७ वैशाख २०८१ शुक्रबार
राजनीति

सर्वेन्द्रले गरे आइजिपी, एआइजी र डिआइजीको विदाई (फोटो फिचर)

काठमाडौं– तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाई गरिएको छ। उनीहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फूलमाला लगाई विदाई गरे।

बिदाई समारोहलाई सम्बोधन गर्दै आइजिपी अर्यालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाई कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालप्रति हार्दिक आभार प्रकट गरे।

नेपाल प्रहरीको उच्चपद सम्मको अबिराम यात्राका विभिन्न व्यावसायिक मोडहरूमा मार्गनिर्देश गर्ने समस्त सम्झन योग्य प्रहरी जनहरूप्रति आभार व्यक्त गर्दैै उनले आफूले गरेका सबै सत्कर्महरूमा उनीहरूको योगदान तथा सत्प्रयासहरूको स्मरण गरे। 

विभिन्न कालखण्डमा देश र जनताको सेवामा आफ्नो जीवन न्यौछावर गर्ने सम्पूर्ण कर्मशील अमर तथा वीर प्रहरीहरूको शहादतको उच्च प्रशंसा गर्दै उनले सतहमा देखिने प्रहरी संगठनको आधारहरू निर्माणमा उनीहरूको रगत र पसिनाको सिञ्चनको विशिष्ट महत्व रहेको स्मरण गरे। 

संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठनिक क्रियाकलापहरु स्थापित प्रणाली बमोजिम संचालन गर्ने, सामुहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतीको विकास गर्ने तथा कर्मचारीको बृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरुमा संगठनप्रति अपनत्व र एक आपसमा भाइचाराको भावना बढाउने कुरामा प्राथमिकतामा राखेर आफूले काम गरेको उनको दाबी छ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइजिपी अर्याल लगायत सेवा निवृत्त हुन लागेका अन्य वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पु-याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको सिङ्गो परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।

उनले अर्यालसंगै सेवा प्रवेश गरी आफ्नो सम्पूर्ण ऊर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाई हुने अग्रज प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताए। अर्यालले दिएका निर्देशनले आगामी दिनमा संगठन सृदृढीकरणको लागि थप हौसला प्रदान गरेको बताउँदै खनालले नेपाल सरकार तथा समस्त नागरिकहरुले अपेक्षा राखेको प्रहरी सेवालाई थप सुधार उन्मुख बनाउदै प्राप्त स्रोत साधनको अधिकतम प्रयोग गरेर नेपाल प्रहरीको छवि उच्च बनाउँदै लैजानेमा आफू विश्वस्त रहेको उल्लेख गरे।

सेवानिवृत्त हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, बिजयकुमार भट्ट, हेमन्तबहादुर पाल, मधु पुडासैनी, माधव प्रसाद नेपाल, पंकज श्रेष्ठ तथा प्रहरी नायव महानिरीक्षकहरु गोविन्द प्रसाद निरौला, रोमेन्द्र सिंह देउजा, सुदिप आचार्य, गणेश के.सी., केदारमान सिंह भण्डारी, रमेश कुमार भट्टराई, भोगबहादुर थापा, पुस्कलराज रेग्मी र पुष्पचन्द्र रंजित रहेका छन्।

बिदाई समारोहमा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले उनीहरुलाई बिदाई गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App