७ वैशाख २०८१ शुक्रबार
समाज

सशस्त्र आइजिपी श्रेष्ठको विदाई

काठमाडौं– अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बुधबार आयोजित विशेष समारोहका बीच विदाई गरिएको छ। आइजिपी श्रेष्ठसँगै अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेम कुमार शाही र प्रकाश ओझालाई समेत विदाई गरियो। 

उक्त समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उनीहरुलाई फुलमाला र खादा लगाई बदाई गरे। खनालले उनीहरुलाई संगठनको तर्फबाट मायाको चिनो समेत प्रदान गरे।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी निवर्तमान अध्यक्ष श्रीमती सरिता श्रेष्ठ तथा निवर्तमान उपाध्यक्षद्वय आशा शाही र मुना ओझालाई संघकी नवनियुक्त अध्यक्ष श्रीमती सरिता खनालले फुलमाला तथा खादा ओढाई विदाई गर्नुका साथै मायाको चिनो प्रदान गरिन। 

स–सम्मान विदाई भएका अवकाश प्राप्त आइजिपी श्रेष्ठले उक्त विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रसेवाको ३० वर्षे अवधिमा संगठनको नेतृत्व तहसम्म आइपुग्दा आफुलाई दायित्व निर्वाहमा सहयोग पु¥याउने पूर्वज तथा वहालवाला सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुप्रति आभार प्रकट गरे। उनले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा संगठनले आगामी दिनमा थप गति र उचाई हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे। 

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको विकास र प्रगतिमा अग्रज नेतृत्व वर्गबाट भएको योगदानको प्रशंसा गर्दै पूर्वज नेतृत्व वर्गले गरेका उत्कृष्ट कार्यलाई आत्मसाथ गर्दै उनीहरुबाट प्राप्त सहयोग, सदभाव, मार्गदर्शन र प्रेरणाले आउँदा दिनमा संगठनले थप उपलब्धी हासिल गर्ने बताए। उनले सुरक्षा चुनौती र अवसरहरुलाई दृष्टिगत गर्दै अपेक्षाकृत कार्यसम्पादनमा योजनाबद्ध तरिकाले अझै प्रभावकारी ढंगले सक्रिय रहने चर्चा गर्दै उच्चस्तरीय व्यवस्थापकीय क्षमता र सुझबुझकासाथ व्यावसायिक कामकारवाहीमा अझै सशक्त तवरले कटिवद्ध रहने उल्लेख गरे। 

संगठनको लक्षित उद्देश्य र प्राप्त कार्यादेशलाई पुरागर्नेतर्फ दत्तचित्त भएर लागिरहने बताउँदै खनालले प्रतिकुलतालाई अनुकुलतामा बदल्दै नीतिगत एवं व्यवहारगत रुपमा आफ्ना क्रियाकलापहरुलाई परिमार्जित एवं परिस्कृत गर्दै अगाडि बढ्ने कुरा समेत उल्लेख गरे।

समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय सनत कुमार बस्नेत र दुर्जकुमार राई लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुको समेत उपस्थिति थियो।

प्रकाशित: २८ चैत्र २०७४ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App