मुम्बई– आलिया भट्ट अभिनित फिल्म ‘राजी’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ र सार्वजनिक भएसँगै यसले राम्रो तारिफ पाएको छ । तर आलियाले यो फिल्म गर्ने मनस्थिति बनाउँदा उनले स्क्रिप्ट हैन जम्मा एक लाइनको कथा सुनेर फिल्म गर्न राजी भएकी थिइन्।
उनले मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा नवभारत टाइम्सलाई दिएको अन्तर्वार्तामा पहिलो लाइन सुन्दा नै यो गजबको फिल्म बन्न सक्ने ठानेर फिल्म गर्न सहमति दिएको बताइन्।‘मैले कहिलै पनि स्क्रिप्ट नसुनी फिल्म साइन गर्ने गरेको छैन । जब मैले पहिलो पल्ट निर्देशक मेघना गुलजारलाई भेटे उहाँसँग जम्मा एक लाइनको कथा थियो।
सहमत नामकी एक केटी छ जसको पाकिस्तानमा विवाह हुन्छ र उसले पछि देशका लागि जासुसी गर्नुपर्ने हुन्छ । यत्ति सुन्ने बित्तिकै मैले मेघनालाई तपाईंलाई कहिले फिल्म बनाउन मन लाग्छ भन्नुहोला म गर्न तयार छु भनें,’ आलियाले बताएकी छिन्, ‘त्यसको डेढ वर्षपछि बल्ल मैले स्क्रिप्ट पाएँ र त्यो कल्पना गरेभन्दा कम थिएन।’
आलियाले यो फिल्ममा आमा सोनिया राजदानसँग स्क्रिन सेयर गरेकी छिन् । उनले आमासँग काम गर्दा घरमै भए जस्तो अनुभव गर्ने गरेको बताइन् । आलियाले एकातिर ‘बद्रिनाथकी दुल्हनियाँ’ जस्ता चल्तिको फिल्ममा पनि अभिनय गरेकी छिन् भने ‘हाइवे’ जस्तो फरक फिल्म पनि । उनले अभिनयका हिसाबले आफू कलाकारको यात्रा बहुआयामिक हुनुपर्ने उनको मान्यता छ।
‘मलाई डान्स पनि गर्नुछ र जासुस पनि बन्नु छ । तर मलाई दुवै खाले फिल्ममा काम गर्न मन पर्छ । म सेफ हुँ भने सधैं स्यान्डविच मात्र बनाएर बस्दिनँ । अरु धेरै परिकार पनि बनाउँछु,’ उनले भनेकी छिन् ।फिल्म आइपिएल चलिरहेको समयमा रिलिज हुँदैछ।
आलियाले फिल्म कहिले रिलिज गर्ने भन्ने विषय निर्माताको तजबिजमा रहने भए पनि फिल्म राम्रो भए दर्शकले फिल्म हेर्ने बताइन् ।‘फिल्म राम्रो छैन भने तपाईंले इद होस् वा दिवाली कुनै मितिमा रिलिज गरे पनि दर्शक हेर्न जाँदैनन् । राम्रो छ भने फिल्मले जुनसुकै समयमा पनि दर्शक खोज्छ,’ उनले भनिन्।
प्रकाशित: २८ चैत्र २०७४ ०२:३४ बुधबार