काठमाडौं – आयोजक रत्नराज्य लक्ष्मी क्याम्पसको दोस्रो टिम मंगलबार त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस राष्ट्रिय भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।
सुर्खेत शिक्षा क्याम्पससँग ३–२ को सेटमा पराजित हुँदै आरआर पत्रकारिता विभागको टोली प्रतियोगिताबाट बाहिरिएको हो । यस्तै, मंगलबार नै भएका अन्य खेलमा नेपाल कमर्स क्याम्पस मीनभवनले शंकरदेव क्याम्पस पुतलीसडकलाई ३–० को सेटमा पराजित गर्दा अर्को खेलमा अस्कल क्याम्पसले सरस्वती क्याम्पसलाई रोमाञ्चक ३–२ सेटमा हरायो।
यस्तै, पृथ्वीनारायण क्याम्पस पोखरा र बानेश्वर क्याम्पसबीचको खेलमा बानेश्वर क्याम्पस खेल्न नआएपछि स्वतः पृथ्वीनारायणलाई विजेता घोषणा गरियो । अर्को खेलमा कुलेश्वरको जनमैत्री क्याम्पसले पुलचोक इन्जिनियरिङ क्याम्पसलाई २५–१५, २५–१८ र २५–१८ को सोझो सेटमा हरायो । त्यस्तै सानोठिमी क्याम्पसले पाटन संयुक्त क्याम्पसलाई २५–१२, २५–१६ र २५–११ को सेटमा पराजित गर्यो।
शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा २२ क्याम्पसका टोलीले सहभागिता जनाएका छन्।
प्रकाशित: २८ चैत्र २०७४ ०५:५० बुधबार