७ वैशाख २०८१ शुक्रबार
समाज

नयाँ बर्षदेखि नगर बस सेवा

मकवानपुर– साना सवारी साधनको बढ्दो चाप र महङ्गो भाडा दरबाट दिक्क भएका नगरबासीलाई नयाँ बर्षको उपहार स्वरुप नगर बस सेवा सञ्चालन गरिने भएको छ। प्रदेश नम्बर ३ को राजधानी हेटौंडाबासीलाई नयाँ बर्षको बैशाखदेखि नगर बसबाट सेवा दिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए।

बुधबार आयोजित पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगर बस सेवा सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको बताए। 

नगरबासीलाई चाँडै सहज र सर्वसुलभ दरमा नगरबस सेवा दिन धमाधम काम अगाडी बढाईएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले बताए। ‘नगर क्षेत्रमा सानो सवारी साधनहरु मयुरी र अटो रिक्साबाट ट्राफिक जाम र भिडभाड भएको छ,’ उनले भने ‘त्यसको बिकल्प र प्रतिष्पर्धीको रुपमा नगरबसले नगरबासीले सहज यातायात सेवा दिन्छ।’

केही ब्यवसायी नगर बस सञ्चालनमा संलग्न हुन चाहेको भन्दै उनले तयार गरिसकेको कार्यविधि ड्राफ्टलाई नगरकार्यपालिकाले पास गरेपछि बस सञ्चालन गरिने बताए।

ठुलो बस सञ्चालन गर्दा सहजता नहुने भएकाले मिनीबस र माईक्रोबसलाई नगर बसको रुपमा सञ्चालन गर्ने तयारी भईरहेको उनको भनाई छ। बस सञ्चालन ब्यवसायीले सञ्चालन गर्ने बताउँदै उनले उपमहानगरपालिकाले भाडा तोक्ने र सहजिकरण मात्र गर्ने बताए।

हेटौंडाको मुख्य बजार क्षेत्रमा विद्युतीय रिक्सा मयुरी र अटो रिक्सा मात्र करिब १ हजार २ सय वटा सञ्चालनमा रहेको हेटौंडा उपमहानगरपालिकाको अनुमान छ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका सूचना अधिकारी डा. शंकरप्रसाद उपाध्यायले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। जसअनुसार ८२ करोड १३ लाख ९४ हजार अर्थात् बार्षिक अनुमानित आयको करिब ६३ प्रतिशत संकलन गर्न उपमहानगरपालिका सफल भएको छ। त्यस्तै ब्ययतर्फ भने बार्षिक अनुमानित खर्चको करिब ४१ प्रतिशत अर्थात् ५३ करोड ८५ लाख ८७ हजार रुपैंया मात्र गर्न सफल भएको छ। भौतिक पूर्वाधारतर्फ २५ लाख भन्दा ठुला १८ आयोजनाकै बजेट १० करोड ७३ लाख ३ हजार रहेको छ भने १९ वडा रहेको उपमहानगरपालिकामा कालोपत्रे सडक ८ वटा, सडक ढलान १ सय २९ वटा र कल्भर्ट ७ वटा निर्माण भएको सूचना अधिकारी उपाध्यायले बताए। 

आर्थिक ऐन, बजेट, नीति तथा कार्यक्रम २०७४, विनियोजन ऐन, शिक्षा ऐन, न्यायिक समिति कार्यविधि ऐन, कृषि ब्यवसाय प्रबद्र्धन ऐन, नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा ब्यवस्थित गर्न बनेको कानून र सहकारी ऐन गरि ८ वटा ऐन तथा ६ वटा कार्यविधि र नियमावली नगरसभाबाट स्वीकृत गरि लागू गरेको छ।

प्रकाशित: २८ चैत्र २०७४ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App