७ वैशाख २०८१ शुक्रबार
समाज

लुम्बिनीको सुरक्षामा गम्भीर लापरबाही

बुटवल– विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षाको जिम्मा लिएका सुरक्षाकर्मी र लुम्बिनी विकास कोषका कर्मचारीहरुले आर्थिक लेनदेनमा लुम्बिनीभित्र गैरकानूनी क्रियाकलापहरु गर्ने गरेको पाइएको छ। मायादेवी मन्दिर परिसरमै मानिसको कपालको चुल्ठो, दाँत, नङ्ग, हातको बाला, कपडामा पोका पारिएको अस्तु जमिन मुनी  गाडिएको अवस्थामा फेला परेपछि कर्मचारी र सुरक्षाकर्मीको गैरकानूनी क्रियाकलाप बाहिर आएको हो। 

गत चैत १२ गते ताइवानी पर्यटकले ल्याएको भनिएको मानव अस्तुकोषका कर्मचारी र सुरक्षाकर्मीको मिलेमतोमा मायादेवी मन्दिर परिसरमै गाडिएको हो। घटनामा कोषका बनस्पती अधिकृत सब्बिर अहमद खान, गार्ड कमाण्डर धन्नाराम श्रेष्ठ, सोयब मुसलमानसहित दङ्गा,  सशस्त्र, पर्यटन र ग्रुप फोरका सुरक्षाकर्मीसहित १८ जना संलग्नता रहेको कोषले जनाएको छ। 

यसले बुद्ध जन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न खडा भएको छ। यहाँ सशस्त्र, दङ्गा, ग्रुप फोर, पर्यटन प्रहरी र विकास कोषका सुरक्षा गार्ड २४ सै घण्टा सुरक्षामा खटिन्छन। 

मायादेवी मन्दिर प्रवेशका लागि आम सर्वसाधारणलाई झोला खानतलासी गरिन्छ। जुत्ता चप्पल निषेध छ। परिसरका बोटबिरुवा, फुल कुनैपनि चिज जथाभावी छुन, च्यात्न र भुइँ खन्न मनाही छ। महत्पूर्ण उत्खनन वा निर्माण गर्नपरे युनेस्को र लुम्बिनी विकास कोषको अनुमति अनिबार्य लिनुपर्छ। तर यी सबै कुरालाई लत्याउँदै कोषका कर्मचारी र सुरक्षाकर्मीहरुले ताइवानी पर्यटकको समूहलाई मायादेवी मन्दिर परिसरभित्रै सामान गाड्न अनुमति दिएका थिए। 
कोषका निमित्त सदस्य सचिव समेत रहेका योजना प्रमुख सरोज भट्टराइले डिउटीमा रहेकाले प्रतिव्यक्ति एक हजार दरले  रकम लिएर मायादेवी परिसरमै ती सामान गाड्न दिइएको छानबिन प्रतिवेदन आएको बताए। तर स्थानीयले भने कोषका अधिकारीहरुको मिलेमतो र ठूलै आर्थिक चलखेलमा लुम्बिनीभित्र यस्ता गैरकानूनी क्रियाकलाप हुने गरेको आरोप लगाएका छन।

चैत १२ गते ताइवानी पर्यटकको समूह साँझपख मायादेवी मन्दिर प्रवेश गरेको थियो। मन्दिरमा पूजापाठ पश्चात ती बस्तुहरु खाल्डो खनेर गाडेको स्थानीयले बताएका छन्। कोषका अधिकृत चुरामणी भट्टराईका अनुसार मनिसको कपालको चुल्ठोका १४ वटा मुठा, दाँत, नङ्ग, हातको बाला, ससाना कपडामा पोका पारिएको अस्तुजस्तो देखिने खरानी, चामल र मास राखिएका १३२ वटा पोका मायादेवी मन्दिरको पश्चिमतर्फ फुट ट्रयाकको छेउमै  गाडिएको हो। ती सामानको तौल करिब ६ किलो रहेको कोषले जनाएको छ।

कोषले यसबारेमा अर्को दिन नै थाहा पाएपनि ती सामान गाडिएको १० दिनपछि गत २२ गते स्थानीयको दबाबमा उत्खनन गरी छानबिन गरेको हो। 

कोषका प्रसाशकीय अधिकृत चुडामणी भट्टराई र पुरातत्व अधिकृत हिमाल उप्रेती रहेको दुई सदस्यीय छानविन समितिले घटनामा कोषका  कर्मचारीसहित १८ जनाको संलग्नता रहेको प्रतिवेदन  बुझाएको छ। विकास कोषको मंगलबार अबेर बसेको बैठकले सुरक्षा कर्मचारीलाई कारबाहीका लागि सिफारिस गर्ने र कोषका कर्मचारीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। तर ती सामान गाड्न अनुमति दिने कोषका अधिकृत सब्बिर अहमदलाई भने कोषले उन्मुक्ती दिने भएको छ। कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, भिक्षु मेहताले सुरक्षा गार्डले सब्बिरसंग फोनबाटै अनुमति लिएको र उनले मन्दिरको घेराभन्दा बाहिर भन्ने निर्देशन दिएकाले ठूलो गल्ती नदेखिएको बताए। 

प्रकाशित: २८ चैत्र २०७४ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App