सोल– लामो मौनता चिर्दै उत्तर कोरियाली शासक किम जोङ–उनले पहिलो पटक अमेरिकासँग हुने भनिएको वार्ताबारे उल्लेख गरेका छन् ।राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार नेता किमले अमेरिकासँग हुने भनिएको वार्तालाई पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेका छन्।
अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर सम्मेलनबारे अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले गत महिना नै स्वीकारोक्ति सार्वजनिक गरिसकेका थिए भने प्योङयाङले भने हालसम्म मुख खोलेको थिएन ।
उत्तर कोरियाको सत्तारुढ दलको बैठकमा किमले उत्तर कोरिया र अमेरिकाबीचको वार्ताको सम्भावनाबारे आफ्नो धारणा राखेको राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच आउँदो मे महिनामा वार्ता हुने भनिए पनि उक्त प्रस्तावित वार्ताको मिति, समय र ठाउँ भने सार्वजनिक गरिएको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफूले उत्तर कोरियाली नेता किमसँग मे वा जुन महिनाको सुरुमा वार्ता गर्ने योजना बनाएको धारणा सार्वजनिक गरेका थिए । ट्रम्प र किमबीच हुने शिखर वार्ताको तयारीका लागि आफूहरु उत्तर कोरियाली पक्षसँग सम्पर्कमा रहेको भन्दै अमेरिकी प्रशासनले बताएपछि ट्रम्पको यस्तो धारणा सार्वजनिक भएको थियो।अप्रत्याशित रूपमा मार्च महिनामा उत्तर कोरिया र अमेरिकाबीच वार्ता हुने विषय सार्वजनिक भएलगत्तै कतिपय पर्यवेक्षकहरु अचम्ममा परेका थिए ।
उनीहरुले दुई परम्परागत शत्रु राष्ट्रबीचको यस्तो खालको वार्ताका लागि कैयौं महिनाको तयारी आवश्यक हुनेसमेत बताएका थिए । यदि सार्वजनिक योजनाबमोजिम नै वार्ता भयो भने बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच यो इतिहासकै पहिलो वार्ता हुने छ ।उत्तर कोरियाको सत्तारुढ वकर्स पार्टीको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग हुने भनिएको शिखर सम्मेलनबारे भने किमले स्पष्टसँग विषय नराखेको बताइएको छ।
‘वकर्स पार्टीको बैठकमा उत्तर कोरियाली नेताहरुले उत्तर र दक्षिण कोरियाबीचको वर्तमानको सम्बन्धमा भएको विकास र अमेरिका–उत्तर कोरियाबीचको वार्ताको सम्भावनाका बारेमा छलफल गरेको उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
कमै मात्रमा हुने अन्तर कोरियाली शिखर सम्मेलनका क्रममा उत्तर कोरियाली शासक किम जोङ–उनले आउँदो अप्रिल २७ का दिन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग भेटवार्ता गर्दै छन् । दुई देशबीच पछिल्ला केही महिनादेखि सुधारिएको सम्बन्धको जगमा टेकेर दुई नेताबीच भेटवार्ता हुन लागेको हो।
दक्षिण कोरिया र अमेरिकासँग हुने योजनाबद्ध शिखर सम्मेलनमा उत्तर कोरियाले आणविक हतियार कार्यक्रम छोड्नेबारे छलफल हुने उद्देश्य राखिए पनि कतिपय आलोचकहरुले भने घातक आर्थिक प्रतिबन्धलाई सहज बनाउन प्योङयाङले चाहना व्यक्त गरिरहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसै वर्षको मार्च महिनामा अमेरिकालगायतका राष्ट्रको कडा प्रतिबन्धका कारण उत्तर कोरिया वार्तामा आउन लागेको धारणा सार्वजनिक गरे पनि उत्तर कोरियाली सञ्चारमाध्यमले भने आत्मविश्वासका कारण दुई देशलाई वार्ताको टेबलमा ल्याएको उल्लेख गरेको छ ।
वार्ताको टेबलमा निःशस्त्रीकरणबारे छलफल गर्न उत्तर कोरिया तयार रहेको भन्ने अमेरिकी धारणा आएको भए पनि उत्तर कोरियाले भने यस विषयमा हालसम्म केही धारणा सार्वजनिक गरेको छैन।अमेरिका प्योङयाङले आणविक हतियार विकास कार्यक्रम त्याग गरोस् भन्ने चाहन्छ भने उत्तर कोरिया भने दक्षिण कोरियामा रहेको अमेरिकी सेना फिर्ता होस् भन्ने चाहन्छ ।
प्रकाशित: २८ चैत्र २०७४ ०२:४७ बुधबार