coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

भरतपुरका ७० जनालाई चीनमा छात्रवृत्ति

शैक्षिक सहकार्य सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मेयर रेणु दाहाल र चिनियाँ प्राध्यापक थाङ सियुआनलगायत । तस्बिरः सविता श्रेष्ठ/नागरिक

चितवन - हरेक वर्ष चीनले भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जना विद्यार्थीलाई अध्ययन छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चीनको सेन्ट्रल साउथ विश्वविद्यालयले हरेक वर्ष २० जनालाई पूर्ण र ५० जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराउने सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

 सम्झौतापत्रमा महानगरपालिकाकी मेयर रेणु दाहाल र सो विश्वविद्यालयका तर्फबाट सियाङया नर्सिङ स्कुलका डिन प्राध्यापक थाङ सियुआनले हस्ताक्षर गरेका छन् । यो सम्झौताको अवधि पाँच वर्षको छ।

चीनको सो विश्वविद्यालयमा एक सयभन्दा बढी देशका विद्यार्थी अध्ययनरत रहेको जानकारी थाङले दिए । सो विश्वविद्यालयले शैक्षिक सहकार्यस्वरुप नेपालमा पहिलोपटक भरतपुर महानगरपालिकासँग सम्झौता गरेको हो । छात्रवृत्तिअन्तर्गत असल र जेहेन्दार विद्यार्थीलाई पढ्न पठाउन डिन थाङले महानगरपालिकालाई अनुरोध गरेका छन्।

चीनको पहिलो नर्सिङ स्कुलका रुपमा १ सय ७ वर्षअघि सियाङया नर्सिङ स्कुल स्थापना गरिएको जानकारी दिँदै थाङले भने, ‘नर्सिङसँगै मेडिकल र अन्य शैक्षिक कार्यक्रममा पनि भरतपुरका विद्यार्थी पढ्न आउन सक्छन् ।’ सेन्ट्रल साउथ विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा २ सय १७ तथा स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

सोही शैक्षिक कार्यक्रमभित्रका स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा भरतपुरका विद्यार्थीले विश्वविद्यालयमा छात्रवृत्तिमा पढ्न पाउने छन् । चीनसँग भरतपुरलाई जोड्ने एक माध्यमको रुपमा शैक्षिक सहकार्य सम्झौता गरिएको मेयर रेणु दाहालले बताइन्।

छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्नेसँगै भरतपुरका विद्यार्थीलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढ्ने अवसर यो सम्झौताले जुटाइदिएको उनले बताइन् । ‘यो सम्झौताले उच्च शिक्षाको महत्व बढाउनेछ’, उनले भनिन्, ‘दुई देशबीच सामाजिक, सांस्कृतिक ज्ञान आदानप्रदान हुनेछ ।’ भरतपुरका जेहेन्दार विद्यार्थीलाई प्राप्त यो विशेष अवसरबाट महानगरपाकिालाई पनि फाइदा हुने उनलको भनाइ छ । चीनमा पढेर आउने दक्ष जनशक्तिले महानगरको विकासमा टेवा पुग्ने उनको विश्वास छ।


 

प्रकाशित: २८ चैत्र २०७४ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App