७ वैशाख २०८१ शुक्रबार
समाज

एम्बुलेन्सको सट्टा हेलिकप्टरकाे प्रयाेग बढ्दाे

एयर डाइनेस्टीको ‘नाइन एन–एएलए’ हेलिकप्टर बिरामी लिनका लागि तानसेन टुँडिखेलमा अवतरण गरिँदै।

पाल्पा– बिहीबार तानसेनको आकाशमा अचानक हेलिकप्टरको आवाज आयो। मर्निङ्गवाक गर्नेदेखि चौरमा गफिनेसम्म सबैको ध्यान उतैतर्फ लाग्यो। नजिकै रहेका सेना प्रहरीसँग सबैले सोधे, किन आउँदैछ ? तर उनीहरु मध्ये कसैसँग जानकारी थिएन। सबै अकमकमा परे। केही भन्दै थिए कुनै समस्यामा आकस्मिक अवतरण गर्दै होला। एयर डाईनास्ट्रीको ‘नाइन एन–एएलए’ हेलिकप्टर टुँडिखेलको बीच भागमा ल्याण्ड हुनासाथ सबै उतैतर्फ लागे।

नेपाल प्रहरीसँगै सेना प्रहरीका अधिकारीहरु सोधपुछका लागि क्याप्टेनसामू पुगे। क्याप्टेनले बिरामी लिन आएको बताउँदै थिए। तर, उनलाई प्रतिप्रश्न हुँदै थियो, ‘किन सम्पर्क नगरी आएको ? हेलिप्याडमा नराखी बिचमा अवतरण किन गरेको ?’

हेलिकप्टरको प्रतिक्षामा रहेका बिरामीका आफन्तजनले सेनाप्रहरीलाई बताएपछि भीड केही शान्त भयो । खस्यौली गाविसका केशव ज्ञवालीलाई अचानक हर्ट एट्याक भएपछि उनलाई लिनका लागि तानसेनमा हेलिकप्टर अवतरण रहेको रहेछ। युनाईटेड मिशन अस्पताल पाल्पाले उपचार जिल्लामा सम्भव नरहेको बताएपछि आफूहरुले हेलिकप्टर चार्टर गरेको बिरामीका आफन्तले बताएका थिए।

तानसेनमा पछिल्लो समय यसरी हेलिकप्टर प्रयोग गर्नेहरुको संख्यामा वृद्धि भएको छ। हप्तामा प्रत्येक एक दिन जसो बिरामीका लागि हेलिकप्टर चार्टर हुने गर्दछ। जिल्लाका अधिकांशले पोखरामा सम्पर्क गरी चार्टर गर्ने गरेको पाल्पा टुर एण्ड ट्राभलका सञ्चालक सागर महर्जन बताउँछन्। उनी भन्छन्, आकस्मिक रुपमा काठमाण्डौं पु¥याउनु पर्ने बिरामीहरुलाई सडक यातायातको माध्यमबाट एम्बुलेन्समा काठमाण्डौं पु¥याउँदा बिरामीको मृत्यु हुन सक्ने सम्भावना भएकोले छिटो उपचारका लागि हेलिकप्टर  प्रयोग गर्न थालिएको हो। महर्जनले ५ देखि ७ घण्टा लगाएर काठमाण्डौं बिरामीलाई लैजानु जटिल बिरामीका लागि सम्भव नहुने बताए।

क्याप्टेन निरञ्जनकान्त सिल्वालले भने, आकस्मिक अवस्थामा सम्र्पक समन्वय गर्न लाग्दा प्रक्रियागत झण्झट हुने भएकोले सिधै अवतरण गरेको हुँ। बिरामीको अवस्था गम्भीर हुन सक्छ। क्याप्टेन सिल्वालले भने, ‘छिटो छरितो माध्यम हो। १८ मिनेटमै पोखरादेखि पाल्पाका लागि आइपुग्न सकिन्छ। पाल्पाबाट ४५ मिनेटमै काठमाण्डौं पुग्न सकिने भएकोले यसको प्रयोग बढ्दै गएको हो।’

जिल्लाबाट काठमाण्डौंसम्मको हेलिकप्टर चार्टरका लागि १ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्म शुल्क तिर्दै आएको यहाँका प्रयोगकर्ताहरुले बताएका छन्। तानसेन ४, सिल्खानटोलकी रामकुमारी कर्माचार्यलाई अचानक स्वास्थ्य समस्या हुँदा आफूहरुले ट्राभललाई २ लाख ७० हजार बुझाएर हेलिकप्टर चार्टर गरी काठमाण्डौं पु¥याई स्वास्थ्य उपचार गरेको कुशमान कर्माचार्यले बताए। उनी भन्छन्, बेलैमा स्वास्थ उपचार सम्भव भयो र ज्यान जोगियो।

हेलिकप्टर चार्टर गर्नेहरुको संख्यामा वृद्धि हुँदै जाँदा यसको शुल्क भने मध्यमवर्गका परिवारकालागि उपयुक्त हुने गरी अझै निर्धारण हुन नसकेको प्राध्यापक राजेश्वर उदय बताउँछन्। ‘इमरजेन्सी अवस्थामा धेरैले प्रयोग गर्न सक्ने गरी भाडादर निर्धारण भए अकालमा ज्यान गुमाउनु पर्ने थिएन।’
जिल्लामा ठूलो अस्पतालको रुपमा युनाइटेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजलगायतले सेवा

प्रदान गर्दै आएको भएता पनि आधुनिक उपकरण तथा विशेषज्ञ सेवाको कमी रहेका कारण महँगो हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ।

 

 

प्रकाशित: ९ भाद्र २०७३ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App