म चल्नेछ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा. झाले ८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा संघीयतामा स्वास्थ्य अनुसन्धानसम्बन्धी प्रस्तुति गरिने बताए। ‘नेपालमा नसर्ने रोग, मातृ तथा बाल स्वास्थ्य, गरिबी र स्वास्थ्य लगाएका विषयमा सम्मेलन केन्द्रीत भएर छलफल गर्नेछ,’ उनले भने।
प्रकाशित: २९ चैत्र २०७४ ०१:१७ बिहीबार