coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
मुख्य समाचार

बहुदलपछि संखुवासभाले पाएन एउटै मन्त्री

भीम देवान

सङ्खुवासभा– प्राकृतिक तथा जैविक विविधताले सम्पन्न संखुवासभाको एउटै गुनासो छ, ‘केन्द्रमा राजनीतिक पहुँच भएन।’ हुन पनि देशमा बहुदलीय व्यवस्था लागू भएयता जिल्लाका कोही पनि मन्त्री हुन सकेका छैनन्।

नेपालको राजनीतिमा बढी चर्चा हुने बिषय भनेको अनावश्यक र अस्वभाविक सरकार परिवर्तन पनि हो। मन्त्रालय फुटाएरसमेत गठन हुने हरेक सरकारको łजम्बो’ मन्त्रीमण्डलमा पनि अहिलेसम्म यहाँका एक जना नपर्नुलाई केन्द्रको उपेक्षा नै मान्छन् जिल्लाबासी।

प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको मन्त्रीमण्डलमा समावेश भएका मादीमुलखर्क–५ का धर्मबहादुर गुरुङ जिल्लाका पछिल्लो मन्त्री हुन्। बेलायती सेनाबाट सेवानिवृत्त भएपछि राजनीतिमा लागेका गुरुङले २०४३ सालमा उद्योग सहायकमन्त्रीको जिम्मेवारी पाएका थिए।

त्यसअघि चैनपुरका शङ्करमानसिंह अधिकारी २०२८ सालमा राजा महेन्द्रद्वारा गठित मन्त्री परिषदमा उद्योग तथा वाणिज्य सहायकमन्त्री भएका थिए। त्यसपछि उनकै काँइला भाई गोविन्दमानसिं अधिकारी प्रधानमन्त्री सुर्यबहादुर थापाको मन्त्रीमण्डलमा २०३९ सालमा शिक्षा तथा संस्कृति सहायकमन्त्री बनाईएका थिए।

यसबाहेक जिल्लाको कोही पनि अहिलेसम्म मन्त्री हुन सकेका छैनन्। निजामती र सुरक्षा निकायमा उल्लेख्य उपस्थिती रहे पनि राज्य सञ्चालनको प्रमुख निकायमा भने जिल्लाबासीको उपस्थिती शून्य छ।

पछिल्लो पटक माओवादी केन्द्रसँग नेपाली काँग्रेसले सत्ता साझेदारी गर्ने भएपछि भने जिल्लाले मन्त्री पाउनेमा पुन एक पटक आशा जागेको छ। जिल्लाको दुवै निर्वाचन क्षेत्रबाट विजयी सांसद काँग्रेसकै भएकाले पनि यो पटक सम्भावना बढेको हो।

मन्त्री पाउनका लागि दुवै सांसदहरु तारामान गुरुङ र दिपक खड्काले दौडधुप गरिरहेको जिल्लाका काँगे्रस नेताहरुले बताएका छन् । सांसद गुरुङ पार्टीको जिल्ला सभापति भएर कामसमेत गरिसकेका हुन् । गुरुङ र खड्का दुवै आ–आफ्नो गुटमार्फत लबिङ मा रहेको एक काँग्रेस नेताले बताए । खड्कालाई काँग्रेस नेता रामचन्द्र पौडेल निकटका रुपमा चिनिन्छ । काँग्रेस नेताहरुका अनुसार, गुरुङ भने कृष्ण सिटौला समूहका हुन् ।

दुई सांसदमध्ये गुरुङको सम्भावना बढी रहेको जिल्लाका काँग्रेस नेताहरुको दाबी छ । प्रधानपञ्च हुँदै जिविस सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका गुरुङ चार पटक पार्टीको जिल्ला सभापति भईसकेका हुन् । सांसद गुरुङ हाल काँग्रेस संसदीय समितिमा सदस्यसमेत छन् ।
राजनीतिक हिसाबले गुरुङको तुलनामा कनिष्ठ मानिने खड्का पनि मन्त्री हुने सम्भावना उत्तिकै रहेको काँग्रेस श्रोत बताउँछ । पाँच दशकसम्म लगातार एमाले विजयी हुने क्षेत्र नं. २ बाट चुनाव जितेका खड्का यसअघि सुशील कोईराला र देउवाबिच समानान्तर सम्बन्ध बनाउने नेता हुन् ।

दुई सांसदबिचको हानथापले यो पटक पनि जिल्लाबाट कोही मन्त्री नहुने कतिपयको भनाई छ । दुवै सांसदको łभए आफु हुने, नभए रोक्ने’ नीतिका कारणले पनि मन्त्रीको सम्भावना न्युन रहेको एक पुराना काँग्रेस नेताले बताए । दुई साँसदबिच आपसी सम्बन्ध सुमधुर नभएको कार्यकताहरु बताउँछन् ।

जिल्लाले मन्त्री पाए केन्द्रसम्मै पहुँच पुग्ने उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष कृष्णभगत प्रधानको आशा छ । पर्याप्त सम्भावना भएर पनि केन्द्रस्तरमा पहुँच नभएरै जिल्ला पछाडि परेको उनको बुझाई छ ।

नेकपा माओवादी केन्द्रका नेता कृष्ण जिमीले पनि जिल्लाले मन्त्री पाउनु सबैका लागि गर्वको बिषय हुने बताए । दर्जनौं सरकार र सयौं मन्त्री फेरबदल भईरहँदा पनि संखुवासभाले मन्त्री नपाउनु दुखद भएको उनको भनाइ थियो ।

प्रकाशित: ९ भाद्र २०७३ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App